गौरा पर्व : सांस्कृतिक परम्परा र श्रद्धाको उत्सव « Khabarhub

गौरा पर्व : सांस्कृतिक परम्परा र श्रद्धाको उत्सव


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– सुदूरपश्चिमका गाउँबस्तीहरूमा यतिबेला गौरा पर्वको चहलपहल सुरु भएको छ । पर्वकै लागि रोजगारीका लागि अन्यत्र गएका घर फर्किएका छन् । 

यहाँका हरेक बस्तीमा नयाँ पहिरनमा सजिएका महिलाहरू माङ्गल, फाग गाउँदै गरेको भेटिन्छन् भने पुरुषहरू खेल्ने खेलले यहाँका बस्ती देउडामय भएका छन् । साउनको पुत्रदा एकादशीदेखि सुरु हुने यस पर्वलाई स्थानीय भाषामा गोःरा भनिन्छ । यस क्षेत्रमा प्राचीन कालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान् शिवकी अर्धाङ्गिनी शक्तिस्वरुपा पार्वती (गौरी) लाई गौरादेवीका रुपमा पूजा गरिँदै आएको छ ।  

भाद्र महिनामा मनाइने गौरा पर्व अगस्ति ताराको उदयका हिसाबले शुक्ल या कृष्ण दुवै पक्षमा पर्ने गर्छ । शुक्ल पक्षमा परेको गौरालाई उज्याली गौरा भनिन्छ भने कृष्ण पक्षमा परेको गौरालाई अन्यारी गौरा भनिन्छ । यी दुवै गौरालाई अति पवित्र मानिए उज्याली गौरालाई विशेष महत्वका साथ हेर्ने गरिन्छ । 

विवाहित नारीहरूले आफ्नो कूल परम्पराअनुसार पुरुषहरू जस्तै यज्ञोपवितका रुपमा दुवधागो लाउने प्रचलन यस क्षेत्रमा रहेको छ । पहिलो चोटी उक्त दुवधागो लगाउनका लागि उजेली गौरा परेको पर्व सर्वप्रथम पुत्रदा एकादशीको ब्रत बसेपछि मात्र गौराको उपासना गर्न मिल्ने यहाँका जानकारहरू बताउँछन् ।    

लोक साहित्यका जानकार कविराज भट्टले पुत्रदा एकादशीको व्रत बसिसकेकी विवाहित महिलाले भाद्र महिनाको बिरुँडा पञ्चमीका दिन ब्रत बसेर बिरुडा भिजाएपछि गौरा पर्व विधिवत रुपमा सुरु हुने बताउँछन् । उनका अनुसार उक्त अवसरमा माङ्गल गीत (सगुन, फाग) सहित तामाको ताउलीलाई गाईको गोबर, दुबो र जौंतिलले सजाएर राख्ने प्रचलन छ ।  पाँच अन्न बिरुँडा (मास, गहत, गहू, कलौं, गुरुस) तामाको ताउलीमा हाली सुगन फाग गायनसँगै भजाउने गरिन्छ । 

‘पञ्चमीको दिन भिजाएका बिरुँडा दोस्रो दिन सगुन, फाग गायनसँगै महिलाहरूले पानीको मुहानमा लगेर पाँच पल्ट धुने गर्छन’, भट्टले भने, ‘धारामा साँवाधानको गौराको सानो मूर्ति बनाएर स्थापना गरी बिरुँडा तथा चन्दन, अक्षता, पाती, दुप, दीप, फल आदिले पूजा गरी पुनःफाग गायनसँगै  बिरुडा भिजाएकै स्थान घरमा आउँछन् ।’

सप्तमीको दिन चेलीबेटीहरुले खेतबाट धान, साँवाधान, कुर्जो आदि हालेर रातो कपडा वा घुम्टीमा बेरेर गौराको मूर्ति बनाएर गौरा घरमा ल्याउने चलन छ । 

‘गौरालाई डालोमा राखेर शुद्ध आसनमा स्थापित गरिन्छ  एउटा काठको पिर्कोमा पहेलो कपडा बनाएर महेश्वर स्थापना गर्ने गरिन्छ’, उनले भने, ‘साँझपख ब्रतालु महिलाहरू गोराघरमा जम्मा भइ ब्रहमण बोलाइ गोरामा अभिशेष गरी पञ्चपूर्वाङ्गसहित गौरामहेश्वरको पूजाआजा गर्दछन ।’ सप्तमीको दिन धागोमा विशेष किसिमका सात गाँठा भएको धागोलाई गौरामा चढाइ अभिशेष गरेपछि महिलाले घाँटीमा धारणा गर्ने गर्दछन् ।  

दुर्वाष्ठमीको दिन गौराको महत्वपूर्ण दिन हो । यसलाई अठ्यावाली भन्ने गरिन्छ । यो दिन महिलाले सगुन फागसहित गौरालाई गौरा हुँदै आइरहेको आँगनमा लगेर राख्छन् । सबै महिलाहरू जम्मा भइ अठ्यावाली गायनसँगै बिरुडाले गौराको पूजा गर्ने यहाँका जानकार आचार्य सरस्वती अवस्थी बताउँछन् । अठ्यावालीकै बीचमा प्रसङ्गअनुसार एउटा धर्मकथा प्रस्तुत गरिन्छ ।  

‘अठ्यावाली पूरा भएपछि फलफट्काउने काम गरिन्छ । दुई जना पुरुषहरुले च्यादरमा गौरामा चढाएका फलफूल तथा बिरुडालाई आकाशतिर पूर्व, पश्चिम, उत्तर दक्षिण र आकाशतिर फाल्ने गरिन्छ ।’ उनले भने, ‘आकाशमा फालिएका बिरुडा प्रसादलाई ब्रतालु महिला तथा उपस्थित सबैले देवीको प्रसादका रुपमा आकाशबाटै ग्रहण गर्ने गर्छन् ।’ उनले महिलाले आफ्ना पतिलगायत घरका सबै सदस्यहरुको बिरुडाले टाउँको पूज्ने र आर्शीवचन दिने चलन छ ।’हामी गौराको प्रसाद दिएर आफूभन्दा साना ठूला सबैलाई आशिर्वाद दिन्छौँ’, उनले भने, ‘गौरा पर्व नारीप्रधान पर्व हो यो पर्वमा हामी नारीलाई धेरै अधिकार दिएको छ ।’

अठ्यावालीपछिका दिनमा भने यहाँका देवालयमा महिला तथा पुरुषको खेल सुरु हुन्छ । पुरुषले ढोलक र मिजुराका स्थानीय देवीदेवता तथा पौराणिक कथावस्तुमा आधारित ढुष्को, धमारी, ठाडोखेल, चैत आदि प्रस्तुत गर्छन् । कतिपय स्थानमा महिला पुरुषका दोहोरी देउडा हुने गरेका छन् । तीन-चार दिन खेल चलेपछि उपयुक्त साइत हेरी गौरा विसर्जन गरिन्छ । 

गौरा पर्व यस क्षेत्रको मौलिक पहिचान बोकेको पर्व मात्रै नभएर नारी सम्मानको पर्व भएको लोकसाहित्यका जानकार रमेश पन्त मीतबन्धु बताउँछन् ।  ‘गौरा पर्वको अवसरमा घरपरिवारका सबै सदस्यका लागि एकजोर नयाँ लुगा किन्ने परम्परा छ’, उनले भने, ‘घरबाहिर रहेका मानिसहरु पनि गौराको बिरुँडा प्रसाद ग्रहण गर्नका लागि घर फर्किने, चेलीबेटी तथा इष्टमित्रहरुलाई  घरमा बोलाउने रमाइलो गर्ने चलन छ ।’

उनले गौरा धार्मिक, सामाजिक, सांस्कृतिक, साहित्यिक, पौराणिक, ऐतिहासिक तथा अन्य विविध दृष्टिकोणले महत्व बाकेको पर्व रहेको बताए।        

रासस
 

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  १ : ४४ बजे

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले