मणि दाजु,
तपाईंले भन्नुभएको छ समाजको विशेषाङ्कको निमित्त म केही लेख दिऊँ – खास गरी पत्रकारिता र त्यो पनि ‘समाज’कै समालोचना गरेर ! करिब दुई घण्टादेखि समाजको मसँग भएको संग्रह पल्टाइरहेँ र सोचिरहेँ क्यै त लेख्नैपर्यो । तपाईं एक मित्रको रूपमा मबाट चाहनुहुन्छ आफ्नू कलाकौशलको समीक्षा ।
त, यो दुई घण्टा म सोचिरहँ । र केही पनि सोच्न सकिनँ । कमसेकम छाप्ने लायक त केही पनि सोच्न सकिनँ । तपाईं भन्नुहोला छाप्ने लायक छुट्टयाउने, अधिकार त सम्पादकमाथि पो छ । मेरो, यहाँनिर, छाप्ने लायक भन्ने शब्द प्रयोगको अर्थचाहिँ हो, त्यस्तो विषय जो मानिसले पढ्न मन पराउँछ । अब तपाईंकै पत्रिका लिऊँ न । मृत्यु, दुर्घटना, असाधारण कष्ट, पीडा इत्यादि नै त हुन् जसले त्यसमा प्रमुखता पाएका छन् । किन अर्काको कष्ट, दुर्घटना र मृत्युलाई मानिस पढ्न मन पराउँछ ? (मन नपर्ने भए तपाईंको पत्रिका कहिले नै बन्द भै सक्थ्यो !)
म आजकल अनौठा पुस्तकहरू पढिरहेछु । स्टिफन ज्विगको ‘द वल्र्ड अफ यस्टर डे’, अलबेयर कामुको ‘मिथ अफ सिसिफस,’ र चित्तरञ्जन नेपालीको ‘भीमसेन थापा र तत्कालीन नेपाल’ । यसैबाट तपाईं बुझ्नुहुनेछ म अलि अध्ययन गर्न खोजिरहेछु मानिसको मृत्युपट्टिको भावना ।
मृत्युको अध्ययन गर्नानिमित्त आरम्भ गर्ने विन्दु हो जीवन । कारण मृत्युको जन्म जीवनको जन्मसाथै भएको हुन्छ । त्यो क्षण जब म जन्मेँ, त्यही क्षण नै मेरो मृत्युको प्रथम क्षण, प्रथम पाइलो थियो, होइन त ? त आज जीवनकै कुरा गरौं र मृत्युलाई चिन्ने प्रयास गरौं ।
म अहिले पसलमा बसिरहेछु । पानी परिरहेछ, कुमकुम । भर्खरै राजदूतहरू र मन्त्रीहरूको मोटरको ताँती फर्क्यो – नरप्रताप थापाको शोकसभा थियो रे रञ्जनामा…….।

सडकपारिपट्टि एउटा माग्नेजस्तो मानिस गणेशथानको देवलको चौतारामा बसेर लँगौटीमा अलमलिएको जुम्रा मारिरहेछ । एउटा मानिस, म त्यसलाई चिन्दछु, तर नाम जान्दिनँ, जो दिनभरि त खसीबोका बेची हिँड्दछ, अहिले भजन अलाप्दै गणेशजीकहाँ गइरहेछ, हातमा उसको थाली छ, चन्दन, अक्षता र फूल अबिरले भरेको । एउटा कुकुर आङ चिलाएकोले पेटीको भित्तामा आङ घस्रिरहेछ । एउटी कैली गाई गइन्, कसैले उनको निधारमा पूजा गरेको छ । केटीहरू छाता ओढेर किताब च्यापी गइरहेछन् । एउटा केटो बर्साती ओढी स्कुल जान बस पर्खिरहेछ । एउटा मानिस पिउनबुकमा खातमा खात चिठी च्यापेर दोबाटोमा कता नै जाउँ पहिलेको भावमा अलमलिरहेछ ।
र, मलाई एउटा लेख लेख्नु छ । यस्तो लेख जसले नेपाली साहित्यको उत्थान गरोस्, यस्तो लेख जसले मणि दाजुको ‘समाज’ को स्तर नगिरावोस्, यस्तो लेख जुन पढ्दा नेपाली जनता रमाओस् । तर मणि दाजु, म अलमलिरहेछु, मेरो मन स्थिर छैन, सबै कुरा जो आँखा अगाडि, घटिरहेछन् तिनलाई म हेरिरहेछु, र बुझ्न नसक्ने छु ।
म बुझ्दिनँ त्यो जुम्रा जन्म्यो नै किन जब उसलाई लँगौटीकै कापमा दुईवटा औंलाका नङले पिसिएर मर्नु थियो ? त्यो मानिस किन गणेशको पूजा पनि गर्दछ र खसी बोकाको ज्यान पनि लिन्छ ? त्यो कुकुर लुतो भएर मर्ने नै तर्जुमामा छ भने किन भुकी टोपल्छ ? मानिस गाईलाई पूजा गर्छ भने उसको बाछीको भाग खोसेर किन दूध खान्छ फेरि ? त्यो तरुनी केटी जो अग्रवालको थ्योरी अफ इकोनोमिक्स बोकेर कलेज जाँदै छ, किन त्यो पढ्छे जब उसलाई विधवा हुनुपर्नेछ, सायद पोइल जानुपर्नेछ, सायद वेश्यावृत्ति अपनाउनुपर्नेछ सायद……त्यो बच्चा केको आशामा अरूको छपेका विश्वासहरू बोकेर स्कुल जाँदै छ जब एक दिन उसलाई रानीपोखरीमा डुब्नु नै छ, व्यर्थ बनी, बेकार बनी, दुई–तीन छोराछोरीको पिता र एउटी स्वास्नीको पोइ र कैयन् अरू केटाहरूको प्रतिस्पर्धी बनेर ? त्यो पिउन किन ओसारिरहेछ खामबन्दी चिठीहरू, जब उसलाई थाहा छैन पत्रमा के छन् ? कसैको खोसुवा–पुर्जी, कसैको विवाहको निमन्त्रण, कसैको मृत्युको समाचार ?
बुझ्नु भो मणि दाजु, यी जम्मै चरित्र तपाईंका पत्रिकामा स्थान पाउन सक्ने पात्रका हुन् । ती आज भाद्र ३, २०१९ साल बिहान दस बजे मेरा निमित्त बनेका हेडलाइनहरू हुन् । यिनको महत्व, तर, तपाईंलाई छैन, कारण ती अझै जीवनमा छन्, अहिले केही गरी ती भाक्लाकभुक्लुक सडकमा मरून्, या रानीपोखरीमा हामफालून् या मोटरले किल्चिऊन्, तपाईं भातको गाँस छाडेर प्रेसतिर भाग्नुहुनेछ । तपाईंको कलम कागजमा दौडिनेछ, तपाईंको कम्पोजिटरले औंलामा चाल्नेछ, तपाईंको ट्रेडलले काम पाउनेछ, पत्रिका छप्नेछ र बिक्नेछ पाँच पैसामा ।
ढयाक्क…….।
ढ्याक्क…….।
ढयाक्क……।
ढ्याक्क…….।
प्रत्येकपल्ट एक इम्प्रेसन र छ मृत्यु । यो यत्तिका जनाको जुम्रा, पुजारी, कुकुर, केटी, केटा र पिउन छ जनाको जीवनको मूल्य सिर्फ पाँच पैसामा बिक्नेछ ? यिनको मृत्युको समाचार बोकेर अखबारका पानाहरू छापिनेछन्, सड्नेछन्, बिलाउनेछन्, खतम हुनेछन् ।
मणि दाजु, के कहिले यस्तो हुन सक्दैन, तपाईं अखबारमा जन्मको मात्र खबर छाप्नुहोस् ? के यस्तो हुन सक्दैन ? तपाईं भीमसेन थापाको आत्महत्याको कारण छाप्न सक्नुहोस् ? के यस्तो हुँदैन, कहिले त साँढे र वर्षाको सम्पादकीय त्यागेर तपाईं आफ्नो सच्चा कथन भन्न सक्नुहोस् ? के यस्तो हुन सक्दैन, कहिले आफैलाई चिरेर आफ्नू महत्व छाप्नुहोस् ?
तपाईं आज सोच्नुहुँदो हो– पत्रिका चलाएर तपाईं देश र जनताको सेवा गर्दै हुनुहुन्छ । तपाई भन्ठान्नु हुँदो हो, नेपाली इतिहासमा तपाईंको स्थान छ, सदा रहिरहनेछ, तपाईंको देन पत्रकारिता जगत्ले कहिले पनि भुल्न सक्ने छैन होला । मूर्ख दाजु–बेकार हो । तपाईंको नाम अखबारले त्यहाँ छापेको छ सधैं जहाँ समाचारलाई एक कालो धर्काले तपाईंबाट सीमारेखा छुट्याएको हुन्छ ।
हा छ तपाईलाई, तपाईको अखबारले रोजै कति कसिङ्गर र गुहु झ्यालबाट चोकमा मिल्काउँछ ? थाहा छ तपाईलाई……? थाहा छ तपाईलाई ……..? थाहा छ तपाईंलाई ? तपाईंलाई केही थाहा छैन । तपाईलाई किन साँढेमाथि सम्पादकीय लेखें भन्ने पनि थाहा छैन । तपाईंलाई किन भीमसेन थापामाथि सम्पादकीय लेखिनँ भन्ने पनि थाहा छैन, तपाईंलाई किन सम्पादकीय लेख्छु भन्ने थाहा छैन, तपाईंलाई किन सम्पादकीय लेख्दिनँ भन्ने पनि थाहा छैन ।
अझ, मणि दाजु, तपाईं किन सम्पादक हुनुभयो; त्यो पनि थाहा छैन तपाईंलाई । तपाईं सम्पादक नभए के हुनुहुन्थ्यो, त्यो पनि थाहा छैन तपाईंलाई ।
तपाईंको पत्रिका त उः त्यो माग्नेको लँगौटी हो, जसका कापमा रोज ट्रेडलका औंलाले जुम्रा मारिरहेछन् । म सायद त्यो लुत्याहा कुकुर हुँ, तपाईं सायद निधारमा टीका लाएको त्यो गाई हो । अथवा तपाईं कुकुर हो, म गाई हुँ अथवा म जुम्रा, तपाईं नङ्ग्रा अथवा तपाईं पुजारी म बोका अथवा तपाईं पिउन म चिठी, अथवा तपाईं केटी म केटा । तपाईं जे पनि हो, म जे पनि हुँ ।
तपाईं र म जन्मिनुअघि यसो सोचिहेर्नुस् त, कत्ति आशा र विश्वास र हिम्मत संसारमा जन्म्यो । खै, त्यो आज खै ? तपाईं र म जन्मिनुअघि कति सहिद र कति गद्दार जन्मे, खै ती आज खै ? अमरसिंहको बारेको सत्य के ? इतिहासको तथ्य खै ? सत्य खै, सत्यको सत्य खै ? आज तपाईं भन्न सक्नुहुन्छ, इतिहासमा कहाँनिर कल्पना सुरु भएको छ, कहाँ वास्तविकता हराएको छ ? भन्न सक्नुहुन्छ, तपाईंको अखबारमा छापेका आत्महत्याका खबरको वास्तविकता के थियो ? किन रामेचा या कृष्णचा या क खचाले आफूलाई मार्नुअघि छोराछोरीलाई र स्वास्नीलाई मार्यो ? भन्न सक्नुहुन्छ के त्यस्तो कारण थियो जसले ती मरे ?
मणि दाजू, विशेषाङ्क निकाल्ने आवश्यकता नै के छ र ? तपाईंले विशेषाङ्क निकाल्ने अठोट नै गर्नुभएको छ भने म के भन्न सक्छु र ! यत्ति हो–यस पटक म लेख दिन असमर्थ छु
मणि दाजु बेकार छ । हामी सदा नै आफूलाई छोप्न खोज्छौं । हामी अर्काको मृत्युको समाचारबाट आफ्नू मृत्युको समाचार छोप्न खोज्छौं । हामी अर्काको विश्वास पढेर आफ्नो विश्वास छोप्न खोज्छौं । हामी आफ्नो मनको सत्य कुरा श्रद्धाले छोप्न खोज्छौं । म जो ईश्वरको कल्पना गर्छु, त्यसको पूजा गर्छु, म आफ्नू औंलामा लागेको बोकाको रगतको रङलाई अबिरले छोप्न खोज्छु । तपाईं जो साँढेमाथि सम्पादकीय लेख्नुहुन्छ, आफू गाई भएको छोप्न खोज्नुहुन्छ । मणिराज उपाध्यायलाई सम्पादक मणिराज उपाध्यायले छोपिरहेछ । शङ्कर लामिछानेलाई पति, पिता, व्यापारी शङ्कर लामिछानेले छोपिरहेछ । तपाईं आत्महत्या गर्दै हुनुहुन्छ, म आत्महत्या गर्दै छु । तपाईं र म नमरीकन के खबरलायकका हुँदैनौं ? हाम्रो आत्महत्याको प्रोसेस के यत्ति महत्वहीन छ, हामी स्वयं त्यसबारे सोच्न लेख्न पनि चाहन्नौँ ? यो सोचाइलाई छोप्नु नै हाम्रो जीवन हो त ?
मणि दाजु, यस मनोस्थितिमा म कसरी लेख लेख्न सक्छु ? कसरी म साहित्यका सृजन गर्न सक्छु, कसरी म नेपाल आमाको सेवा गर्न सक्छु ? कसरी म राष्ट्रियताको नारा लगाउन सक्दछु ? – जब मेरो नारा, मेरो भविष्य, मेरो भाग्य, मेरो विश्वास, मेरो खोसुवा–पुर्जी, मेरो प्रमोसन, मेरो निमन्त्रण, मेरो मृत्यु खामबन्दी छ ? जब एउटा पिउनले त्यसलाई ओसारिरहेछ, एउटा यस्तो पिउन जसलाई खामबन्दी चिठीको मजबुन थाहा छैन ।
भो, मणि दाजू, विशेषाङ्क निकाल्ने आवश्यकता नै के छ र ? तपाईंले विशेषाङ्क निकाल्ने अठोट नै गर्नुभएको छ भने म के भन्न सक्छु र ! यत्ति हो–यस पटक म लेख दिन असमर्थ छु । सायद अर्को पटक तपाईंको पत्रिकाको हेडलाइनमा आउनबाट उम्किएँ भने– सायद अर्को वर्ष ।
कृपया पत्र पढेर तुरुन्तै च्यातिदिनुहोला ।
तपाईंको भाइ, शङ्कर लामिछाने
( विसं २०२४ सालको मदन पुरस्कार प्राप्त कृति ‘एब्स्ट्रयाक्ट चिन्तन : प्याज’ बाट यो निबन्ध साभार गरिएको हो । त्यसबेला समाज दैनिकका सम्पादक मणिराज उपाध्यायलाई सम्बोधन गरेर शङ्कर लामिछानेले यो निवन्ध लेखेका थिए । )
प्रतिक्रिया