धनगढी – शहरमा सीमित विकासको लहर गाउँ पुगेको छ । गाउँ फेरिएको छ । बदलिएको छ । केही सुविधा र सहजताले स्थानीयमा विकासको अनुभूति भएको छ ।
संघीयतापछि गाउँ विकाससँग जोडिएका छन् । दूरदराजका बस्तीमा समेत भवन संरचनादेखि सरकारी सुविधा पुगिरहेको छ । गाउँमा भइरहेको विकासको मूल प्रवाहको जस संघीयतालाई नै जान्छ । पालिका र वडाका केन्द्र बनाउनै पर्ने बाध्यताले पनि गाउँमा विकास पुगेको देखिन्छ ।
दुर्गम बस्तीमा पक्की घर र संरचना बनेका छन् । कच्ची भए पनि गाउँसम्म सडक बाटो जोडिएको छ । हिउँदमै भए पनि घरकै आगँनमा सवारी चढ्ने सुविधा जनताले पाएका छन् । त्यसका प्रत्यक्ष भोगी हुन्, बाजुराको बुढीगंगा नगरपालिकाका स्थानीय ।
बाजुराका नौ स्थानीय तहमध्ये जनसङ्ख्या र शैक्षिक स्तर बुढीगंगामा बढी छ । रोजगार र अवसरमा पनि बुढीगंगाकै स्थानीय बढी जोडिएका छन् । संघीयता पछिको विकासमा पनि बाजुरामा बुढीगंगा सबैभन्दा अग्रभागमा देखिएको छ ।
१० वटै वडामा कार्यालय बनेका छन् । भव्य र सुविधायुक्त पालिका भवन छ । सबै स्वास्थ्य संस्था पक्की भवनमा छन् । विद्यालयको भौतिक संरचना केही बाहेक लोभलाग्दो बनाइएको छ ।
सुदूरपश्चिमका ८८ पालिकाको अवस्था हेर्दा कतिपय पालिकाका आफ्ना भवन समेत छैनन् । स्थानीय तह निर्वाचनको ८ वर्षसम्म पनि आफ्नै भवन नबनाएरै भाडामा गुजारा गरिएको अवस्था छ । बहुसङ्ख्यक पालिकाले वडा कार्यालय भवनको सुरसार नै गरेका छैनन् । तर बुढीगंगा नगरपालिकाले सरकारी मापदण्डकै वडा कार्यालय निर्माण गरेका छन् । पालिका भवन र अन्य संरचना विकासमा अगाडि छ, बुढीगंगा ।

१० वटा वडा मध्ये ७ नम्बर वडा कार्यालयमा जग्गा विवादले केही निर्माण कार्य जारी भए पनि अन्य वडाभवन एकसाथ उद्घाटन भई नियमित सेवा प्रवाह थालिएको नगर प्रमुख रामबहादुर बानियाँले जानकारी दिए ।
‘केही वडाका टेण्डर अघिल्लो कार्यकालका नगर प्रमुख दिपकविक्रम शाहले सुरु गरिसक्नु भएको थियो, केही हामी आएर सुरु ग¥यौँ, अब सबै वडामा आफ्नै भवनमा छन् । स्वास्थ्य कार्यालयमा भवन अभाव छैन, विद्यालय संरचना सबैतिर सुधारकै क्रममा छन् ।’ नगर प्रमुख बानियाँले भने ।
बुढीगंगा नगरपालिकाले आफ्नै लगानीको आँट गरेर तीन वटा सडक कालोपत्रेको काम थालेको छ । संघ र प्रदेशले थप बजेटका लागि साथ नदिँदा काममा गति दिन नसकिए पनि निर्माण गरिछाड्ने सङ्कल्प पालिकाको छ । आफ्नै भवनभित्र सेवा प्रवाह गर्दा सेवा लिने पनि दिने पनि दुवैलाई सहज भएको बताउँछन् २ नम्बर वडाका अध्यक्ष पदमबहादुर भण्डारी ।
पालिका भवनदेखि वडा कार्यालय, स्वास्थ्य भवन र सीप विकास केन्द्रको एकसाथ उद्घाटन गरिएको छ । पालिका भवनको पूर्वमन्त्री कर्णबहादुर थापा, सीप विकास केन्द्रको पूर्व प्रदेश प्रमुख देवराज जोशी, वडा कार्यालयको पूर्व सांसद् लालबहादुर थापा, पूर्व प्रदेश मन्त्री प्रकाशबहादुर शाह, नरेश शाही, प्रदेश सभा सदस्य पदम शाही, संविधान सभा सदस्य बसुन्धरा रोकाया, पेम्बा गुरुग भोटे, पूर्व प्रदेश सभा सदस्य बल्देव रेग्मीबाट उद्घाटन गर्न लगाइएको हो ।
सबै दलका नेता र जनप्रतिनिधिलाई अपनत्वसहितको स्थान दिने र सम्मान गर्ने गरी उद्घाटनमा सहभागी गराएको हो । पालिकाको सबै वडामा सडक पुगिसकेको छ । बिजुली केन्द्रीय प्रसारण नभएको टोलमा स्थानीय विद्युत जडान गरी उज्यालोको पहुँच पु¥याइएको छ । स्थानीय पालिकाको कामबाट खुसी र सन्तुष्ट देखिन्छन् । बाजुराकै २ वटा स्थानीय तहले आफ्नै कार्यालय बनाउन सकेका छैनन्, भने ५ पालिकाले वडा कार्यालय भवनको काम नै थालनी गरेको देखिँदैन ।

सरकारी मापदण्डअनुसार संरचना विकास गरेको पालिकालाई पूर्व प्रदेश प्रमुख देवराज जोशीले धन्यवाद दिए ।
कांग्रेस नेता समेत रहेका जोशीले बुढीगंगाको काम अनुकरणीय र नमुना भएको बताए । पूर्वमन्त्री कर्णबहादुर थापाले जनतालाई विकासको अनुभूति गराउने र उपलब्धि देखाउने विषय भएकाले स्थानीय तह संस्थागत र बलियो हुनु नै विकासको बलियो प्रमाण भएको उनले बताए ।
‘पालिका र वडा जहाँ सेवा लिन आए पनि सेवाग्राही खुसी छन्, फाँटगत रुपमा काम हुन्छ, झन्झट नै छैन्, भव्य भवन संरचना छन्, सेवा लिन पनि दिन पनि सहज भइरहेको छ ।’ बुढीगंगा–४ का वडाध्यक्ष मीनबहादुर शाहले भने, ‘भवन नहुँदा कागजातसमेत मिलाएर राख्न समस्या हुने, हराउने र सेवा लिन आउनेका लागि पनि असजिलो अवस्था थियो, अब आनन्दले सेवा दिन पाइएको छ ।’

सबै वडाका भवन १ करोड बढीको लागतमा निर्माण गरिएका छन् । प्रमुख प्रशासकीय अधिकृत अमरराज जोशीका अनुसार भवन निर्माणसँगै सेवा प्रवाह सहज भएको छ । पालिकाले वडा कार्यालयका नाममा भाडा तिर्नुपर्ने बाध्यतासमेत हटेको प्रमुख प्रशासकीय अधिकृत जोशीले बताए ।
‘भवन नबनाएसम्म सेवा लिन जान पनि अप्ठ्यारो लाथ्यो, बस्ने कुर्सी त परकै कुरा हो, कोठासमेत व्यवस्थित थिएनन्, अहिले त शहरका ठूला घरभित्र छिरे जस्तो लाग्छ । भवन देखेर खुसी पनि लाग्छ ।’ नगरपालिकामा सेवा लिन आएका बुढीगंगा–३ का रामबहादुर अधिकारीले भने । उनले हाल वडा कार्यालयमा काम छिटो छरितो हुने र सहज पनि हुन थालेको बताए । उनले भवन बने पनि सचिव र कर्मचारी कहिलेकाहीँ नभेटिने समस्या भने रहेको गुनासो गरे ।
‘स्थानीय सरकार संस्थागत हुनु भनेको संघीयता बलियो हुनु हो,’ नेकपा एमाले बाजुराका अध्यक्ष लालबहादुर ओली भन्छन्, ‘स्थानीय तह अस्तव्यस्त हुने कुरा राम्रो होइन, बुढीगंगाले त्यो सुधार गरेको छ ।’
सबै पालिका संस्थागत भएर जनताको सेवामा जिम्मेवार बन्न ओलीको सुझाव छ ।
संस्थागत विकासमा बुढीगंगाको प्रगतिमा छिमेकी त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्णबहादुर थापाले खुसी व्यक्त गर्छन् । उनले आफूहरू पनि स्थानीय तह निर्माणमा लागि परेको बताए ।

पूर्व नगर प्रमुख दीपकविक्रम शाहले आफू हुँदा सुरु गरिएका योजना निर्माण सम्पन्न भएकामा खुसी व्यक्त गरे । अब पालिकाले जनताको सेवा– सुविधामा श्रेष्ठता हासिल गर्नु पर्ने बताए । शाह कांग्रेसबाट जितेका हुन् । अहिले पालिका प्रमुख रामबहादुर बानियाँ र उप्रमुख माया कुँवर दुवै नेकपा एमालेबाट निर्वाचित प्रतिनिधि हुन् ।
‘सृमद्धिका लागि बुढीगंगा विकास’ कचहरी आयोजना गरेर पालिका र वडा भवनको उद्घाटन गरिएको थियो ।
प्रतिक्रिया