पिङ नखेली मनाइने बैतडीको दशैँ | Khabarhub Khabarhub

ब्लग

पिङ नखेली मनाइने बैतडीको दशैँ

मोबाइल मोहले टुट्यो पारिवारिक माहोल


१४ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

दशैँको एउटा सशक्त पाटो भनेको पारिवारिक मेलमिलाप र जमघट हो । यसले टाढा–टाढा भएका आफन्तजनलाई जोड्ने सेतूको काम गर्छ ।  दशैँ शब्द सुन्नेबित्तिकै प्रायको दिमागमा टीका जमरा, दक्षिणा, पीङलगायत आउँछ । तर मेरो स्मृतिमा भने दशैँको छाप अलि फरक छ । काठमाडौंबाट गाउँको दशैँ परिकल्पनाले मात्रै पनि मन पखेटा लाएर बत्तिन्छ । 

सधैँजसो सुनसान रहने गाउँ जब असोज महिना सुरु हुन्छ, तब गुन्जायमान बन्न थाल्दछ । बैतडीका धेरैजसो गाउँ रित्तिएका छन भन्दा फरक नपर्ला । त्यसो त गाउँ रित्तिनु देशकै समस्या हो । कोही पढाइको सिलसिलामा काठमाडौँ पसे । कतिपय तराई झरे, धेरैजसो युवायुवतीहरू विदेशिएका छन् । धेरैजसो रोजगारीको सिलसिलामा छिमेकी देश भारत कर्मथलो बनाएर गएका छन् । गाउँमा छन त केबल बुढा बाआमा र साना नानीबाबु । 

असोजमा धान झुल्ने गैरी खेतमा बनमारा फुलेको छ । पाखो रित्तिएको छ । पानीको मुल वरिपरि पुरै झाडी नै झाडी पलाएको । उबेला गाउँका मुखिया बस्ने ठूला–ठूला घर आज धमिराले सखाप पारेको छ । सँधै ग्वाला (गोठाला)ले  भरिने वन पनि सुनसान छ । गाउँ निराश छ, निरस छ । विरक्तलाग्दो छ । 

यो निरस गाउँमा अलिकति भएपनि दशैँले रस भरिदिन्छ। दशैँमा देश–विदेशबाट टाढा टाढा रहेका मान्छेहरू आफ्नै थातथलो फर्कन्छन् । छोटो समयको लागि भएपनि गाउँले रंग फेर्छ । लामो समयदेखि ढोकामा झुन्ड्याइएको ताल्चाले विश्राम पाउँछ । धमिरा लागेको घरले सरसफाइ पाउँछ । झाडीले भरिएको पँधेरो सफा हुन्छ । जे हुन्छ दशैँका बेला मात्रै हुन्छ । 

दशैँको धार्मिक महत्व उत्तिकै छ । दशैँको पहिलो दिन घटस्थापनादेखि नै बैतडीका विभिन्न भगवती मन्दिरहरू, उदयदेव मन्दिरहरूमा पूजाआजा सुरु भएर दशैँसम्म नै चल्छ । बाहिरबाट गाउँ भित्रिएका व्रतालुहरू चोखो–भोको रहेर मन्दिर जाने गर्छन् मनोकामना पूर्ण हुने विश्वासमा । बाँकी समय सुनसान हुने मन्दिरहरूमा चहलपहल बढ्छ । देवी दुर्गालगायतका शक्तिपीठ र मन्दिरहरूमा पूजाआजा गरिन्छ । 

 मन्दिरहरूमा बलि

दशैँमा विशेष पूजाआजा गरिने बैतडीका प्रख्यात शक्तिपीठहरुमा बलि दिने चलन छ । त्रिपुरा सुन्दरी मन्दिर, मेलौली भगवती मन्दिर, निंगलाशैनी भगवती मन्दिर, जगन्नाथ मन्दिर, नागार्जुन, उदयदेव मन्दिरमा दशैँको बेला राँगा, बोकाको बलि चढाइन्छ । बलि चढाएबापत नवदुर्गा माता प्रसन्न हुने विश्वासले बलि चढाइने निंगलाशैनी भगवती मन्दिरका पण्डित कृष्ण भट्टले बताए ।

निंगलाशैनी मन्दिरमा दशैँको आठौँ दिनमा नै बलि चढाइन्छ भने उदयदेव लगायतका मन्दिरहरूमा नवौँ– दशैँको दिनमा पनि बलि दिइन्छ । दशैँका बेला हजारौँको सङ्ख्यामा बलि चढाइन्छ । बलिका राँगा–बोको मासु प्रसादस्वरूप ग्रहण गरिन्छ । स्थानीय बाजागाजासहित पूजाआराधना गरिन्छ । राति भजनकीर्तन गरेर नवदुर्गाको महिमा गाइन्छ । 

बलि दिने चलन पुरानो संस्कारसँग जोडिएको छ । गाउँका बलि दिएका राँगाबोकाको मासु परिवार र आफन्तले बाँडेर खान्छन् । यसले मेलमिलाप र भोजनको माहोल बनाउँछ ।  समुदायलाई एक ठाउँमा भेला गराउने र दशैँलाई सामूहिक रुपमा मनाउने अवसर दिन्छ । 

 धार्मिक मेलाको रमझम 

यी मन्दिरहरूमा मेला पनि लाग्ने गर्छ जहाँ छिमेकी मुलुक भारतबाट पनि तीर्थालुहरू आइपुग्ने गर्छन् । दशैँमा व्यापार पनि उत्तिकै हुन्छ । 

झुलाघाट हुँदै भारतीय व्यापारीहरू नेपालसम्म आइपुग्छन् । विशेषगरी मेलामा भारतीय मिठाईका प्रकारहरू पाइन्छन् जुन गाउँघरमा (देहिमाडौँकी मिठाई) नामबाट परिचित छ । 

स्थानीय उत्पादनले पनि मेलामा बजार पाउँछ । जस्तै डोरी, नाम्लो, हँसिया, बन्चरो, लगायत स्थानीयस्तरमै बनाइएका सामानहरूले बजार पाउँछन् । यस्तै सिलाजित लगायतका स्थानीय जडिबुटी पनि पाइन्छ । 

 दशैँसँगै कामको चटारो 

गाउँघरमा दशैँ र कामको चटारो एकसाथ पर्छ । खेतमा धानबाली पाकेको हुन्छ । मकै, भटमास, लगायत बालीहरु भित्र्याउन चटारो हुन्छ । घरका हरेक सदस्यले बिहानदेखि बेलुकासम्मै काममा खटिनुपर्ने हुन्छ । उसै पनि सबै काम सकेर ढुक्कले दशैँ मनाउँला भन्ने सोचेर काममै दौडधुप गरिरहनुपर्छ । बैतडीमा असोजमै खर काट्ने समय हुन्छ ।

हिउँदमा पशुलाई खुवाउन अहिले नै हरियो घाँस काटेर सुकाएर राख्ने गरिन्छ । एकातिर कामको चटारो अर्कोतिर दशैँको माहोल रमाइलोसँगै दौडधुप पनि उत्तिकै । सबैलाई थाहा छ दशैँमा मिठो मसिनो खाने हो । त्यसको लागि पनि जोरजाम गर्नुपर्छ । बैतडीका कतिपय गाउँमा अझै सडक सञ्जाल पुगेको छैन । 

घण्टौँ हिँडेर घरमा चाहिने सरसामान बोकेर ल्याउनुपर्ने बाध्यता अझै छ । जनजीवन अस्तव्यस्त हुन्छ । तर पनि दशैँको रौनकले थकान अलिकति मत्थर बनाइदिन्छ । तर जोड काममै दिइन्छ कि ‘काम सकेर ढुक्कले दशैँ मनाउने’ । 

रातो माटो र कमेरोले घर पोत्ने गरिन्छ । जुन दशैँका बेला गर्नैपर्ने आधारभूत काम हो ।  त्यसका लागि माटो र कमेरोको जोहो गर्न आवश्यक हुन्छ ।

 पिङबिनाको दशैँ

मैले काठमाडौँ आएपछि मात्रै पिङ खेलेको छु । बैतडीमा मैले मेरा कयौँ दशैँ मनाएकी छु तर पिङबिनाका । उतातिर पिङलाई त्यति प्राथमिकतामा राखेको देखिदैन । 

बैतडीमा मात्रै हैन सुदूरपश्चिमका जिल्लाहरूमा खासै पिङ खेलेको देखिदैन । पछिल्लो समय भने फाट्टफुट्ट पिङ हालेको देखिन्छ । केही ठाउँमा लिङ्गे पिङ खेलिन्छ । पछिल्लो समय टिकटक बनाउनकै लागि भएपनि पिङ खेल्ने गर्छन् कतिपयले । 

बैतडीतिर दशैँले विशेष गरी बलि दिने, पूजापाठ, टिका जमरा, पारिवारिक मिलन, मिठो मसिनो खानेकुरा र नयाँ कपडालाई नै प्रतिबिम्बित गर्छ । यस्तै दशैँमा मिठा पक्वान्न पकाइन्छन् । प्रायः मन्दिरमा चढाइएको राँगा बोकाको मासु प्रसादको रुपमा खाने त कतिपयले घरमै पनि खसी, बोका काटेर खाने गर्छन् ।

 सानो छँदाको दशैँ

उमेर बढ्दै गएपछि रहरहरू हराउँदै जान्छन् भन्थे बुढापाकाले । अहिले हो कि जस्तो महसूस हुन थालेको छ । गाउँमा गएर दशैँ नमनाएको पनि ५ वर्ष बितेछ । अहिले पनि त्यही दशैँ आउँछ, जुन दशैँ बच्चा बेलामा आउने गथ्र्यो, फरक यत्ति हो त्यो खुसी मिल्दैन जुन बच्चा बेलामा मिल्थ्यो । दशैँ आउने दिन गनेर बसिन्थ्यो । 

बाबाले काठ चिरेर होस या त ढुंगा फोडेर किन नहोस् दशैँमा पुरै परिवारलाई नयाँ लुगा ल्याइदिनुहुन्थ्यो आफूबाहेक । आमाले दशैँ आउन लाग्यो अब छिटो छिटो काम उम्काउनुपर्छ अनि ढुक्कले दशैँ मनाउनुपर्छ है भन्दै फकाएर काम अर्‍याउनुहुन्थ्यो । खुसीको सीमा नाघेर फुर्केर काममा दौडिन्थ्यौँ दाइ दिदीहरूसँगै । सबै जना मिलेर जतिसक्दो छिटो काम सक्ने प्रयत्न गरिन्थ्यो । 

गाउँमा काठमाडौँलगायत बाहिरबाट आएका नयाँ नयाँ मान्छे हेर्दा मख्खै परिन्थ्यो । घर पोतेर चिटिक्क पारिन्थ्यो । घरबाट ५०–१०० रुपैयाँ दिँदा खुसीखुसी ३ घण्टा हिँडेर देहिमाडौँको निंगलाशैनि मन्दिरमा लाग्ने मेला हेरेको सम्झना अझै ताजै छ । त्यो सम्झदा अहिले त्यहीँ पुग्न मन लाग्छ ।  

 त्यो दशैँ खास लाग्थ्यो– जहाँ आमाबाले टिका लगाएर दक्षिणा दिनुहुन्थ्यो । ती पलहरू स्मरणीय थिए– जहाँ साथीहरूसँग मेलामा रमाइलो गरिन्थ्यो । हाम्रो गाउँमा घरघरमै जमरा छरिँदैन । मन्दिरहरूमा मात्रै जमरा राखिन्थ्यो अनि टीकाको दिनमा काटिन्थ्यो । मन्दिरमा गएर जमरा मागेर लगाउँथ्यौ । तर अहिले घर घरमै पनि जमरा उमारिन्छ । 

मन्दिरकै जमरा मानिन्छ । आफन्तहरू एक ठाउँमा भेला हुँदा पुर्खाहरूले दिएका बाणीहरु एकअर्कोमा पुस्तान्तरण होस् भनेर सुनाइने गरिन्थ्यो । जमघट भएका बखत विभिन्न कथा, दशैँको बारेमा महत्वपूर्ण जानकारी पनि थाहा पाइन्थ्यो । दशैँ सकिएपछि फेरि अर्को दशैँमा भेट्ने प्रतिज्ञासहित आफ्नै दैनिकीमा फर्किने गरिन्थ्यो । 

 अहिलेको दशैँ 

अहिले उसै पनि गाउँ रित्तिएका छन् । आफ्नो कुल देवताको पूजा आराधना गर्न पुर्ख्यौली घर जानुपर्छ भन्ने भावनाले मात्रै बाहिरबाट मानिस गाउँ पस्छन् । धेरैजसो पश्चिमा संस्कृतिको सिको भइरहेको पाइन्छ ।

इन्टरनेट अनलाइनले थुप्रै सहज बनाएको छ, त्यो सकारात्मक पक्ष हो । पुरै संसारलाई एउटा घर जस्तै बनाएको छ । तर त्यो घरभित्रै पनि व्यक्ति व्यक्ति-व्यक्ति दूरी बनाएर बसिरहेका छन् । दशैँले जुराएको जमघटलाई इन्टरनेटले अलग गराएको छ । 

सँगै भएर पनि एकअर्कासँग बोल्न फुर्सद हुँदैन । सबै सबै मोबाइलमा व्यस्त भइरहेका हुन्छन् । नजिकै भएकाहरूको हालखबर सोध्न नभ्याउने बनाएको छ– सामाजिक सञ्जालले । दशैँ मनाउने शैली नै फेरिएको भन्ने भान हुन्छ । जे भए पनि शारदीय मौसममा आउने दशैँ परिवारलाई जोड्ने भरपर्दो सांस्कृतिक र धार्मिक सेतू हो । दशैँ शब्दले मनलाई नै पल्लवित बनाउँछ । 

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  २ : ०८ बजे

इन्डोनेसियामा विद्यालय भवन ढल्दा गयो दर्जनौँको ज्यान, उद्धार कार्य जारी

एजेन्सी– इन्डोनेसियाको विद्यालय भवन ढलेर अस्थिर कङ्क्रिटको भग्नावशेषमा फसेका विद्यार्थीहरूलाई

रामेछाप–लुक्ला हवाई उडान सुरु

मन्थली– रामेछाप–लुक्ला हवाई उडान सुरु भएको छ । शरद ऋतुमा

दसैँ सुरु भएपछि साढे पाँच लाखले छाडे उपत्यका

काठमाडौं– दसैँको चहलपहल सुरु भएसँगै साढे पाँच लाखले सङ्घीय राजधानी

भारत–भुटानबीच पहिलो सीमापार रेल परियोजना, चार वर्षमै सम्पन्न हुने

नयाँदिल्ली– भारत र भुटानले पहिलो पटक दुवै देशलाई जोड्ने सीमापार

काठमाडौं उपत्यकामा चहलपहल घट्दै

काठमाडौं– बडादशैँको महाअष्टमीको दिन काठमाडौँ उपत्यकामा चहलपहल कम देखिएको छ