बजारमा सुन किन्नेभन्दा बेच्ने बढी भए | Khabarhub Khabarhub

अन्तर्वार्ता

बजारमा सुन किन्नेभन्दा बेच्ने बढी भए



नेपालको सुन बजार पछिल्ला दिनहरूमा निकै अस्थिर बन्दै गएको छ । कहिले मूल्य आकासिन्छ, कहिले ह्वात्तै घट्छ  यिनै विषयमा हामीले नेपाल सुनचाँदी व्यवसायी महासंघका  वरिष्ठ उपाध्यक्ष दियेश रत्न शाक्यसँग कुराकानी गरेका छौँ। उनले सुन बजारको हालको स्थिति, कर नीतिको असर र सरकारसँगका अपेक्षाबारे खुलस्त कुरा गरेका छन् ।

सुन बजारमा उतार चढाव आउनुको कारण के हो ?
सुनको मूल्यमा आएको उतार–चढावको मुख्य कारण लगानीकर्ताको व्यवहार हो । पछिल्लो समय अनलाइन लगानीकर्ताको संख्या अत्यधिक अर्थात लगभग ९० प्रतिशत बढेको छ ।  यी लगानीकर्ताले जब मूल्य बढ्छ, तत्काल मुनाफा लिन सुन बेच्न थाल्छन्। त्यसले बजारमा सप्लाइ बढाउँछ र मूल्य घटाउँछ । भौतिक रूपमा सुन किन्नेहरू अहिले निकै कम छन् ।

अहिले सुनको दैनिक खपत कति छ ?
सुनको खपत सधैँ यसको मूल्यमा निर्भर रहन्छ । पछिल्लो समयमा भारतीय मिडियामा सुनको मूल्य अझ बढ्ने अफवाह फैलिएपछि बजारमा एकपटक डिमाण्ड ह्वात्तै बढेको थियो । विशेषगरी बेरुवा औँठी र हल्का गहनाहरूको माग अत्यधिक थियो । तर अहिले परिस्थिति उल्टो छ— बजारमा किन्नेभन्दा बेच्नेहरू बढी छन् । लगानीकर्ताहरू नाफा सुरक्षित गर्न बिक्रीमा उत्रिएका छन्, जसले बजारमा थप चाप सिर्जना गरेको छ ।

सुनको मूल्य घट्दै जाँदा डिमाण्ड पनि घटेको छ । अहिले कार्तिक–मङ्सिरको लगन पर्वको सिजन भए पनि गहना बनाउने चहलपहल पहिलेको जस्तो छैन ।

सामान्य अवस्थामा नेपालमा सुनको दैनिक खपत ४० केजीको हाराहारीमा हुन्छ । मूल्य बढ्ने क्रममा यो ४० देखि ५५ केजीसम्म पुग्थ्यो। यसको अर्थ, सुनको मूल्य बढ्दा खपत पनि सँगसँगै बढ्ने गर्छ । घट्दा खपत कम हुन्छ ।

केही समयअघि सुन व्यवसायीहरूले करबारे असन्तुष्टि जनाएका थिए । अहिले स्थिति के छ ?
सुनमा लगाइएको दुई प्रतिशत विलासिता करका कारण उपभोक्तालाई थप भार परेको छ ।  सरकारले यो कर हटाए प्रतितोला करिब ५ हजार बराबरको राहत उपभोक्ताले पाउने छन् । उनीहरूका अनुसार नयाँ सरकारले कर नीतिमा सुधार गर्ने आश्वासन त दिएको छ, तर व्यावहारिक परिवर्तन अझै देखिएको छैन ।

नेपालमा अनौपचारिक बाटोबाट सुन भित्र्याइने समस्यामा सुधार आएको हो ?
अहिले स्थिति निकै सुधारिएको छ। पहिले १००–१५० केजीसम्म सुन अनौपचारिक रूपमा ल्याइएको खबरहरू सुन्न पाइन्थ्यो, तर अहिले त्यस्तो छैन । विमानस्थल र सीमाक्षेत्रमा कडाइ बढाइएकाले अहिले ठूलो मात्रामा सुन तस्करी हुन सक्ने अवस्था छैन । अब साना परिमाणमा वैयक्तिक रूपमा ल्याउनेहरू मात्रै देखिन्छन् ।

सुनको मूल्य घट्दा र बढ्दा व्यवसायमा कस्तो असर परेको छ ?
मूल्य घट्दा साना व्यवसायीहरू सबैभन्दा बढी प्रभावित हुन्छन् । उनीहरूको लगानी फस्ने, आम्दानी घट्ने र जोखिम बढ्ने समस्या देखिन्छ । हाम्रो देशमा अझै पनि जोखिम न्यूनीकरणका लागि आवश्यक नीति  जस्तै बीमा वा हेजिङ प्रणाली छैन । भारतमा यस्ता नीति छन् र त्यही नीति नेपालमा पनि लागू भए व्यापारी र उपभोक्ता दुवैलाई सहज हुने थियो ।

नेपाल राष्ट्र बैंकबाट कति केजी सुन खरिद गर्न पाउने नियम छ ?
नेपाल राष्ट्र बैंकले कोटा प्रणाली लागू गरेको छ । अहिले सुन व्यवसायीहरूले प्रति दिन २५ केजीसम्म सुन खरिद गर्न पाउँछन् । पहिले यो सीमा २० केजीमात्र थियो । कोटा अनुसार एक महिनामा अधिकतम ६०० केजी सुन आयात गर्न पाइन्छ । तर प्राविधिक समस्या र अन्य कारणले राष्ट्र बैंकले ४०० देखि ४५० किलोसम्म मात्र सुन उपलब्ध गराउन सकेको छ ।

अन्त्यमा, सरकारले के सुधार गर्न सके सुन बजारमा स्थिरता आउँछ ?
सरकारसँग हाम्रो दुई अपेक्षा छ– पहिलो, विलासिता कर हटाउने वा घटाउने, जसले उपभोक्तालाई राहत मिल्छ र बजार चलायमान हुन्छ ।

दोस्रो, स्पष्ट नीति र अनुगमन प्रणाली लागू गर्नुपर्नेछ । यदि यी सुधार भए भने सुन बजार फेरि स्थिर र पारदर्शी बन्नेछ । सुन बजारको हालको अवस्था केवल मूल्यको कुरा होइन । यो लगानीकर्ता, कर नीति, सरकारी निर्णय र अन्तर्राष्ट्रिय बजार सबैको संयुक्त प्रभाव हो । नीति स्पष्ट भयो भने नेपाली सुन बजार फेरि मजबुत रूपमा अघि बढ्ने निश्चित छ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ११ : ३४ बजे

वरिष्ठ लेखा अधिकृत कार्कीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका वरिष्ठ

वार्तामा बस्न सरकार एवं उद्योगीलाई परिसंघको आग्रह

काठमाडौं- डेडिकेटेड र ट्रंकलाइनको विद्युत् महसुलका विषयमा उद्योगी र नेपाल

भारतबाट १६ बालबालिकाको उद्धार

जनकपुरधाम- भारतका विभिन्न स्थानबाट १६ बालबालिकाको उद्धार गरिएको छ। उनीहरूलाई

मुस्ताङमा हिमपातपछि निरन्तर वर्षा, जनजिवन प्रभावित

मुस्ताङ – मङ्गलबारको हिमपातपछि हिमाली जिल्ला मुस्ताङमा निरन्तर वर्षा भइरहेको