‘निषेधले होइन, सर्वपक्षीय संवादबाट निस्किन्छ संकटको निकास’ | Khabarhub Khabarhub

‘निषेधले होइन, सर्वपक्षीय संवादबाट निस्किन्छ संकटको निकास’



जेन–जी आन्दोलन केका लागि थियो ? हामी आन्दोलनको मर्म प्राप्त गर्ने दिशामा छौँ ? आन्दोलनले राज्यप्रतिको भरोसा, उद्योग तथा वाणिज्य, कर्मचारीतन्त्र (प्रशासन, सुरक्षा) सबैको आत्मविश्वास र क्षमता लगायत क्षेत्रमा प्रश्न उठेका छन । यसको सम्बोधन कसरी गर्ने हो ? भलै जेन–जी आन्दोलन युवापुस्ताको नेतृत्वमा भयो । तर त्यसले सबै सर्वसाधरणको निराशा र सरोकारको भावनालाई पनि समेटेको छ ।

त्यसैले जेन–जी आन्दोलनले सबै नेपालीको भावनालाई नेतृत्व गरेको छ । यसरी जोड्यो भने जेन–जी पुस्ताले पहिचान गरेको समस्या कसरी समाधान गर्ने ? यसले निम्त्याएको विनाशको क्षतिपूर्ति र पुनःनिर्माण कसरी गर्ने ? त्यसको रणनीति के हो ? सुधारको बाटो जेन–जी आन्दोलनको प्रत्यक्ष रुपमा र त्यसभित्र अन्तर्निहित नेपाली जनाताको निराशा चिर्दै आशा सम्बोधन गर्ने दीर्घकालीन रणनीति के हो ? त्यसरी हेर्‍यो भने हाम्रो जिम्मेवारी ठूलो छ ।

केवल निर्वाचनले मात्रै यो आन्दोलनको मर्म पूरा हुन्छ जस्तो मलाई लाग्दैन । सायद खोजेको पनि त्यो होइन । खोजेको केही बढी हो, तर हुन गइरहेको केही कम देखिएको छ । यसमा तालमेल नमिलाई चुनाव भए फेरि त्यही प्रश्न दोहोरिन्छ । त्यसले चुनावको औचित्यमा फेरि प्रश्न उठ्छ । त्यसकारण सम्बोधन गर्नुपर्ने विषय धेरै छन्। एकक्षणलाई भन्नुहोला, यसमा त नजरअन्दाज गरे हुने, नबोले पनि हुने । मैले नबोले के हुन्छ ? अरु कसैले त बोल्छ त, त्यो घाउ मनमा कतै राखेर बस्यो भने भोलि कतै प्रकट हुन्छ होला । सम्बोधन नभए त भोलिका दिनमा ध्वंसात्मक वा शान्त रुपमा प्रकट होला । त्यस्तो स्पेस हामीले राख्नु हुँदैन ।

विभिन्न दलका मान्छे पनि मसँग सम्पर्कमा आइरहेका हुन्छन् । अहिले तपाईंहरू कसैले आफ्नो अहम्, तुस्टी र कसैको विद्धताको प्रतिस्पर्धाको कुरा गर्ने नै होइन । अहिले हामी जटिल अवस्थामा छौँ । अब के हुन्छ भन्छन्, मलाई के था ? यो एकजनाले भन्न सक्ने कुरा होइन । जुन मार्गचित्रमा हामी गइरहेका छौँ, त्यसबाट पनि निधोको स्पष्ट आभास भइरहेको छैन । यो अनिश्चय वा अनिर्णयको संघारमा हामी उभिएका छौँ । त्यो अस्पष्टता भनेको राज्यले सहन नसक्ने अवस्था हो । राज्य त स्पष्ट हुनैपर्छ, कुन बाटोमा जाने ? त्यो बाटोमा कसरी चाँडोचाँडो हिँड्ने र लक्ष्य प्राप्त गर्ने भन्ने कुरामा रणनीति र कार्यनीतिसहित अगाडि बढ्नुपर्ने हो, त्यो भइरहेको जस्तो लागिरहेको छैन ।

मलाई चिन्ता केमा लागिरहेको छ भने यो मुभमेन्ट आफैँमा ठूलो विस्फोट हो । शान्तिपूर्ण उद्देश्यले गरिएको आन्दोलन अशान्तपूर्ण अन्त्यमा पुगेको छ । क्षति अपूणरणीय भएको छ । त्यसको जिम्मा कसले लिने त्यो देखिँदैन । नाफखोर त अवश्य होलान्, यसको जिम्मा लिन कोही कस्सिएको देखिँदैन । त्यही पनि क्षति त भइसक्यो नि । यसबाट त पुनर्स्थापित हुनु पर्ने नै छ, यो आशा फेरि मार्नु हुने छैन । यो कार्यक्रम म सुन्न चाहन्थेँ । राज्यले भइरहेको क्षतिका लागि अब के गर्ने ?

व्यापारिक संघसंस्थाले ढुक्कसाथ लगानी गर्ने क्षमता गुमायो । यो अवस्थामा देश लगानीका लागि योग्य छैन भन्ने भाव व्यापारीले बोक्यो भने त्यो झन् त्रासादीपूर्ण हो, त्यो कुनै फिगरभन्दा माथि हो । त्यसलाई कसरी सम्बोधन गर्ने ठूलो चुनौती छ । समाधानको नीति अविलम्ब सरकारले लिनुपर्ने थियो र लिनुपर्ने छ । सरकारले आर्थिक क्षेत्र, प्रहरी र कर्मचारीतन्त्रको मनोबल बढाउनु पर्नेछ । जेन–जी आन्दोलनमा कसैको सम्पत्तिमा आगलागी लुटपाट हुँदा भोलि अर्को आन्दोलनमा मैले क्षति व्यहोर्नु पर्दैन भन्ने सुरक्षाको आधार के ? हरेकले त्यो संघारमा भोलि म पनि हुन सक्छु भन्ने त्रासदिमा बाँच्नु पर्‍यो भने देशमा बस्न चाहनेको संख्या बढ्छ त ? ढुक्कको वातावरण बनाउन सरकारले के काम गरेको छ ?

अविलम्ब सरकारले प्याकेज घोषणा गर्नुपर्छ । त्यो कुनै भाषणबाट आउने होइन, त्यो भोग्न सकिने क्रियात्मक आश्वासनबाट मात्रै आउन सक्छ । सरकार मात्र होइन, सम्पूर्ण राज्यसामु धेरै ठूलो चुनौती छ । यो ६ महिनामा चुनाव त गर्न सकिन्छ, तर गुमेको विश्वास र अवसर ती ६ महिनामा पुनर्स्थापना गर्न सकिने खालका छैनन् । अल्पकालीन क्रियाबाट भएका दीर्घकालीन क्षति हो यो । यो क्षतिलाई कसरी सम्बोधन गर्ने, कसरी पुनर्प्राप्ति गर्ने हो, सु–शासनको कुरा यहाँ आउँछ ।

जेन–जी पुस्ताले अहिले मुख्यगरी भ्रष्टाचार नियन्त्रण र सु–शासन दुईवटा शब्द उठाइरहेको सुनेको छु । त्यो हुन्छ किन ? त्यसको पृष्ठभूमि त होला नि ! कानुनमै छिद्र राखेर धराप थापेपछि हुन्छ भष्ट्राचार । त्यो सजिलैसँग कहाँ निणन्त्रण हुन्छ ? । प्वाँल टाल्नुपर्ने हुन्छ । हाम्रोमा नीतिगत, कानुनी, संरचनागत चारित्रिक समस्या छ । हामीले चरित्र निर्माणमा ध्यान दिएकै छैनौँ । हामीले नैतिक शिक्षा कति पढ्छौँ ? पेट पाल्ने शिक्षा त खुबै पढिन्छ । तर चरित्रबारे धेरै पढिन्छ जस्तो लाग्दैन । मौका नपाउँदासम्मका इमान्दार धेरै पाइन्छ । यो ठूलो प्रश्न हो । संविधान, राजनीति, न्याय, चरित्र, ऐन कानुन, प्रक्रिया सबै ठिक हुनु पर्‍यो ।

जेन–जीले मागेको सु–शासन र भष्ट्राचार कुनै वस्तु होइन । माग्नेलाई त्यति सजिलै दिन सकिने विषय होइन यो । यी सबै कुरा ठिक भएपछि बल्ल सु–शासन हुन्छ । यसका लागि राज्यले आफूलाई पुनरावलोकन गर्नुपर्नेछ । त्यसमा राज्यले म राज्य त हुँ, राज्य जस्तो काम गरेको त छु, म सु–शासनको प्रत्याभूति दिन तयार त छु ? भनेर आत्मामूल्याङ्कन गर्ने अवसर यो पुस्ताले दिएको छ । राज्यलाई उसको दायित्वबारे नयाँ पुस्ताले सचेत गराएको छ । तपाईंहरूमा सु–शासन र परिवर्तनका योजनामा अलमल देखिए पनि हुटहुटी छ । संविधान परिवर्तन गर्नुपर्नेछ भन्नुभएको छ, त्यो त एक्लैले भनेर हुँदैन, धेरै जना मिलेर भन्नुपर्छ ।

जिन्दगीभर संविधानकै कुरा गर्नेलाई पनि कसरी परिवर्तन गर्ने भन्ने थाहा नहुन सक्छ । यी प्रश्नको जवाफ दिन धेरै समय लाग्न सक्छ । कुनै त जवाफ दिनै नसक्ने पनि हुनसक्छ । तर पनि यक्ष प्रश्न छ, आगामी दिनमा कुन बाटो हिँड्ने तय गर्नुपर्नेछ । सुरक्षा निकाय, कर्मचारीतन्त्र, आर्थिक, राजनीतिक समस्या छन् । समस्या देखाउन त हामी विशेषज्ञ नै हौँ, तर समाधानका लागि होइनौँ । समाधान एक्लैले गर्न पनि सक्दैनौँ । जेन–जी आन्दोलनको मर्म बुझेर त्यसलाई सम्बोधन गर्ने कसरी ? यसलाई सम्बोधन नगरौँ, जोखिम जस्ताको त्यस्तै छ । गरौँ भने मानसिकता अझै तयार भयो कि भएन भन्नेछ ।

जेन–जीले सरकारी निकाय र व्यवसायीलाई चुनौती दिने, उता उनीहरूले जेन–जीसँग प्रतिशोध साँध्ने गरेर कहीँ पुगिँदैन । प्रतिशोधात्मक, प्रतिरोधात्मक, प्रतिस्पर्धात्मक होइन, निरन्तर रचनात्मक र सहयोगात्मक सर्वपक्षीय संवादबाट हाम्रा एजेण्डा कसरी सम्बोधन गर्ने भन्ने एकतावद्ध भएर सोच्नुपर्ने छ ।

समाधानका सम्भाव्य उपाय र न्यूनतम् सर्त कसरी तय गर्ने सोच्नुपर्नछ । एक पक्षले हार्ने, अर्को पक्षले जित्ने होइन । यसरी हार्ने जित्ने भएर समाधान हुँदैन । सबैले सबैलाई जिताउने र समेट्ने सोचबाट संवाद गर्नुपर्छ । राज्यले मैले त मेरो शुल्क उठाएँ भन्ने उपलव्धि होला, अर्कोले मैले त यति धेरै उद्योग बन्द गराएँ भन्ला । यो कसको खातामा के पर्ने हो, आखिर मर्का पर्ने त राज्य र कर्मचारीलाई होला नि ? कसैले हार्ने र कसैले जित्ने अहमको समय यो होइन । अहम्लाई एकातिर राखेर सद्भाव, सौहार्दता, प्रेम, सहकारिता समन्वय यी धेरै ‘स’लाई मिलाएर संवाद गरौँ ।

तपाईंहरूले संवादको बाटो प्रारम्भ गर्नुभएको छ भने अगाडि बढ्नुहोस् । एउटै श्रृंखलाले यो टुङ्गिने विषय छैन । रचनात्मक र सकारात्मक सोचसहित संवाद गरौँ । म राजनीतिक वृत्तलाई पनि भन्छु । उहाँहरुको बीचमा कसले कति जानेको छ भन्ने कुरा मतलब भएन । समस्या जहाँको तहीँ भएपछि कसले जानेर के अर्थ भयो र ? समस्या त टुङ्गिएन नि । त्यसकारण यो आडम्बर पनि हामी नगरौँ । राज्यको मूल काम के हो, त्यही नै शिथिल भएको अवस्था छ । जुन कारणले राज्य उपस्थित हुन्छ, राज्यले आफूले आफूलाई त्यसरी परिभाषित र प्रमाणित गर्न सकेन । मूल कामबाट नै राज्य जरा उखेलिएको रुख जस्तो भयो भने हाम्रो देशको अस्तित्वमा शंका आउँछ नि ! चुनौती त्यहाँनेर छ । त्यसैले यो चुनौतीलाई सबै मिलेर बुद्धिमतापूर्वक सम्बोधन गर्नुपर्छ । राष्ट्रको जग फेरि जरासम्म हाल्नुपर्छ ।

निजी क्षेत्रले ८५/८६ प्रतिशत आर्थिक तथा रोजगारीको क्षेत्रमा योगदान दिन्छ, त्यो बन्द गर्ने धम्की दिएपछि क्षति त उहाँले पनि व्यहोर्नुपर्छ । त्यसले त एकजना मात्रै होइन। धेरैलाई मार्छ । त्यसकारण यस्तो परिस्थिति हामीले निर्माण गर्ने होइन । यो जिताउने हराउने बेला होइन । यसलाई त सहन सक्ने बिन्दुसम्म कि टार्नुपर्छ कि सम्हाल्नुपर्छ । विवादका कारण र पक्ष छन् तिनलाई मध्यस्थता र मेलमिलापको माध्यमबाट समाधान गर्न सक्नु पर्‍थ्यो नि । त्यो मैले सुन्न पाइनँ । म कुनैको पक्ष लिइरहेको छैन ।

तर मिल्न सक्ने ठाउँसम्म त मेलमिलाप गराउन राज्यले संवाद गर्नुपर्छ । राज्यले संवाद नगरी अन्य अस्त्र प्रयोग गर्नु हुन्न भन्ने मलाई लाग्छ । त्यसकारण यो संवाद अर्थपूर्ण मानेको छु । जेन–जी भाइबहिनी भन्दा हेपेको जस्तो हुन्छ । १६ वर्ष पुगेपछि त ‘पितापुत्र समाचार्य’ बाबुछोरा पनि मित्रवत् बन्नुपर्छ भन्ने हाम्रो मान्यता छ । मैले पनि भाइबहिनी भन्नु हुँदैन । तपाईंहरूले परिवर्तनको रफ्तारलाई निरन्तरता दिनुस् । व्यवसायिक क्षेत्रले पनि आफ्नो जिम्मेवारी बुझेर, शोकबाट मुक्त भएर समाधानको मार्गप्रशस्त गर्ने पुनर्स्थापनाको एप्रोच राखेर काम गरौँ ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ७ : ४९ बजे

भारतबाट १६ बालबालिकाको उद्धार

जनकपुरधाम- भारतका विभिन्न स्थानबाट १६ बालबालिकाको उद्धार गरिएको छ। उनीहरूलाई

मुस्ताङमा हिमपातपछि निरन्तर वर्षा, जनजिवन प्रभावित

मुस्ताङ – मङ्गलबारको हिमपातपछि हिमाली जिल्ला मुस्ताङमा निरन्तर वर्षा भइरहेको

आन्दोलनमा आगजनी र लुटपाटमा संलग्न व्यक्ति गोलीसहित पक्राउ

काठमाडौँ- जिल्ला प्रहरी परिसर भक्तपुरले १६ थान (जङ्गी राउन्ड) एसएलआरको

निर्वाचनपछि महाधिवेशन गर्नु उपयुक्त हुन्छ भन्ने धारणा आएको छः प्रवक्ता महत

ललितपुर – नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको आजको बैठकमा धारणा