काठमाडौं– नेपालमा व्यक्तिगत स्थायी लेखा नम्बर (पान) लिनेको संख्या ४५ लाख नाघेको छ । स्टार्टअप क्षेत्रको थप विकासका लागि महिलामैत्री कानून आवश्यक भएको सरोकारवालाले बताएका छन् ।
यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१९८२ को छ महिनाका अवधिमा २९ करोड एक लाखभन्दा बढी राजस्व संकलन गरेको छ । रसुवामा पर्यटक आवागमनमा कमी हुँदा व्यवसाय ठप्प हुन पुगेको छ ।
आजका आर्थिक समाचार
व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ४५ लाख नाघ्यो
नेपालमा व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ४५ लाख नाघेको छ । आन्तरिक राजस्व विभागको पछिल्लो तथ्यांकअनुसार नेपालमा व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ४५ लाख ४८ हजार ३२३ पुगेको हो ।
त्यस्तै, अन्य संस्थागत स्थायी लेखा दर्ता सङ्ख्या १९ लाख ९३ हजार ७२४ पुगेको छ । मूल्य अभिवृद्धि करमा दर्ता सङ्ख्या ३ लाख ३८ हजार ३१६ र अन्तःशुल्क इजाजत दर्ता सङ्ख्या १ लाख २१ हजार ६८२ पुगेको विभागले जनाएको छ ।
एउटा जिल्लामा एक वर्षमा छ करोडको अलैँची कारोबार
बागलुङमा अलैँची उत्पादन बढेको छ। क्षेत्र विस्तारका कारण गत वर्ष बागलुङका किसानले ४८ मेट्रिक टन अलैँची उत्पादन गर्न सफल भएका छन्।
कृषि ज्ञानकेन्द्रको तथ्याङ्कअनुसार यहाँ किसानले अलैँची बिक्रीबाट एक आर्थिक वर्षमा छ करोड भित्र्याउन सफल भएका छन्।
‘स्टार्टअपमा आकर्षण बढाउन महिलामैत्री कानुन आवश्यक’
नेपाली कांग्रेसको मुख्यालयमा आयोजित स्टार्टअप तथा एसएमई सम्मेलनमा बोल्ने वक्ताहरूले स्टार्टअपमा महिलाको उपस्थिति बढाउन महिलामैत्री कानुन आवश्यक भएको सुझाएका छन् ।
सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले आयोजना गरेका सम्मेलनको दोस्रो दिनको दोस्रो सत्रमा बोल्ने वक्ताहरूले राज्यको विभेदपूर्ण नीति परिवर्तन गर्नुपर्ने बताएका हुन् ।
उद्यमशीलता र जनशक्ति विकास : आईटी क्षेत्रको लागि तयारी
नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले आयोजना गरेको सम्मेलनमा वक्ताहरूले नेपालले आईटी जनशक्ति उत्पादन गर्ने हो भने वार्षिक १० खर्बभन्दा बढी आम्दानी गर्न सकिने बताएका छन् ।
कांग्रेसको पार्टी कार्यालय सानेपामा जारी नेपाल स्टार्टअप र एसएमई सम्मेलनको दोस्रो दिनको पहिलो सत्र ‘उद्यमशीलता र जनशक्ति विकास आईटी क्षेत्रको लागि तयारी’ शीर्षकमा भएको सामूहिक छलफलमा बोल्ने वक्ताहरूले आईटीमा थोरै लगानी गर्न सके राम्रो परिणाम हात पार्न सकिने बताएका हुन् ।
रसुवामा पर्यटक आवागमनमा कमी, व्यवसाय ठप्प
पछिल्ला दिनमा मौसममा देखिएको गडबडीका कारण हिमाली जिल्ला रसुवामा अत्यधिक चिसो बढेसँगै पर्यटक आवागमनमा उल्लेख्य कमी आएको छ ।
लाङटाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार साहका अनुसार जिल्लाको उच्च भागमा हिउँ परेको तथा प्राकृतिक रूपमा रहेका गहिरा खोँच, ताल, कुवासहित ओसिलो पदमार्गमा पानी जमी अस्वाभाविक रूपमा चिसो बढेपछि पर्यटक आउने क्रम कमी भएको हो ।
पोखरा–जामुने खण्डमा २८ किलोमिटर कालोपत्र
पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म २८.५२ किमी सडक कालोपत्र भएको छ । आयोजनाका इन्जिनियर सौजन्य नेपालका अनुसार उक्त खण्डमा अब १०.३६ किमी सडक कालोपत्र हुन बाँकी छ ।
‘तनहुँमा साढे दुई किमी कालोपत्र हुन बाँकी छ, कास्की खण्डमा पनि अहिले धमाधम कालोपत्र भइरहेको छ’, उनले भने, ‘आगामी वर्षभित्र काम सक्ने लक्ष्य लिइएको छ ।’
यातायात कार्यालयबाट २९ करोड बढी राजस्व संकलन
यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१-८२ को छ महिनाका अवधिमा २९ करोड एक लाखभन्दा बढी राजस्व संकलन गरेको छ ।
नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र बितरणलगायतबाट चालु आव २०८१-८२ को साउनदेखि पुस महिनासम्ममा सो कार्यालयले २९ करोड एक लाख ७५ हजार छ सय ५१ राजस्व संकलन भएको कार्यालय प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिए।
उत्पादनमा अनुदान पाउँदा दुग्ध किसान उत्साहित
दूधमा प्रतिलिटर पाँच रुपैयाँ अनुदान पाउन थालेपछि बागलुङका दुग्ध उत्पादनक किसान उत्साहित भएका छन् । गत वर्षसम्म प्रतिलिटर साढे दुई रुपैयाँ पाउँदै आएका किसानले चालु आर्थिक वर्षदेखि पाँच रुपैयाँ पाउन थालेका हुन् ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले किसानलाई उत्पादनका आधारमा दूधमा अनुदान दिन थालेको हो । किसानलाई प्रोत्साहन र जिल्लालाई दूधमा आत्मनिर्भर बनाउनका लागि अनुदान उपलब्ध गराएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र बागलुङका प्रमुख डाक्टर ऋषिराम सापकोटाले जानकारी दिए । केन्द्रले दुग्ध उत्पादन सहकारीमा आबद्ध भएका किसानलाई अनुदान दिने गरेको उनको भनाइ छ ।
फ्रान्ससम्म पुग्छ इलामको धूपी, पाती र मेन्थाको तेल
इलाममा उत्पादित जडीबुटीको तेल विदेश निर्यात हुने गरेको छ । माईजोगमाई गाउँपालिकास्थित नित्यराज दहालको उद्योगमा उत्पादित तेल विदेश निर्यात हुन थालेको हो ।
दहालले १३ वर्षअघि स्थापना गरेको यस उद्योगबाट गत वर्षदेखि तेललगायत स्थानीय जडीबुटी विदेश निर्यात हुन थालेको बताए । उनले विशेषगरी फ्रान्समा यहाँबाट उत्पादित वस्तु जाने गरेको जानकारी दिए ।
ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह
बङ्गलादेशको ढाकास्थित नेपाली राजदूतावासले ‘नेपाल र बङ्गलादेशबीचको व्यापार र लगानी सम्बन्ध’ विषयमा कार्यशाला आयोजना गरेको छ । साथै दूतावासले ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह पनि गरेको छ ।
बुधबार साँझ भएको कार्यक्रममा राजदूत घनश्याम भण्डारीले नेपाल र बङ्गलादेश बीचको बढ्दो आर्थिक संलग्नताबारे चर्चा गर्दै व्यापार, ‘कनेक्टिभिटी’, ऊर्जा र पर्यटनलगायत क्षेत्रमा हासिल भएको प्रगति, नेपालबाट पहिलोपटक ४० मेगावाट जलविद्युत् बङ्गलादेश आयात, ऊर्जा सहयोगले दुई देशलाई मात्र नभई सम्पूर्ण दक्षिण एसिया क्षेत्रलाई त्यसबाट लाभ हुने बताए ।
प्रतिक्रिया