सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध, सेवाग्राही मर्कामा « Khabarhub

सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध, सेवाग्राही मर्कामा


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सिमकोट– हुम्लाको मध्येभेगमा रहेको सर्केगाड गाउँपालिकामा लामो समयदेखि टेलिफोन सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् । सर्केगाड गाउँपालिका–५ स्थित कुति गाउँको भदालीमा रहेको टेलिफोन टावरमा खराबी आउँदा एक महिनादेखि सेवा अवरुद्ध भएको स्थानीय बताउँछन् । 

एक महिनादेखि टेलिफोनले काम नगर्दा सर्केगाड–५, ६ र ४ का सर्वसाधारण, स्वास्थ्यकर्मी, विभिन्न पेसा, व्यवसायमा संलग्नहरूलाई सञ्चरमा सास्ती भएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख किरण बुढाथोकीले बताए। मोबाइलमा नेटवर्क देखाएपनि फोन नलाग्ने, सन्देश (म्यासेज) नजानेलगायत समस्या देखिने गरेको उनको भनाइ छ ।

यतिबेला सर्केगाडमा रहेका प्रत्येक स्वास्थ्य संस्थामा खोपसहित अन्य स्वास्थ्यका गतिविधि बढिरहेका बेला टेलिफोनले काम नगर्दा स्वास्थ्यकर्मीसँग जानकारी लिन नसकिएको शाखा प्रमुख बुढाथोकीको गुनासो छ । टेलिफोन नहुँदा कतै जटिल प्रकृतिका बिरामी आएमा सम्पर्क गर्न गाह्रो भएको छ । 

इन्टरनेट सेवा सबै वडाका दुर्गम गाउँ तथा स्वास्थ्य संस्थामा जडान नभएकाले फोनबाट छिटो र छरितो जानकारी लिनुपर्नेमा समस्या बनाएको उनले बताए। टेलिफोन सेवा अवरुद्ध भएको विषयमा सबैलाई जानकारी गराउँदा कोही कसैले वास्ता नगरेको बुढाथोकीले गुनासो गरे । 

पालिकाको केन्द्र सर्केगाडसहित आसपासका क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध हुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको गेटबहादुर थापाले बताए। महिना दिनदेखि टेलिफोन सेवाले काम नगरेपछि जिल्लाभित्र र बाहिर रहेका आफन्तसँग सम्पर्कविच्छेद हुनुका साथै सरकारी काम पनि प्रभावित बनेको उनको भनाइ छ ।
 
टेलिफोन टावर मर्मत गरी सञ्चालनमा ल्याउन गाउँपालिका, दूरसञ्चार कार्यालयलगायत सम्बन्धित कार्यालयले चासो नदिँदा सास्ती भएको स्थानीयको गुनासो छ ।

सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध भएको विषयमा मङ्गलबार मात्रै दूरसञ्चार कार्यालय सिमकोटमा जानकारी आएको कार्यालयका निमित्त प्रमुख रञ्जीन लामाले बताए। त्यहाँका सेवाग्राहीले भनेजस्तो महिना होइन केही समयअघि मात्रै टावरमा खराबी आएको हुनसक्ने उनको भनाइ छ ।

निमित्त प्रमुख लामाले सर्केगाडमा टेलिफोन सेवा केन्द्रीय कार्यालयमा रहेको प्रणालीबाटै आउनेजाने गरेको जानकारी प्राप्त भएको बताए। 

सोलार सञ्चिति नपुगेकाले पनि टेलिफोन सेवा अवरुद्ध भएको हुनसक्ने प्रमुख लामाले बताए। केन्द्रीय कार्यालयबाट मर्मत भइरहेको जनाउँदै समस्या समाधान नभए यहाँबाट कर्मचारी पठाइने उल्लेख गरे। 

सर्केगाडमा इलाका प्रशासन कार्यालय, सिटिजन्स बैंक, अन्य विभिन्न सङ्घसंस्थाका उपशाखा छन् भने फोन सेवा नहुँदा कार्यालयको दैनिक कामकाजको जानकारीका साथै सूचना सम्प्रेषणमा समस्या बनाएको छ । 

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ३ : १७ बजे

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द

मकरस्नानमा आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

नवलपरासी– पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार