जग्गाधनी प्रमाणपत्र पाउने आशमा महोत्तरीका भूमिहीन « Khabarhub

जग्गाधनी प्रमाणपत्र पाउने आशमा महोत्तरीका भूमिहीन


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – आफ्नो जग्गा भन्ने कानुनी प्रमाण नभएका महोत्तरीका भूमिहीन अब जग्गाधनी प्रमाणपत्र  पाउने आशमा छन् । 

जिल्लामा सरकारले गठन गरेको भूमि समस्या समाधान आयोगले काम थालिएको बताएपछि अबचाहिँ लालपुर्जा पाइने आश भूमिहीन सुकुमबासीमा जागेको हो ।

 ‘आफ्नो भनेर पुस्तौँदेखि झुप्रोमा बसेका त छौँ, तर हामीसँग लालपुर्जा छैन’, भङ्गाहा–४ रामनगरको दलित बस्तीका जुगल सदा मुसहरले भने, ‘अब गरिबलाई लालपुर्जा दिने रे भन्ने सुन्छौँ, त्यसो भए हामी पनि लालपुर्जावाला हुन्थ्यौँ ।’

पछिल्लो पटक जिल्लामा भूमि समस्या समाधान आयोगका महोत्तरी अध्यक्ष पीताम्वर महतोले भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र दिने तयारी थालिएको बताएपछि यी गरिबमा नयाँ आश जागेको हो ।

जिल्लामा यसअघि पनि कैयौँ पटक यस्ता आयोग बने पनि जग्गाधनी प्रमाणपत्र नपाएका भूमिहीन यस पटक पनि हिस्स परिने हो कि भन्ने संशयमा नै छन् । जिल्ला आयोगले भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र दिन यसअघि प्राप्त आवेदनहरूमा जाँचबुझ थालिसकिएको जनाएको छ ।

‘हामीले काम थालेका छौँ’, अध्यक्ष महतोले भने, ‘पहिलो चरणमा यसअघि प्राप्त निवेदनमा जाँचबुझ भइरहेको छ ।’

जिल्लामा यसअघि ज्ञानबहादुर गोले अध्यक्ष रहनुभएको आयोगमा प्राप्त निवेदनहरुमाथि अहिलेको आयोगले काम थालेको उनले स्पष्ट पारे । त्यतिखेर गोले अध्यक्षताको आयोगको कार्यकालमा जिल्लामा आठ हजार दुई सय ८२ अव्यवस्थित बसोबासीले भोगचलनको आधारमा जग्गाधनी प्रमाणपत्र पाउन आवेदन गरेका थिए । 

यसैगरी भूमिहीन सुकुमबासीका दुई हजार दुई सय ११ र भूमिहीन दलितका एक हजार छ सय ७४ आवेदन रहेका अध्यक्ष महतोको भनाइ छ । यस्ता विभिन्न प्रकृतिका गरी १२ हजार दुई सय ८२ पुराना आवेदन रहेका आयोगले जनाएको छ ।

आवेदन परेकामध्ये बर्दिबास–२ बुद्धचोकका १५ भूमिहीन दलित र ३८ भूमिहीन सुकुमबासी गरी ५३ परिवारले मात्र जग्गाधनी प्रमाणपत्र पाएका छन् । 

यसैबीच, २०५४ सालको आयोगले आफ्ना घर रहेको र भोगचलन रहेको जग्गा कहाँकताका मान्छेलाई जग्गाधनी प्रमाणपत्र बाँडेर आफूहरुमाथि अन्याय भएको आरोप लगाएका भङ्गाहा–४ थारुटोल बनराका सुकुमबासीले पनि यसपालि न्याय पाउने आश गरेका छन् ।

आयोगका अध्यक्ष महतोले प्रारम्भिक चरणमा यसअघिका आवेदनमाथि काम थालेर अघि बढ्ने स्पष्ट पार्दै छुटेकाहरुको हकमा फेरि आवेदनको मौका दिइने बताएका छन् । आयोगको अहिलेको तत्परताले भूमिहीन सुकुमबासी प्रमाणपत्र पाउने आशमा छन् ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ९ : ३४ बजे

एनसेल फाउन्डेसनले १०० विद्यार्थीलाई ‘एसईई छात्रवृत्ति’ दिने

काठमाडौँ – एनसेल फाउन्डेसनले यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई)

खानीडाँडा-थामर्खक सडकमा कालोपत्र सुरु

खोटाङ– खानीडाँडा विमानस्थलदेखि–याम्खा–रातमाटा–पञ्चमीबाट दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय हुँदै थामर्खक जोड्ने

देशकै पहिलो ‘योग नगर’ घोषणा हुँदै चाँगुनारायण

भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिकाले आफ्नो नगरलाई ‘योग नगर’ घोषणा गर्ने

मन्त्रिपरिषद् बैठक आज ४ बजे बस्दै

काठमाडौँ – मङ्गलबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । सरकारका

पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह

भक्तपुर– नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले दैलेखमा भइरहेको पेट्रोलियम