आवासीय चिकित्सकलाई निर्वाह भत्ता- ४८ हजार दिनुपर्ने सिफारिस लत्याएर २५ हजारमा टार्‍यो सरकारले | Khabarhub Khabarhub

आवासीय चिकित्सकलाई निर्वाह भत्ता- ४८ हजार दिनुपर्ने सिफारिस लत्याएर २५ हजारमा टार्‍यो सरकारले

अत्यावश्यकीय स्वास्थ्य सेवा पनि ठप्प पार्ने चेतावनी


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पारिश्रमिकलाई लिएर देशभरका आवासीय चिकित्सक आन्दोलित भएका छन् ।

नेपालमा जागिरको सुरक्षा नभएको भन्दै चिकित्सकहरू विदेश पलायन हुने क्रम बढिरहेका बेला सरकारको निर्वाह भत्तालाई लिएर आवासीय चिकित्सक चरणबद्ध आन्दोलमा छन् ।

यही माघ १४ गते मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र शिक्षामन्त्री विद्या भट्टराईको सहमतिमा निर्वाह भत्ता तोकिएको थियो । उक्त निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने तयारी भइसकेको छ ।

जसमा सशुल्क निजी मेडिकल कलेजमा अध्ययन गर्ने आवासीय चिकित्सकको निर्वाह भत्ता पहिलो वर्ष न्यूनतम् मासिक २५ हजार, दोस्रो वर्ष ३० हजार र तस्रो वर्ष ३५ हजार दिनुपर्ने उल्लेख छ ।

तर यो निर्णयविरुद्ध मंगलबारदेखि नै ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’को नाममा आवासीय चिकित्सकहरूले चरणबद्ध आन्दोलन थालेका छन् । उनीहरूले शुक्रबार बिहान ९ बजेदेखि १० बजेसम्म ‘पेन डाउन’ र कार्यरत संस्थामा एप्रोनसहित प्रदर्शन गरे ।

काठमाडौं उपत्यकाको माइतीघर मण्डलमा दिउँसो १ बजे प्रदर्शन भयो । उनीहरूले माग बेवास्ता गरिए अत्यावश्यकबाहेक सबै सेवा ठप्प पार्ने चेतावनी दिएका छन् । देशभरका ४० अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले आन्दोलनमा ऐकेबद्धता जनाएका छन् ।

कलेजसँग सरकार मिलेको आरोप

१६ महिनाअघि स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिसँगको सहमति कार्यान्वयनमा अघि बढिरहेका बेला त्यसकै बेवास्ता गर्दै सरकारले गलत निर्णय लिएको उनीहरूको आरोप छ ।

युवा चिकित्सक नेपालकी सचिव लोकरत्ना ज्ञवालीले भनिन्, ‘सरकार आफैंले विज्ञ सम्मिलित कार्यदल बनाएर आवासीय चिकित्सकको सेवासुविधाबारे सल्लाह माग्यो । अहिले विज्ञकै सल्लाह नमानेर स्वास्थ्य र शिक्षामन्त्रीले आफुखुसी गरेको निर्णय हामीलाई स्वीकार्य छैन ।’

सरकारको निर्णय निजी मेडिकल कलेजको पक्षमा रहेको उनको आरोप छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. टंकप्रसाद बाह्रकोटी संयोजकत्वमा गठित चिकित्सक तथा स्वास्थ्यकर्मीको सेवासुविधा सुधारसम्बन्धी अध्ययन कार्यदलको प्रतिवेदनमा निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकको निर्वाह भत्ता सरकारीसरह हुनुपर्ने भनिएको छ ।

त्यहीअनुसार न्यूनतम् पारिश्रमिक ४८ हजार हुनुपर्नेमा निजी मेडिकल कलेजको कुरा सुनेर २५ हजार मात्रै तोकेको उनीहरूको आरोप छ ।

सरकारी मेडिकल अधिकृतसरह निर्वाह भत्ता दिनेबारे गत भदौमै ६ बुँदे सहमति भएको स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संर्ष समितिले जनाएको छ ।

सहमतिपछि स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिवको संयोजकत्वमा अध्ययन गर्न समिति बनेको थियो । समितिले निर्वाह भत्ता सरकारी मेडिकल अधिकृतसरह हुनुपर्ने भनेको थियो ।


त्यही आधारमा स्वास्थ्य मन्त्रालयले चिकित्सा शिक्षा आयोगलाई पत्राचार गरेर निर्वाह भत्ता सरकारी मेडिकल अधिकृतसरह दिने प्रतिबद्धता गराउन भनिएको थियो ।

मन्त्रालयको पत्राचारपछि आयोगले यो वर्षदेखि आत्ममूल्याङ्कन फारम भर्दा निर्वाह भत्ता ४८ हजार रुपैयाँ दिने प्रतिबद्धता गर्नुपर्ने भनेको थियो । तर, उक्त सूचनालाई बेवास्ता गरी निजी मेडिकल कलेजले पीजी सिटको कृतिम अभाव सिर्जना गर्ने गलत प्रयास गर्दै त्यसलाई आफ्नो सौदाबाजीका रुपमा प्रयोग गरेको समिति संयोजक डा. शेषराज घिमिरेले बताएका छन् ।

अहिले पनि लगातार आवासीय चिकित्सक आन्दोलित हुँदा सरकारले मागबारे सुनुवाइ गर्ने लक्षण नदेखाएकाले आन्दोलन जारी रहने उनीहरूले बताएका छन् ।

बिरामीलाई असर नपर्ने गरी अहिलेको आन्दोलन चलिरहेको जनाउँदै बेवास्ता गरीरहे देशभर आकस्मिकबाहेक सबै सेवा ठप्प पार्न बाध्य हुने संघर्ष समितिले चेतावनी दिएको छ ।


विवाद के हो ?
आठौं तहको सरकारी चिकित्सकसहर निर्वाह भत्ता निजी आवासीय चिकित्सकलाई पनि दिनुपर्ने निर्णय आयोगले गरेको थियो । तर, निजी मेडिकल कलेजले त्यो निर्णय नमानेको आयोगले उल्लेख गरेको छ ।

निर्वाह भत्ता उपलब्ध गराउन सिट निर्धारणअगाडि नै कलेजहरूले आत्ममूङ्कन फारम भर्नुपर्ने हुन्छ। जुन ती कलेजले भर्न नमान्दा अहिलेको अवस्था आएको आयोगकी सूचना अधिकारी सरिताकुमारी खतिवडाले बताइन् ।

उनका अनसुार आवासीय चिकित्सकको यसै महिनाको २६, २७ र २८ मा परीक्षा हुँदैछ । त्यसअघि नै सिट निर्धारण गर्नुपर्ने भएकाले प्रधानमन्त्रीको अध्यक्षतामा स्वास्थ्यमन्त्री र शिक्षामन्त्री सहअध्यक्ष रहने गरी बैठक बस्ने नियम चिकित्सा शिक्षा आयोगको छ ।

त्यही नियमअनुसार बैठक बसेर उचित निकास निकाल्न टिम गठन भएको छ । तर सिट निर्धारण नगरी पढाइ नै नगर्ने भन्दा पनि मध्यमार्गी बिन्दु खोज्ने सहमति भएको थियो ।

जसमा सुरुको वर्ष २५ हजार, दोस्रो वर्षमा ३० हजार र तस्रो वर्षमा ३५ हजार गरेर बढाउँदै जाने सहमति थियो । ‘कसैले पढ्न चाहे पढेको २ वर्ष त्यसैमा मर्ज गरेर निःशुल्क पढाइदिने सहमति भएर यो प्रक्रिया अगाडि बढेको हो । यसमा असन्तुष्टि जनाएर आन्दोलन थालेका छन्’, सूचना अधिकारी खतिवडाले भनिन् ।

सरकारी आवासीय चिकित्सकसरह सेवा सुविधा पाउनुपर्ने माग आन्दोलनरतले गरेका छन् । । जुन निजी मेडिकल कलेजले मानिरहेका छैनन् । यसबारे दुई मन्त्रालयबीच छलफल भइरहेको छ ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ७ : ३६ बजे

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको छैटौँ तथा बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ

महालेखापरीक्षक कार्यालयले आज राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन बुझाउने

काठमाडौं– महालेखापरीक्षकको कार्यालयले आज आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन

उरुग्वेका पूर्वराष्ट्रपति जोसे मुजिकाको निधन

काठमाडौं– उरुग्वेका सामाजिक सुधारका प्रतीक मानिने पूर्वराष्ट्रपति जोसे मुजिकाको ८९

दक्षिणी गाजास्थित अस्पतालमा इजरायलको आक्रमण, २८ जना मारिए, राहत वितरणमा अवरोध 

काठमाडौं– इजरायली सेनाले दक्षिणी गाजामा गरेको आक्रमणमा २८ जनाको ज्यान

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक बुधबार पनि बस्दैछ ।