दशैँको एउटा सशक्त पाटो भनेको पारिवारिक मेलमिलाप र जमघट हो । यसले टाढा–टाढा भएका आफन्तजनलाई जोड्ने सेतूको काम गर्छ । दशैँ शब्द सुन्नेबित्तिकै प्रायको दिमागमा टीका जमरा, दक्षिणा, पीङलगायत आउँछ । तर मेरो स्मृतिमा भने दशैँको छाप अलि फरक छ । काठमाडौंबाट गाउँको दशैँ परिकल्पनाले मात्रै पनि मन पखेटा लाएर बत्तिन्छ ।
सधैँजसो सुनसान रहने गाउँ जब असोज महिना सुरु हुन्छ, तब गुन्जायमान बन्न थाल्दछ । बैतडीका धेरैजसो गाउँ रित्तिएका छन भन्दा फरक नपर्ला । त्यसो त गाउँ रित्तिनु देशकै समस्या हो । कोही पढाइको सिलसिलामा काठमाडौँ पसे । कतिपय तराई झरे, धेरैजसो युवायुवतीहरू विदेशिएका छन् । धेरैजसो रोजगारीको सिलसिलामा छिमेकी देश भारत कर्मथलो बनाएर गएका छन् । गाउँमा छन त केबल बुढा बाआमा र साना नानीबाबु ।
असोजमा धान झुल्ने गैरी खेतमा बनमारा फुलेको छ । पाखो रित्तिएको छ । पानीको मुल वरिपरि पुरै झाडी नै झाडी पलाएको । उबेला गाउँका मुखिया बस्ने ठूला–ठूला घर आज धमिराले सखाप पारेको छ । सँधै ग्वाला (गोठाला)ले भरिने वन पनि सुनसान छ । गाउँ निराश छ, निरस छ । विरक्तलाग्दो छ ।
यो निरस गाउँमा अलिकति भएपनि दशैँले रस भरिदिन्छ। दशैँमा देश–विदेशबाट टाढा टाढा रहेका मान्छेहरू आफ्नै थातथलो फर्कन्छन् । छोटो समयको लागि भएपनि गाउँले रंग फेर्छ । लामो समयदेखि ढोकामा झुन्ड्याइएको ताल्चाले विश्राम पाउँछ । धमिरा लागेको घरले सरसफाइ पाउँछ । झाडीले भरिएको पँधेरो सफा हुन्छ । जे हुन्छ दशैँका बेला मात्रै हुन्छ ।
दशैँको धार्मिक महत्व उत्तिकै छ । दशैँको पहिलो दिन घटस्थापनादेखि नै बैतडीका विभिन्न भगवती मन्दिरहरू, उदयदेव मन्दिरहरूमा पूजाआजा सुरु भएर दशैँसम्म नै चल्छ । बाहिरबाट गाउँ भित्रिएका व्रतालुहरू चोखो–भोको रहेर मन्दिर जाने गर्छन् मनोकामना पूर्ण हुने विश्वासमा । बाँकी समय सुनसान हुने मन्दिरहरूमा चहलपहल बढ्छ । देवी दुर्गालगायतका शक्तिपीठ र मन्दिरहरूमा पूजाआजा गरिन्छ ।
मन्दिरहरूमा बलि
दशैँमा विशेष पूजाआजा गरिने बैतडीका प्रख्यात शक्तिपीठहरुमा बलि दिने चलन छ । त्रिपुरा सुन्दरी मन्दिर, मेलौली भगवती मन्दिर, निंगलाशैनी भगवती मन्दिर, जगन्नाथ मन्दिर, नागार्जुन, उदयदेव मन्दिरमा दशैँको बेला राँगा, बोकाको बलि चढाइन्छ । बलि चढाएबापत नवदुर्गा माता प्रसन्न हुने विश्वासले बलि चढाइने निंगलाशैनी भगवती मन्दिरका पण्डित कृष्ण भट्टले बताए ।

निंगलाशैनी मन्दिरमा दशैँको आठौँ दिनमा नै बलि चढाइन्छ भने उदयदेव लगायतका मन्दिरहरूमा नवौँ– दशैँको दिनमा पनि बलि दिइन्छ । दशैँका बेला हजारौँको सङ्ख्यामा बलि चढाइन्छ । बलिका राँगा–बोको मासु प्रसादस्वरूप ग्रहण गरिन्छ । स्थानीय बाजागाजासहित पूजाआराधना गरिन्छ । राति भजनकीर्तन गरेर नवदुर्गाको महिमा गाइन्छ ।
बलि दिने चलन पुरानो संस्कारसँग जोडिएको छ । गाउँका बलि दिएका राँगाबोकाको मासु परिवार र आफन्तले बाँडेर खान्छन् । यसले मेलमिलाप र भोजनको माहोल बनाउँछ । समुदायलाई एक ठाउँमा भेला गराउने र दशैँलाई सामूहिक रुपमा मनाउने अवसर दिन्छ ।

धार्मिक मेलाको रमझम
यी मन्दिरहरूमा मेला पनि लाग्ने गर्छ जहाँ छिमेकी मुलुक भारतबाट पनि तीर्थालुहरू आइपुग्ने गर्छन् । दशैँमा व्यापार पनि उत्तिकै हुन्छ ।

झुलाघाट हुँदै भारतीय व्यापारीहरू नेपालसम्म आइपुग्छन् । विशेषगरी मेलामा भारतीय मिठाईका प्रकारहरू पाइन्छन् जुन गाउँघरमा (देहिमाडौँकी मिठाई) नामबाट परिचित छ ।
स्थानीय उत्पादनले पनि मेलामा बजार पाउँछ । जस्तै डोरी, नाम्लो, हँसिया, बन्चरो, लगायत स्थानीयस्तरमै बनाइएका सामानहरूले बजार पाउँछन् । यस्तै सिलाजित लगायतका स्थानीय जडिबुटी पनि पाइन्छ ।

दशैँसँगै कामको चटारो
गाउँघरमा दशैँ र कामको चटारो एकसाथ पर्छ । खेतमा धानबाली पाकेको हुन्छ । मकै, भटमास, लगायत बालीहरु भित्र्याउन चटारो हुन्छ । घरका हरेक सदस्यले बिहानदेखि बेलुकासम्मै काममा खटिनुपर्ने हुन्छ । उसै पनि सबै काम सकेर ढुक्कले दशैँ मनाउँला भन्ने सोचेर काममै दौडधुप गरिरहनुपर्छ । बैतडीमा असोजमै खर काट्ने समय हुन्छ ।

हिउँदमा पशुलाई खुवाउन अहिले नै हरियो घाँस काटेर सुकाएर राख्ने गरिन्छ । एकातिर कामको चटारो अर्कोतिर दशैँको माहोल रमाइलोसँगै दौडधुप पनि उत्तिकै । सबैलाई थाहा छ दशैँमा मिठो मसिनो खाने हो । त्यसको लागि पनि जोरजाम गर्नुपर्छ । बैतडीका कतिपय गाउँमा अझै सडक सञ्जाल पुगेको छैन ।

घण्टौँ हिँडेर घरमा चाहिने सरसामान बोकेर ल्याउनुपर्ने बाध्यता अझै छ । जनजीवन अस्तव्यस्त हुन्छ । तर पनि दशैँको रौनकले थकान अलिकति मत्थर बनाइदिन्छ । तर जोड काममै दिइन्छ कि ‘काम सकेर ढुक्कले दशैँ मनाउने’ ।
रातो माटो र कमेरोले घर पोत्ने गरिन्छ । जुन दशैँका बेला गर्नैपर्ने आधारभूत काम हो । त्यसका लागि माटो र कमेरोको जोहो गर्न आवश्यक हुन्छ ।

पिङबिनाको दशैँ
मैले काठमाडौँ आएपछि मात्रै पिङ खेलेको छु । बैतडीमा मैले मेरा कयौँ दशैँ मनाएकी छु तर पिङबिनाका । उतातिर पिङलाई त्यति प्राथमिकतामा राखेको देखिदैन ।
बैतडीमा मात्रै हैन सुदूरपश्चिमका जिल्लाहरूमा खासै पिङ खेलेको देखिदैन । पछिल्लो समय भने फाट्टफुट्ट पिङ हालेको देखिन्छ । केही ठाउँमा लिङ्गे पिङ खेलिन्छ । पछिल्लो समय टिकटक बनाउनकै लागि भएपनि पिङ खेल्ने गर्छन् कतिपयले ।
बैतडीतिर दशैँले विशेष गरी बलि दिने, पूजापाठ, टिका जमरा, पारिवारिक मिलन, मिठो मसिनो खानेकुरा र नयाँ कपडालाई नै प्रतिबिम्बित गर्छ । यस्तै दशैँमा मिठा पक्वान्न पकाइन्छन् । प्रायः मन्दिरमा चढाइएको राँगा बोकाको मासु प्रसादको रुपमा खाने त कतिपयले घरमै पनि खसी, बोका काटेर खाने गर्छन् ।
सानो छँदाको दशैँ
उमेर बढ्दै गएपछि रहरहरू हराउँदै जान्छन् भन्थे बुढापाकाले । अहिले हो कि जस्तो महसूस हुन थालेको छ । गाउँमा गएर दशैँ नमनाएको पनि ५ वर्ष बितेछ । अहिले पनि त्यही दशैँ आउँछ, जुन दशैँ बच्चा बेलामा आउने गथ्र्यो, फरक यत्ति हो त्यो खुसी मिल्दैन जुन बच्चा बेलामा मिल्थ्यो । दशैँ आउने दिन गनेर बसिन्थ्यो ।
बाबाले काठ चिरेर होस या त ढुंगा फोडेर किन नहोस् दशैँमा पुरै परिवारलाई नयाँ लुगा ल्याइदिनुहुन्थ्यो आफूबाहेक । आमाले दशैँ आउन लाग्यो अब छिटो छिटो काम उम्काउनुपर्छ अनि ढुक्कले दशैँ मनाउनुपर्छ है भन्दै फकाएर काम अर्याउनुहुन्थ्यो । खुसीको सीमा नाघेर फुर्केर काममा दौडिन्थ्यौँ दाइ दिदीहरूसँगै । सबै जना मिलेर जतिसक्दो छिटो काम सक्ने प्रयत्न गरिन्थ्यो ।
गाउँमा काठमाडौँलगायत बाहिरबाट आएका नयाँ नयाँ मान्छे हेर्दा मख्खै परिन्थ्यो । घर पोतेर चिटिक्क पारिन्थ्यो । घरबाट ५०–१०० रुपैयाँ दिँदा खुसीखुसी ३ घण्टा हिँडेर देहिमाडौँको निंगलाशैनि मन्दिरमा लाग्ने मेला हेरेको सम्झना अझै ताजै छ । त्यो सम्झदा अहिले त्यहीँ पुग्न मन लाग्छ ।
त्यो दशैँ खास लाग्थ्यो– जहाँ आमाबाले टिका लगाएर दक्षिणा दिनुहुन्थ्यो । ती पलहरू स्मरणीय थिए– जहाँ साथीहरूसँग मेलामा रमाइलो गरिन्थ्यो । हाम्रो गाउँमा घरघरमै जमरा छरिँदैन । मन्दिरहरूमा मात्रै जमरा राखिन्थ्यो अनि टीकाको दिनमा काटिन्थ्यो । मन्दिरमा गएर जमरा मागेर लगाउँथ्यौ । तर अहिले घर घरमै पनि जमरा उमारिन्छ ।
मन्दिरकै जमरा मानिन्छ । आफन्तहरू एक ठाउँमा भेला हुँदा पुर्खाहरूले दिएका बाणीहरु एकअर्कोमा पुस्तान्तरण होस् भनेर सुनाइने गरिन्थ्यो । जमघट भएका बखत विभिन्न कथा, दशैँको बारेमा महत्वपूर्ण जानकारी पनि थाहा पाइन्थ्यो । दशैँ सकिएपछि फेरि अर्को दशैँमा भेट्ने प्रतिज्ञासहित आफ्नै दैनिकीमा फर्किने गरिन्थ्यो ।
अहिलेको दशैँ
अहिले उसै पनि गाउँ रित्तिएका छन् । आफ्नो कुल देवताको पूजा आराधना गर्न पुर्ख्यौली घर जानुपर्छ भन्ने भावनाले मात्रै बाहिरबाट मानिस गाउँ पस्छन् । धेरैजसो पश्चिमा संस्कृतिको सिको भइरहेको पाइन्छ ।
इन्टरनेट अनलाइनले थुप्रै सहज बनाएको छ, त्यो सकारात्मक पक्ष हो । पुरै संसारलाई एउटा घर जस्तै बनाएको छ । तर त्यो घरभित्रै पनि व्यक्ति व्यक्ति-व्यक्ति दूरी बनाएर बसिरहेका छन् । दशैँले जुराएको जमघटलाई इन्टरनेटले अलग गराएको छ ।
सँगै भएर पनि एकअर्कासँग बोल्न फुर्सद हुँदैन । सबै सबै मोबाइलमा व्यस्त भइरहेका हुन्छन् । नजिकै भएकाहरूको हालखबर सोध्न नभ्याउने बनाएको छ– सामाजिक सञ्जालले । दशैँ मनाउने शैली नै फेरिएको भन्ने भान हुन्छ । जे भए पनि शारदीय मौसममा आउने दशैँ परिवारलाई जोड्ने भरपर्दो सांस्कृतिक र धार्मिक सेतू हो । दशैँ शब्दले मनलाई नै पल्लवित बनाउँछ ।
प्रतिक्रिया