पुस्ता फेरियो बद्री पंगेनीको गीत गुनगुनाउने फेरिएनन्… « Khabarhub

पुस्ता फेरियो बद्री पंगेनीको गीत गुनगुनाउने फेरिएनन्…


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 10 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामाजिक सञ्जालका ‘मिम’ (जोक्स) पेजहरूमा अहिले एउटा पोस्ट चर्चामा छ । जहाँ मेमोरी कार्डबारे लेखिएको छ, ‘यो चिज यसरी हरायो कि– यो छँदै थिएन ।’

इन्टरनेटको पहुँच विस्तारले मेमोरी कार्डलाई विस्थापन गर्‍यो । मेमोरी कार्डले क्यासेटलाई विस्थापन गरेको हो ।

५० को दशकको कालखण्ड क्यासेटको प्राइम समय हो । यही क्यासेट युगदेखि इन्टरनेटको आधुनिक जमानाका गायक हुन्– बद्री पंगेनी । आज पनि गायनमा उनी सक्रिय छन् ।

उनी पछिल्लो पुस्ताका कलाकारहरुसँग मेला, महोत्सव र स्टुडियोमा भेटिरहेका हुन्छन् । यो नै उनको व्यस्तता झल्किने प्रमाण हो । पंगेनी सक्रिय गायनमा लागेको २८ वर्ष भयो । उनको पहिलो गीत ०५५ सालमा सार्वजनिक भएको हो ।

आमदर्शकले उनलाई आज पनि उत्तिकै माया स्नेह दिनुका पछाडि मुख्यरुपमा ४ गीत छन्– ‘पीएन क्याम्पस’, ‘ससुरालीमा’, ‘लाऊ चेली सिन्दुर लाऊ’ र ‘अझै नि लोकतन्त्र आको छैन है’ । ती गीतहरु पंगेनीको जीवनबाट मेट्दा उनको परिचय र व्यवसायिक जीवनले दिलाएको कदको पक्कै घटुवा हुन्छ ।

यी गीतमा आएका प्रतिक्रिया हेर्दा लाग्दा– पंगेनीले अझै लामो समय संगीतबाट विश्राम लिन पाउँदैनन् । ती गीत र प्रतिक्रियाबारे चर्चाअघि गायक नबन्दैका पंगेनीलाई चिनौं ।

पंगेनी नवलपरासीमा जन्मिए पनि बाल्यकाल पाल्पा रामपुरमा बिताए । बुवा–आमाको प्रेम विवाह भएकाले आफ्नो जन्म र हुर्काई फरक स्थानमा भएको उनी बताउँछन् ।

भन्छन्, ‘म जन्मिएको ६ महिनापछि बुवा–आमाले पाल्पा लैजानु भएको हो रे !

’बुवाले यो पेसा अँगाल्नुपर्छ भनेर सुझाव दिएको उनलाई स्मरण छैन । कलिला पंगेनीमाथि आमाले ‘छोरो शिक्षक भइदिए हुन्थ्यो’ भनेर राखेको अपेक्षा राष्ट्रिय गायक पंगेनीको स्मरणमा ताजै छ ।

हुर्किएको गाउँ गैटारको परिवेशले आफूलाई गायनमा थप उत्सुकता थपेको उनको बुझाइ छ। सुनाउँछन्, ‘रात परेपछि मादल बज्न सुरु हुने गाउँ हो, त्यो । त्यही गाइन्थ्यो । सबैले स्वर राम्रो छ भन्थे । म त्यसैमा खुसी ।’

तर, पंगेनीमा गायक नै बन्ने भन्ने दृढ सपना थिएन । उनले ब्रिटिस आर्मीमा भिड्ने प्रयास पनि गरे । तर, तौल र छाती आकारको मापदण्डले उनलाई चुस्ता लगाएर बन्दुक बोक्ने पेसा अँगाल्न रोक्यो ।

०५५ सालमा उनी काठमाडौं आए । यो पटक भने उनी भविष्य बनाउन होमिएका थिए । काठमाडौं आउँदै गर्दा एउटा विकसित घटना उनले सायदै बिर्सन्छन्- बुवाले जग्गा बेचेको ।

नोकरी नपाउने बेलासम्म काठमाडौंको खर्चका लागि पंगेनीलाई बुवाले २० हजार रुपैयाँ दिएका थिए । उनी भन्छन्, ‘बुवाले २ रोपनी बारी ४० हजारमा बेच्नुभएको थियो । अनि मलाई २० हजार दिएर काठमाडौं पठाउनु भएको हो ।’

यसरी आफू छिमलका ४ जना साथीसहित पंगेनी काठमाडौं छिरेका हुन् । त्यो समूहमा उनीभन्दा सिरियर एक जना थिए – कलाकार खेम राना ।

दोहोरीको जागिर

पाल्पाबाट काठमाडौं आएर पंगेनीहरुको बास सुन्धाराको एक होटलमा भयो । आएकै दिन साँझ बजार डुल्ने क्रममा उनीहरुको आँखा सुन्धाराकै दोहोरी साँझमा पर्‍यो ।

दोहोरी भनेपछि मोहित भइहाल्ने पंगेनी साथीहरु लिएर भित्र छिरे । दोहोरीका ग्राहकले पनि गाउन मिल्ने सुविधा थाहा पाएपछि पंगेनीले माइक समाते । उनी भन्छन्, ‘गाउन मिल्छ भन्ने थाहा थिएन । त्यहाँका कर्मचारीलाई सोधेको मिल्छ भनेपछि गाएँ ।’

दोहोरी साँझका मालिकलाई पंगेनीले स्वरबाट मोहित पारे । गीत सुनेपछि पंगेनीलाई ती कडा र ठाडै बोलीमा बोलेका मालिकले ‘ए केटा राम्रो गाउँदो रहिछन्, यहाँ काम गर्छस्?’ भनेर जागिरको प्रस्ताव गरेको सुन्दर क्षण उनले भुलेका छैनन् ।

जागिरको प्रस्ताव आएपछि पंगेनी खुसी हुँदै निस्किए । तर, भोलिपल्ट जागिर खान दोहोरी साँझमा पुग्दा मालिक भेटेनन् । उनी थप्छन्, ‘मालिकले जागिर दिन्छु भनेर आएको भनेर कर्मचारीहरुलाई भनेँ पनि । उनीहरुले हामीलाई केही भन्नुभएको छैन भने ।’

भोलिपल्टै उनले जागिर पाएनन् । पहिलो दिन फर्किए पनि पंगेनीमा दोस्रो दिन ती मालिक भेटिने आशा थियो । तर, एक साता निरन्तर जाँदा पनि नभेटेपछि उनी निराश बने । ‘म त हरेश नै खाएँ नि । हरेक दिन जान्छु भेट्दिन । आशा नै मारौं कि जस्तो भो नि,’ उनी ती दिन सम्झन्छन् ।

एक साताभन्दा बढी निरन्तर दोहोरी साँझ धाउन लागेपछि पंगेनीले ती मालिक भेटे । जागिर नपाएको कुरा सुनाएपछि मालिकले ‘अझै जागिर पाएको छैनस् ?’ भनेर दिएको ढाडसले ज्यानै फुरुङ्ग भएको त्यो क्षण उनी के भुल्थे !

त्यही ‘पुकार दोहोरी साँझ’बाट पंगेनीले व्यवसायिक गायन यात्रा सुरु गरेका हुन् । उनले गायन यात्राको आफ्नो मिल्ने साथी गायक राजु परियारलाई त्यहीँ भेटेका हुन् । उनी भन्छन्, ‘मेरो विचारमा राजुले पनि त्यहाँ जागिर पाएको एक साता पनि भएको रहेनछ ।’

यही दोहोरी साँझले दिएको आवासमा पंगेनी र राजुले रुम सेयर गरेका हुन् । पंगेनी भन्छन्, ‘हामीले ५-७ वर्ष नै रुम सेयर गरेको हो ।’

‘अनि तलब कति हुन्थ्यो नि ?’ पंगेनी भन्छन्, ‘१ हजार ।’

पहिलो एल्बम

दोहोरी साँझमा काम गर्दै गर्दा गायक भगवान भण्डारीको सहजीकरणले एक वर्षभित्र एल्बम निकाल्न सम्भव भएको पंगेनीको बुझाइ छ ।

हुन पनि त्यसबेला गीत रेकर्ड गराउन सहज थिएन । क्यासेटमा गीत निकाल्नुपर्ने भएकाले लगानी धेरै लाग्थ्यो । ती क्यासेट बजारमा पुर्‍याउन कम्पनी समात्नुको विकल्प थिए ।

गायक भण्डारीको सहजीकरणमा पहिलो एल्मब निकाल्न ‘धवलागिरी क्यासेट सेन्टर’ले लगानी प्रति उनी कृतज्ञ छन् ।

‘क्यासेट निकाल्न धवलागिरीले लगानी गर्ने भयो । तर एउटा सर्त राखेको थियो । बिक्री भएको एक क्यासेटबाट पाँच रुपैयाँ रोयल्टी पाउने । तर रोयल्टीबाटै लगानी भएको पैसा काटिने सर्त थियो,’ उनी भन्छन् ।

यही सर्तमा पंगेनीले आफ्नो पहिलो एल्मब ‘तानसेन खस्यौली’ निकालेका हुन् । त्यस एल्मबमा ‘तानसेन खस्यौली’, ‘पाल्पा रामपुर फाँट’, र ‘आउन मेरो छेउ’ गरी तीन गीत समावेश थियो ।

‘एल्मब कस्तो चल्यो त ?’ बद्री भन्छन्, ‘१८ हजारप्रतिको मैले रोयल्टी बुझेको थिएँ ।’

पंगेनीलाई हिट बनाउने एल्बम ‘पीएन क्याम्पस’

‘पीएन क्याम्पस, आऊ बस मायालु गरौं टाइम पास’ गीत ‘पीएन क्याम्पस’को हुक लाइन हो ।

‘किन एल्बमकै नाम ‘पीएन क्याम्पस’राखियो त ?’ भन्ने प्रश्नमा पंगेनी दुई कारण देखाउँछन् । पहिलो : स्मृति, दोस्रो : व्यवसायिक रणनीति ।

मध्य पश्चिमका विद्यार्थीका लागि चर्चित र सपनाको अध्ययन गन्तव्य थियो- पीएन क्याम्पस । सोहीकारण पंगेनी पनि त्यहाँ भर्ना भएका थिए । उनी भन्छन्, ‘म भर्ना भएँ तर त्यहाँ पढिनँ ।’

व्यवसायिक गायक बन्नुअघि त्यस क्याम्पसमा अर्का गायक भगवान भण्डारीसँग गएर गीत गाएको स्मृति पनि पंगेनीसँग थियो

अर्को धेरै विद्यार्थी भएकाले क्यासेट बिक्री हुने रणनीति पनि अपनाएको उनी स्पष्ट स्वीकार गर्छन् ।

रणनीति सफल भयो । एल्बम हिट भयो । त्यही गीतले पंगेनीलाई गायनमा स्थापित गरायो ।

पंगेनी यो गीतमार्फत् कसरी र कुन स्थानका साथ दर्शकको मनमा बसेका छन्, त्यो युट्युबको कमेन्ट हेर्दा नै प्रष्ट हुन्छ ।
यो गीतबारे आएका विशेष प्रतिक्रिया यस्ता छन् ।

विष्णु भण्डारी : यो क्यासेट बजारमा आउँदा एक दिनमा १८ पटक सुनेको थिएँ ।

सुरेश सिंह विष्ट नोस्टाल्जिक हुँदै लेख्छन्, ‘कस्तो याद आयो ती दिनहरुको । २०५९ सालमा म १८ वर्षको थिएँ । अंकलको टेपमा यो क्यासेट ओल्टाइ पल्टाइ सुन्थ्यौं । कहाँ गए ती साथीहरु, कहाँ गए ती दिनहरु, आफू फेरिएन, माया फेरिएन । माया गर्नेहरु फेरिन्छ माया उस्तै हुन्छ युग युगसम्म ।’

दीपक केसीले यो गीतलाई भुल्नै सकेका रहेनछन् । १७ वर्षको पर्खाइपछि युट्युबमा सुन्न पाएपछि उनी लेख्छन्, ‘१७ वर्ष भयो युट्युबमा खोजेको । आज २०८२ सालको कुकुर तिहारको दिन भेटेँ । आफैँ अगाडि आयो ।’

यसरी पंगेनीलाई आजको दिनमा दर्शकहरुले नोस्टाजिक हुँदै यो गीतमार्फत् खोजिरहेका छन् ।

उनी आफैँसँग पनि यो गीतको सफलताले दिएका सुखद स्मरणहरु छन् । ‘यो गीत हिट भएपछि पाएको रोयल्टीले मैले घरमा टिनको छाना लगाएँ । बुवाले लिएको बैंकको ऋण तिरेँ,’ उनी ती दिनबारे सुनाउँछन् ।

जीवनमा यति प्रभाव पार्ने गीतसँग बद्री सन्तुष्ट भने छैनन् । कारण– एक तप्काले आलोचना गरेको थियो, ‘क्याम्पस माया लगाएर टाइम पास गरौं भन्ने गीत गाउनु हुँदैन ।’ अर्थात् उनीहरूले लुक लाइनमै खोट देखाए तर, गीत चल्यो ।

यही आलोचना सम्झेर उनी भन्छन्, ‘मलाई अहिले नगाएको भएँ हुन्थ्यो भन्ने महसुस हुने गीत यो पनि हो ।’

यो उनको फगत एउटा विचार होइन । उनकै बालीबाट प्रष्ट यो हुन्छ कि– झन्डै तीन दशक लामो व्यवासायिक अनुभवले दिएको चेतना हो, अनुभव हो र आलोचना प्रतिको सम्मान हो ।

चौथो एल्मब ‘सुसुरालीमा’

‘ससुरालीमा, ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा’ यो गीत नै पंगेनीलाई धेरै दर्शकमाझ फैलाएको हो ।

यो गीत उनको विशेषण नै बनेको छ । अनुहार र नामले नचिन्नेले उनलाई यस गीतको गायक भन्दा चिन्छन् ।

यसबारे एउटा रोचक कुरा । यस एल्मबको कभरको तस्बिर एक घर छ, त्यो पंगेनीकै वास्तविक ससुराली घर हो । पंगेनी भन्छन्, ‘त्यो, रामपुरमा भएको मेरो ससुराली घर हो ।’

यो सुपरहिटमा एल्मबको तीन लाख प्रति क्यासेट बिक्री भएपछि आफूले रोयल्टी लिएको उनी बताउँछन् । भन्छन्, ‘३ लाख प्रति बिक्री हुँदा मैले १५ लाख रुपैयाँ रोयल्टी लिएको थिएँ ।’

त्यही रोयल्टीको नगदले पहिलो पटक काठमाडौंमा उनले घडेरी जोडेका हुन् । भन्छन्, ‘कोटेश्वरमा पाँच आना जग्गा किनेको थिएँ ।’

यो गीत भने ‘पुकार दोहोरी साँझ’मा जागिर गर्न जाँदा सुन्धारास्थित सेन्ट्रल जेल अगाडि पुगेपछि फुरेको उनलाई स्पष्ट याद छ ।

उनी सेयर गर्छन्, ‘भगवान भण्डारी दाइले एउटा लय बनाइदिनु भएको थियो । त्यही लयमा शब्द खेलाउँदै आएको थिएँ । त्यहाँ आएपछि ससुरालीमा ख्याल ख्लायमा दिल बस्यो कान्छी सालीमा भन्ने शब्द फुर्‍यो ।’

पछि गीत निस्किएपछि भण्डारीले दिएको प्रतिक्रिया पनि उनले भलुेका छैनन् । ‘भाइ भाका बिगारेछौं,’ उनी भगवानले दिएको प्रतिक्रिया खबरहबलाई सुनाउँछन् ।

यस गीतमा आएका प्रतिक्रियाहरु अझ हेर्न लायक छन् । गणेश पाठक लेख्छन्, ‘बागलुङ बजारमा दुई केजी अदुवा बेचेर यो क्यासेट किनेको हुँ । अझै याद आउँछ ।’

विरेन्द्र बोहोराले एक वर्षअघि मात्रै प्रतिक्रिया दिएका छन्, ‘म मात्रै १६ सालको युवा थिएँ ।’ अर्थात्, उनलाई आफ्नो किशोर अवस्था स्मरण गर्न यो गीतको बाहाना मिलेको छ ।

जगन्नथा रानाले यो गीतबारे एउटा संयोग सेयर गरेका छन् । उनले लेखका छन्, ‘यो गीत सुन्दा मेरो जति उमेर थियो । अहिले मेरो विवाह भएर छोराको उमेर त्यति भइसक्यो ।’

जगन्नाथले आफ्नो दुई पुस्ताको संयोग सेयर गर्न यो गीतको साहारा लिए । भनेपछि, दर्शकको स्मृतिमा यो गीतको छाप कस्तो रहेछ त ? पंगेनी स्वयंले पनि यो मनन गर्नुपर्ने विषय हो, उनले गरेका पनि छन् ।

गीत ‘लाउ चेली सिन्दुर लाउ
– महिला मर्दा पुरुषले चाहिँ अर्को बिहे गर्ने अरे, पुरुष मर्दा महिलाले चाहिँ सेतै लाउनु पर्ने अरे
– महिलाले पनि पाउनुपर्छ यो संसारमा गरी खानु, यदि म मरे भने अर्को बिहे गर सानु

माथिका शब्द पंगेनीले ‘लाउ चेली सिन्दुर लाउ’ भन्ने गीतमा समावेश गरेका छन् । यिनै यथार्थवादी र उदारवादी लाइनले यो गीतलाई जीवन्त बनाएको हो ।

‘मैले गाएको मध्ये एक मात्रै गीत रोज भन्यो भने यही रोज्छु,’ पंगेनीको यो भनाइबाटै उनका लागि यो गीत कति विशेष छ भन्ने प्रष्ट हुन्छ ।

यो गीत चाहिँ कसरी फुर्‍यो त पंगेनीलाई ?

उनी स्पष्ट स्मरण सुनाउँछन्, ‘देशमा माओवादी जनयुद्ध थियो । राज्य पक्षबाट पनि र द्वन्द्वरत पक्षबाट पनि पुरुष मारिन्थे । समाचारमा तिनै कुरा प्रमुख हुन्थ्यो । श्रीमान्को मृत्युमा भावविहल भएका नारीहरुका तस्बिर छापिन्थेँ । अनि लाग्यो । आखिर दिदी-बहिनी नै एक्ला हुने रैछन् । दिदी बहिनीकै सिउँदो पुछिने रहेछ । उनीहरुकै साथ र भरोसा ढल्ने रहेछ भन्ने लाग्यो । वियोगको पीडा त छ नै । एकल महिलालाई पुरुषवादी समाजमा बाँच्न झन् मुस्किल हुने देखियो । अनि गीत लेखेँ ।’

६० को दशकको सुरुवाती वर्षमा यो गीत सार्वजनिक भएको थियो । जुन बेला विधवा महिलाले अर्को घरबार गर्ने विषय आम नेपाली चेतनाभन्दा निकै टाढा थियो ।

त्यसको दुई दशकपछि वर्तमानमा पनि विधवा नारीले विवाह गरेको विषयलाई विशेष घटनाका रुपमा हेरिन्छ । त्यस अवस्थामा सार्वजनिक यो गीत अहिले उदारवादी विचार बोकेको रुपमा साबित भएको छ ।

पंगेनी भने यो गीतले आलोचना र सम्मान दुवै पाएको बताउँछन् । उनी चितवनको एक घटना सेयर गर्छन्, ‘म मञ्चमा गीत गाउँदै थिए , एक आमाले उठेर विधवालाई सिन्दुर र रातो लगाऊ भन्ने तँ भनेर गाली नै गर्नुभयो ।’

दाङको घटना भने उनका लागि सम्झन योग्य बन्यो । जहाँ मञ्चमै उनलाई भेट्न १०–१५ जनाको विधवा महिलाहरुको टोली पुगेको थियो । उनी सुनाउँछन्, ‘मञ्चमा नै मलाई भेटाउने व्यवस्था गरिएको रहेछ । उहाँहरुले भेट्नुभयो । तपाईंको गीतको प्रवाहले हामीलाई छुट्टै ऊर्जा मिल्यो र भेट्न आएको भन्नुभयो । उहाँहरुले रातो लुगा र सिन्दुर नै लगाउनु भएको थियो ।’

उनीहरुले दिएको ‘टोकन अफ लभ’ पंगेनीले अझै सुरक्षित राखेका छन् ।

यही गीत लाइभ गायनका क्रममा पंगेनीले थुप्रै दर्शकलाई रुवाएका छन् । उनी भन्छन्, ‘कति वटा कार्यक्रममा दर्शकहरु रुनुभयो गन्ती नै छैनन् । कहिले उहाँहरु बढी रोएर मैले पनि मन थाम्न नसकेको घटना छ । जसले प्रस्तुति नै पनि रोकेको छु ।’

यो गीतसँग जोडिएको धनगढीको स्मरण उनका लागि अझ विशेष छ । याे धनगढी महोत्सवको पहिलो संस्करणको किस्सा हो ।

‘यो गीत गाएपछि त्यहाँ आउनुभएका सबै दर्शक रुनुभयो । सायद रुन बाँकी कोही थिएनन् होला । सुरक्षाका लागि खटिएका प्रहरीहरु पनि रुनुभयो,’ उनी भन्छन्, ‘यो मैले कहिल्यै नबिर्सने घटना हो ।’

त्यही कारण पनि उक्त महोत्सवले हरेक वर्ष आफूलाई प्रस्तुति दिन बोलाउने उनको बुझाइ छ । उनी भन्छन्, ‘म त्यो महोत्सवमा हरेक वर्ष गएको छु ।’

यो गीतले छोडेको प्रभाव युट्युबमा आएका प्रतिक्रियाले नै प्रष्ट पार्छ । लक्ष्मी भुसाल सापकोटा लेख्छिन्, ‘यो गीतले गर्दा नै आज हाम्रो समाजमा सबै नारीहरु श्रीमान् नभए पनि रातो सारी, चुरा–पोते लगाएर हिँड्नु भएको छ । यो गीतबाट नै परिवर्तन भएको हो ।’

लक्ष्मीको विश्लेषण जस्तो यो परिवर्तनको कारक यही गीत मात्रै नभएको विचार राख्छन् । भन्छन्, ‘गीत नै परिवर्तनको कारण होइन । परिवर्तनको आवाजमा यो गीतले स्वर थप्यो होला ।’

लामो समयपछि यो गीत सुनेर ललित मगर नोस्टाल्जिक हुन्छन् । र, लेख्छन्, ‘जब यो गीत नयाँ एफएम माछापुच्छ्रे अन्नपूर्ण कालिका एफएमा बज्दै गर्दा मुटु छेडेर गएको याद आउँछ ।’

त्यो समयमा नारीहरुको ठूलो मध्येको एक पति वियोगबारे आवाज उठाएर पंगेनी जिम्मेवार गायकमा प्रस्तुत भएका हुन् । उनी यसलाई ‘आफूले पेसागत कर्तव्य र जिम्मेवारी मात्रै पूरा’ गरेको रुपमा लिइदिन आग्रह गर्छन् ।

गीत ‘अझै नि लोकतन्त्र आको छैन है’

– त्रिशुलीको किनारमा बालुवा चाल्नेहरु, सोलुमा भारी बोकी बालबच्चा पाल्नेहरु
– दुई मुठी चामलमा साहुको लागु सिउनेहरु, जति फलाम ठोके पनि दुखी जीवन जिउनेहरु

यी लाइनहरु पंगेनीको स्वर रहेको एल्बम ‘जनताको शासन’ मा समावेश गीत ‘अझै नि लोकतन्त्र आको छैन है’ बोलको गीतमा समेटिएका शब्द हुन् ।

यो गीतका दर्शकहरु तीन पक्षमा बाँडिएका छन्– लोकतन्त्रको पक्ष, राजतन्त्रको पक्ष र कुनै तन्त्रको पक्ष नलागी पंगेनीको गीतलाई मन पराउने ।

यस गीतमा उनीहरुले आफूले पछ्याउने विचारअनुसारको प्रतिक्रिया दिएका छन् ।

यो गीत बन्नुको कारणबारे उनी भन्छन्, ‘नेताहरु प्रधानमन्त्री म बन्ने भनेर कुर्सी तानातान गर्दै थिए । त्यो बेला मैले लेखेको हो । जनताको मुद्दा भन्दा पनि आफ्ना, कार्यकर्ता र नेताहरुको व्यवस्थापनमा केन्द्रित देखिन्थे । त्यो बेला मैले लेखेको हो ।’

कागजमा आएको परिवर्तन जनताले महसूस गर्न सकेनन् भनेर यो गीत गाएको उनी स्पष्ट छन् ।

उनी भन्छन् ‘मैले यो गीतमा भन्न खोजेको नै देशको माया भएका नेताहरुले जनताको पक्षमा काम गर्नुपर्छ भन्ने हो । गणतन्त्र आए पनि फलाम पिट्ने, लुगा सिलाउने वा श्रमजीवीको लागि परिवर्तन भएको छैन भन्ने हो ।’

यो गीत गाएपछि धेरै फोनबाट धम्की आएको उनी बताउँछन् । भन्छन्, ‘धम्की त कति आयो आयो । कतारको एक कार्यक्रममा गाएपछि झापाका एक मान्छेले अन्य कार्यक्रममा यो गीत सुनेँ भने हात–खुट्टा भाँच्छु भन्दै धम्की दिएका थिए । तर, त्यहाँको बाँकी चार कार्यक्रममा पनि यो गीत गाएँ ।’

भारतमा प्रस्तुति दिने क्रममा एक व्यक्तिले मञ्चमै उक्लिएर हात हालेको घटना पनि उनीसँग छ । उनी सेयर गर्छन्, ‘मुम्बईमा यो गीत गाउँदा एक व्यक्तिले मञ्चै उक्लिएर मलाई हात हाले । पछि मलाई बचाउन उत्रिएकाहरुले उसैलाई पिटे ।’

यो गीत गाइदिएकामा पंगेनीप्रति कृतज्ञ हुने दर्शक भने कम छैनन् । गोपाल भण्डारी लेख्छन्, ‘यो गीत सुन्दा साच्चै नै आँखा रसायो ।’

अर्थात्, आजको दिनमा उक्त गीत सुन्दा रुने दर्शक छन् ।

यो गीत युट्युबमा सार्वजनिक भएपछि रमेश थापा लेख्छन्, ‘अति लोकप्रिय गीत सुन्न पाएकामा गर्व छ । साउदी अरबबाट धन्यवाद टक्राउँछु ।’

यो गीतमा पंगेनी दुखी गरिब, शोषित र कमैयाको पक्षमा उभिएका छन् । भुटानी शरणार्थीलाई घर फर्काउने मागसहित उनी लोकतन्त्रको पक्षधर देखिन्छन् ।

उनी आफैँ पनि गीतको भावअनुसार देशको राजनीतिले निकास निलिँदा सुन्तुष्ट छैनन् ।

तथापि, उनलाई यो गीतबाट सम्झने दर्शक मनग्य छन् । क्यासेटका दर्शक इन्टनेरटको युगमा युट्युबमा आएर नोस्टाल्जिक हुँदै कमेन्ट गरिरहेका छन् ।

गीतमार्फत् नै आफूलाई दुई दशकपछि स्मरण गराउन सक्नु भनेको पंगेनीको ‘व्यवसायिक जीवनले सार्थकता पाउनु हो’ । यस विषयमा अन्य बहस जरुरी छैन ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ८ : ३३ बजे

तमु ल्होसारले सद्भावलाई थप प्रगाढ बनाउन सहयोग पुग्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले तमु ल्होसारले परस्पर आत्मियता, भाइचारा, मेलमिलाप

नेपालगञ्ज भन्सारबाट पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

बाँके– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो

संस्कृतिले राष्ट्रिय एकताको प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याउँछ : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले मौलिक पर्वले

ट्याङ्कर दुर्घटना हुँदा महेन्द्र राजमार्ग अवरुद्ध

रौतहट– पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–धन्सार सडकखण्डको लमाह पुल नजिक आज

व्यक्तिगत लाभभन्दा माथि उठेर रास्वपासँग एकता : कुलमान

काठमाडौं – कुलमान घिसिङले व्यक्तिगत लाभमन्दा माथि उठेर उज्यालो नेपाल