‘हजारबाट सुरु भएको व्यापार पुँजी लाखौँ पुग्यो’ « Khabarhub

‘हजारबाट सुरु भएको व्यापार पुँजी लाखौँ पुग्यो’


१४ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

भद्रपुर (झापा)- “व्यापार सुरु गर्दा हामीसँग पैसाभन्दा पनि ठूलो सपना थियो । त्यही सपनाले केही गर्न प्रेरित गरेको थियो”, आफ्नो पसल देखाउँदै झापाको बुद्धशान्ती गाउँपालिका–१ पहाडीचोकका कमल मङ्ग्रान्तीले भने । श्रीमान्‌को स्वरमा स्वर मिलाउँदै श्रीमति तारा तोलाङीले भन्दैथिइन्, “त्यही सपना पछ्याउँदै जाँदा आज हामीले सानो लगानीबाट सुरु गरेको व्यापारलाई उद्योगकै रूपमा विकास गर्न सफल हुँदैछौँ ।”

मङ्ग्रान्ती दम्पतीले ‘आशिष सुज सेन्टर’ स्थापना गरेका थिए । करिब १५ वर्षअघि काठमाडौँस्थित शिखर सुजलगायत विभिन्न कम्पनीमा मजदुरी गर्दै जीविका चलाइरहेका कमल आफ्नै उद्यम गर्ने सपनासहित गाउँ फर्कने सोच बनाए । दिनभरि अर्काको काम गर्दा पनि परिवार धान्न गाह्रो भएपछि उनलाई आफ्नै व्यापार गर्नुपर्छ भन्ने लागेको थियो ।

त्यसैले विसं २०६९ तिर मङ्ग्रान्तीले जुत्ता तथा चप्पल बनाउने तालिम लिएको स्मरण गरे । सीप प्राप्त गरेपछि उनले झापाको बुद्धशान्ति फर्केर परिवार र आफन्तसँग सानो ऋण जुटाइ घरकै एउटा कोठामा जुत्ता उत्पादन सुरु गरे । “सुरुआतमा केही हजार लगानी गरेर घरकै सटरमा आफ्नै उत्पादन बिक्री थालेँ । प्रारम्भिक चरणमा गाउँघरमा हातले टाँसेका जुत्ता बेच्न कठिन भए पनि गुणस्तर र डिजाइनमा ध्यान दिन थालेपछि क्रमशः बजार बिस्तार हुँदै गयो”, मङ्ग्रान्तीले भने, “श्रीमतीलाई पनि जुत्ता बनाउने सीप सिकाए । उनले उद्योगको उत्पादनसँगै पसल व्यवस्थापनमा साथ दिएपछि निकै सहज भयो ।”

उद्योग स्थापनाको केही वर्षपछि ऋण उठाएर खरिद गरिएको पहिलो सिलाइ मेसिनले व्यवसायलाई नयाँ मोड दियो । हाल उनको उद्योगमा विद्यार्थीका लागि जुत्ता, कामकाजी महिलाका लागि सहज चप्पलदेखि युवाका लागि आकर्षक जुत्ता उत्पादन भइरहेको छ । “हाल पालिकाभर हाम्रो काम र पसलको चर्चा हुन्छ । उद्योगमार्फत दैनिक ३० देखि ४० जोडी विभिन्न आकार–प्रकारका जुत्ता तथा चप्पल उत्पादन गरिरहेका छौँ । चार जना स्थानीयलाई रोजगारीसमेत दिइरहेका छौँ”, मङ्ग्रान्तीले सुनाए ।

उनीहरूले आफ्नै पसलमार्फत बिक्री गर्नुका साथै मागअनुसार जिल्लाबाहिर पनि जुत्ता चप्पल आपूर्ति गर्दै आएका छन् । केही हजार लगानी गरेर हाल उनले आफ्नो व्यापार पुँजी करिब ४० लाख बनाएका छन् । उद्योगमा चार जनाले रोजगारी पाइरहेका छन् । हिजोका दिनमा अर्काको काम गर्दा जीविका चलाउनसमेत समस्या भोगेको यस परिवारले यही उद्योगको आम्दानीले निकै सहज भएको छ ।

“परिवारको जीवनस्तरमा सुधार हुनुका साथै सन्तानको शिक्षामा लगानी गर्न सहज भएको छ । लगानी बिस्तार गर्दै हाल करिब रु ४० लाखसम्मको पुँजी पुगाएका छौँ”, श्रीमती ताराले भनिन्, “पहिले भाडाको घरमा बसेर महिनाको खर्च टार्न हम्मेहम्मे पथ्र्यो । अहिले आफ्नै घर छ, उद्योग छ र अरूलाई रोजगार दिन सक्ने अवस्थामा छौँ ।” श्रीमान्–श्रीमतीबीचको सहकार्य नै सफलताको मूल मन्त्र भएको उनीहरूको बुझाइ छ । उनीहरूमध्ये कमलले उत्पादन व्यवस्थापनमा र ताराले डिजाइन र बिक्री–वितरणमा ध्यान दिइरहेका छन् ।

थोरै पुँजीबाट सुरु गरेको व्यवसायबाट सफलता हासिल भइरहे पनि विदेशी जुत्ता आपूर्तिका कारण केही समस्या भइरहेको मङ्ग्रान्तीले गुनासो गरे । सरकारले स्थानीय उद्योगलाई थप प्रोत्साहन दिए सहज हुने उनको भनाइ छ । “यदि सरकारको स्पष्ट सहयोग र कर छुट मिल्यो भने हामीजस्ता साना उद्यमीले अझ ठूलो योगदान दिन सक्छौँ”, मङ्ग्रान्तीले भने, “कर तिर्ने बेलामा विभिन्न निकायमा धाउनुपर्ने बाध्यताले समय र स्रोत दुवै खर्च हुने गरेको छ । एकीकृत प्रणाली भए त सहज हुन्थ्यो नि !”

मङ्ग्रान्ती दम्पतीको योजना उद्योगलाई थप बिस्तार गर्दै झापामै ठूलो ‘फुटवेयर हब’ बनाउने छ । जसले आफ्नो र स्थानीय युवालाई रोजागरी दिएर जीवनस्तर सुधार्ने सपना छ । त्यसका लागि योजना र केही रणनीति बनाएर काम गर्ने मङ्ग्रान्तीले बताए ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ८ : ०६ बजे

साउनको अन्तिम सोमबार : पशुपतिनाथमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– साउन महिनाको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ– कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका

धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू

दाङ– दाङको बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आएकी

चितवनको खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन – पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–०१ स्थित शाहीचोकमा बसको

गाजासम्बन्धी ट्रम्पको १५ बुँदे प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा