'पालिकामा नेताले पेट्रोल माग्छन्' | Khabarhub Khabarhub

‘पालिकामा नेताले पेट्रोल माग्छन्’

तारकेश्वरकी उपप्रमुख भन्छिन् : मेरो नगरपालिकामा पुरुष हिंसाको केस बढी आएको छ



काठमाडौं- नेपालको संविधानको धारा २१७ मा व्यवस्था भएअनुसार कानूनबमोजिम आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरूपण गर्न प्रत्येक स्थानीय तहमा उपाध्यक्ष/ उपप्रमुखको संयोजकत्वमा गाउँसभा वा नगरसभाबाट आफूमध्येबाट निर्वाचित गरेका दुई सदस्यसहित गठन हुने तीन सदस्यीय न्यायिक समिति रहेको हुन्छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार न्यायिक समितिलाई ऐनको दफा ४७ (१) अन्तर्गतका विवादको निरूपण (कारबाही र किनारा) गर्ने र ऐनको दफा ४७ (२) अन्तर्गतका विवादको मेलिमलापको माध्यमबाट विवाद समाधान गर्ने अधिकारक्षेत्र रहेको छ ।
तारकेश्वर नगरपालिकामा अन्य पारिवारिक विवादहरु भन्दा जग्गासम्बन्धी विवाद बढी देखिने गरेको उपमेयर सिर्जना बुर्लाकोटी अर्यालको भनाइ छ । उनका अनुसार यस पालिकामा दलका नेताहरुले पेट्रोलको कुपन माग्ने समस्या पनि छ । पालिकामा महिला हिंसा मात्र नभएर पुरुष हिंसाका पनि उजुरीहरु आउने गरेको उनी बताउँछिन् ।

काठमाडौंस्थित तारकेश्वर नगरपालिकाको न्यायिक समितिले स्थानीय विवाद समाधान र सामाजिक न्यायलाई बलियो बनाउन खेलेको भूमिका, न्यायिक निरुपण र यसको प्रणालीमा देखिएका चुनौती र समस्या साथै नगरका समसामयिक विषयमा खबरहबले उपप्रमुख सिर्जना बुर्लाकोटी ‘अर्याल’ सँग कुराकानी गरेको छ ।

तारकेश्वर नगरपालिकाको न्यायिक समितिमा कस्ता मुद्दा बढी आइरहेका छन् ?

२०७९ मा निर्वाचित भएर आएँ । न्यायिक समितिको उपप्रमुख सँगसँगै समितिको संयोजक हुने संविधानिक व्यवस्था हो । दुई जना सदस्यसहित उपप्रमुख संयोजक रहने व्यवस्था छ । आफ्ना जिम्मेवारीभित्रका काम गरिरहेकै छौँ । यसअघि कसरी काम भएको रहेछ भनेर जान्नका लागि पुराना केसहरू र फाइलहरूको अध्ययन गर्‍यौँ ।

न्यायिक समितिमा आउने घटना स्थानीय हुन् । स्थानीय मुद्दा कसरी समाधान गर्न सकिएला भनेर खाका निर्माण गर्‍यौँ । धेरै पेण्डिङ केसहरू रहेछन् । त्यसलाई मिलायौँ । तारकेश्वर नगरपालिकामा धेरै जसो विवाद जग्गा सम्बन्धी रहेको छ । सार्वजनिक बाटो व्यक्तिले मिचेका मुद्दा धेरै आउँछन् । महिला, बालबालिका र जेष्ठ नागरिकमाथि हुन सक्ने हिंसा, घरेलु हिंसा नगरपालिकामा दर्ता गरेर अगाडि बढाइएको छैन । यस्ता मुद्दा नगन्य छन् । यस्ता मुद्दा मेलमिलापबाट टुङ्गिएका छन् ।

घटनाको तथ्याङ्क विश्लेषण गर्ने हो भने घट्ने र बढ्ने क्रम कस्तो पाउनु भएको छ ?

घटना हरेक वर्ष बढिरहेको छ । ‘टाइम भ्याल्यू अफ मनि’ भनेजस्तै हो । हिजो दुईदेखि तीन लाख आनामा किनेको जग्गा आज ३० देखि ४० लाख आनाको पुग्यो । कोही एक इञ्च छोड्न तयार छैनन् । ‘विन–विन’ को अवस्थामा जाने हो भने व्यवस्थापन गर्न सकिन्छ । तर कसैले छोड्न सक्दैनन् ।
अर्को, संरचनाले पनि समस्यामा पारेको छ । जस्तै, भिरालो जमिन किन्यो । दुई वर्षपछि हेर्न जाँदा पहिरो धेरै तल भासिएको हुन्छ । अब जमिन उठाउन सकिँदैन । त्यसपछि क्रेता र बिक्रेता बीचमा मनमुटाव सुरु हुन्छ । पछिल्लो समय सार्वजनिक जग्गा अतिक्रमण गरिएको विवाद बढ्दो छ । पुर्जामा चार आना छ । नक्सामा पाँच आना छ । जग्गाधनीले मौखिक पाँच आनाको कारोबार गर्छन् । पाँच आना जग्गा किनेको व्यक्तिको जग्गा पछि दुई आना अपुग देखिन्छ ।

न्यायिक समितिमा कर्मचारी पर्याप्त नभएको गुनासो आउने गर्छ, कार्यसम्पादनमा अप्ठ्यारो छ कि छैन ?

कर्मचारी पर्याप्त छैनन् । करारका कर्मचारी धेरै भर्ती नगर्ने नीति छ । म नेपाली कांग्रेसको चुनाव चिह्न लिएर निर्वाचन जितेको व्यक्ति हुँ । चुनाव जितेर प्रतिनिधिको रूपमा आउँदा म सबैको हो । तारकेश्वरवासी सबैको जनप्रतिनिधि हो । नगरमा बजेटको मात्रा थोरै छ ।

धेरै कर्मचारी नराख्ने नीति भएकाले सीमित कर्मचारीबाटै व्यवस्थापन गर्नुपर्छ । अर्को, हामीसँग ऐन र कार्यविधि पनि छैन । अन्य केही नगरपालिकाले आफैं कार्यविधि बनाएर कानून अधिकृतलगायतका कर्मचारी राख्नुभएको छ । कानून अधिकृतको दरबन्दी नहुँदा काम गर्न गाह्रो छ । प्रतिनिधि कानूनका विज्ञ छैनन् ।

न्यायिक समितिमा के–कस्ता समस्या छन् ?

उपप्रमुख भएका धेरै व्यक्तिले चुनावमा पराजय बेहोर्ने गरेका छन् । यसको मुख्य कारण न्यायिक समिति र यसले गर्ने कार्यसम्पादन पनि हो । हरेक घटनाको दुई पक्ष हुन्छ । मिलापत्र गरेकामा समेत पछि गएर स्वार्थ नमिल्दा विवाद सिर्जना हुन्छ । कहिलेकाहीँ मिलापत्र गरेर गलत गरिएछ भन्ने भान हुन्छ । कानूनतः निर्णय पनि एक पक्षका लागि चित्त बुझ्दो हुँदैन । पक्षले आफूमाथि अन्याय भएको महसुस गर्छन् / खुसी हुँदैनन् ।

प्राकृतिक न्यायको सिद्धान्तलाई अनुशरण गरेर पनि समस्या निरुपण गर्ने कोसिस गर्छौँ । अर्कोपटक चुनाव लड्नु छैन ? टिकट चाहिँदैन ? भनेर धम्की आउँछ । भर्खरै पनि मैले फिल्डमा भएका चिजबिज छुट्टयाइदिएँ । कानून भन्दामाथि जनप्रतिनिधि हुने होइन । कानून सबैले पालना गर्नुपर्छ ।

कानून निर्माणको अवस्था के छ ?

न्यायिक समितिकै लागि भनेर कानून बनाइएको छैन । आवश्यकताअनुसार ऐन, कार्यविधि बनाइन्छ । तर प्रक्रिया जस्तो छ, त्यस्तै चल्ने कुरा आत्मसाथ गर्नुहुँदैन भनेर अलिअलि संशोधन गरेका छौँ ।

फोहोरमैला व्यवस्थापन कार्यविधि, जेष्ठ नागरिक विद्यालय, जग्गा प्लटिङ खानेपानी लगायतका कानूनमा केही संशोधन गरेका छौँ । बाँकी पुराना कानून, कार्यविधिलाई मानेर निरन्तरता दिइएको छ ।

नगरको नेतृत्वमा रहेर जनताको काम गर्दा दलीय सहयोग कस्तो पाउनुभएको छ ?

पार्टीले सहयोग गरेको छ । हाम्रो नगरपालिकामा दुईवटा निर्वाचन क्षेत्र छन् । काठमाडौं क्षेत्र नम्बर ६ र ७ । दुवै पार्टीका नेताहरू र पार्टी सभापतिले ‘ग्राँस रुट’ बाट सहयोग गर्नुभएको छ । पार्टी सँगसँगै जनताको सहयोग आवश्यक छ ।

जनप्रतिनिधिबीचमा तिक्तता बढेको खबर आउँछ । मेयर–उपमेयरको सम्बन्ध चिसिएको सुनिन्छ । मेयरसँग यहाँको सम्बन्ध कस्तो छ ? सहकार्यमा कत्तिको सहजता पाउनुहुन्छ ?

प्रमुख र उपप्रमुख शब्दको अर्थ बुझ्नुपर्छ । संविधानले दुवैको कर्तव्य, हक, अधिकार छुट्टयाइदिएको छ । आफ्नो क्षेत्राधिकारमा रहेर काम गर्ने हो भने विवाद सिर्जना हुँदैन । ‘अब्जेक्सन अफ टयाकल’ को अवस्था आउनुपर्ने ठाउँ छैन । तथापि मेरो पालिकामा पनि कहिलेकाहीँ द्वन्द्व हुन्छ ।

नीतिगत कुरामा, कर्मचारी, बजेट विनियोजनलगायतमा विषयमा तर्कवितर्क हुनसक्छ । उपप्रमुख योजना अनुगमनको पनि संयोजक हो । तानेर ल्याउने बजेट नहालौँ भन्छु तर प्रमुखले ‘मेन्टेन’ गर्न सकिन्छ भन्नुहुन्छ । तर हामी दुवै एकै पार्टीबाट निर्वाचित हौँ । अन्य पालिकामा भन्दा सौहार्दता छ ।

हालसम्म तीनवटा बजेट ल्याउनुभयो ? बजेटको प्राथमिकता र त्यसको परिणाम कस्तो देखियो ?

घोषणापत्रमै हामीले शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राखेका थियौँ । ‘एक घर एक धारा’ नारा थियो । त्यही अनुरुप काम गरिरहेका छौँ । सामुदायिक विद्यालयको शिक्षामा जोड दिँदै पहिलो बजेटमा शिक्षामा करिब एक करोड ३० लाख विनियोजन भएको थियो । पैसा नभएका गरिबका बच्चा मात्रै सामुदायिक विद्यालयमा पढ्छन् भन्ने मान्यता परिवर्तन गर्नुपर्छ ।

त्यही वर्ष पुनः ८ करोड बजेट छुट्यायौँ । गएको वर्ष र यस वर्ष पनि हाम्रो नगरपालिका सामुदायिक विद्यालयको गुणस्तरको अवस्थामा प्रथम स्थानमै रहन सफल भएको छ । १५ वटा माध्यामिक तह र बाँकी आधारभूत र प्राथमिक तह छन् । ‘रातो बङगला’ को शिक्षा सामुदायिक विद्यालयका विद्यार्थीले पनि पाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो ।

अर्को, सरकारले दिएको १५ रुपैयाँ खाजामा कार्यविधि बनाएर नगरपालिकाले थप १० रुपैयाँ प्रदान गरेको छ । खेलकुदमा लगानी गरेका छौँ । जेष्ठ नागरिकका लागि घरघरमा गएर स्वास्थ्य चेकजाँचको व्यवस्था गरेका छौँ । ८० वर्ष पुगेका नागरिकका लागि भनेर ‘कोखदेखि शोकसम्म’ को अभियानअन्तर्गत सरकारले दिने भत्तामा नगरपालिकाले दुई हजार थप गरिदिएको छ ।

अर्को उत्कृष्ट काम, ‘जेष्ठ नागरिक विद्यालय’ को डीपीआर तयार भएको छ । सङ्घीय सरकारको अनुदानअन्तर्गत पहिलो वर्ष एक करोड रुपैयाँ प्राप्त भएको थियो । यो वर्ष तीन करोड रुपैयाँ प्राप्त भएको छ । बुवाआमा घरमा एकल भएर ‘डिप्रेसन’, ‘ब्लड प्रेसर’, ‘डाइबेटिज’ लगायतका रोगबाट गुज्रिरहनुभएको छ ।

छोराछोरी अफिस गएको बेला दिउँसोको समयमा विद्यालयमा गएर बस्ने भनेर निमार्ण गर्न लागिएको हो । त्यहाँ भजन, सङ्गीत, पुस्तकालयलगायत उहाँको रुचिअनुसारको व्यवस्था गर्ने तयारी गर्दैछौँ । नगरपालिकाको गाडी चढेर आवतजावत गर्न सक्नुहुन्छ । यो कुनै वृद्धाश्रम भने होइन । त्यसैगरी खड्किएको विषय भनेको अहिलेको युवापुस्ता वा बालबालिकामा नैतिक शिक्षाको अभाव छ । आर्थिक अवस्था बलियो बनाउने शिक्षाले मात्रै पुग्दैन । विद्यार्थी जीवनदेखि नै संस्कृति, कला, अनुशासन र नैतिकताको ज्ञान आवश्यक छ ।

ती बुवाआमाबाट नयाँपुस्ताले सिक्ने र सिकाउने वातावरण बनाउँदैछौँ । सीप र ज्ञानको आवश्यक छ । २ अर्ब ८० करोडको बजेट छ । यो वर्ष ‘खानेपानी वर्ष’ को रूपमा अगाडि बढाएका छौँ ।

स्थानीय तहमा एनजीओ र आइएनजीओको बिगबिगी छ भन्ने सुनिन्छ । तपाईंको पालिकामा के छ ?

देखिने गरी छैन । एनजीओ र आइएनजीओसँग सहकार्य गरेर हामीले कुनै काम गरेका छैनौँ । हाम्रो नगरपालिका हो, हामी आफैँ काम गर्छौँ र हामी आफैँ नगर बनाउन सक्षम छौँ ।

जनप्रतिनिधि काम गर्ने भन्दा धेरै विदेश भ्रमणमा हिँडिरहेका छन् ? व्यक्तिगत लाभमा केन्द्रित छन् भन्ने आरोप छ ।

जनताले लगाएको आरोप यदाकदा सही हो । नगरपालिकाको बजेटले परिवार लिएर विदेश भ्रमणमा पुगेका छन् । गाडीको दुरुपयोग पनि गरेका छन् । तर मेरो नगरपालिकामा छैन । म र मेरो नगरप्रमुख स्थानीय तहको बजेटबाट घुमेका छैनौँ । दिनभर १४ देखि २० वटा कार्यक्रम र भेटघाट हुन्छ । त्यसैबेला कसैको बिहे, व्रतबन्ध हुन्छ । प्रतिनिधि घर गएर स्कुटी चढेर आवोस् त ? प्रश्न अर्को यो पनि छ ।

सङ्घीयताको अभ्यास अझै राम्रोसँग हुन सकेको छैन । सङ्घ, प्रदेश र बल्ल स्थानीय तहको बजेट बन्नुपर्छ । तर यहाँ उल्टो अभ्यास भइरहेको छ । स्थानीय तह, प्रदेश र बल्ल सङ्घको बजेट बन्छ । प्रदेश र स्थानीय सरकारको ऐन नै बाझिएको छ ।

पार्टीका नेताका गाडीमा स्थानीय तहले तेल हालिदिनुपर्छ भन्ने पनि सुनिन्छ !

जनप्रतिनिधि नहुँदाको अवस्थामा पनि पेट्रोल लिएका मान्छे छन् । तीनै नेताले आज पनि माग्छन् । नगरपालिकाको कुपन पठायो वा व्यक्तिगत पठाएको छ ? हेर्नुपर्ने विषय त्यो हो । मैले सरकारबाट लिएको सेवासुविधा हाम्रै नागरिकको कर हो । त्यसको महत्व मैले बुझेको छु । खर्च गर्ने सवालमा सचेत छु ।

राजनीतिमा मात्रै सीमित हुनुहुन्छ वा अन्य केही व्यवसायमा जोडिएको हुनुहन्छ ?

राजनीतिमा आउनु भन्दा अगाडि महिनाको दुई लाख कमाउँथे । आज तबल ३३ हजार छ । यो साथीभाइलाई चिया खुवाउन पनि पुग्दैन । त्यसकारण पनि व्यवसायमै छु । ‘इञ्जिनियर कन्ल्स्ट्यान्ट’ छ । अर्को स्कुलमा लगानी छ । यिनै व्यवसायबाट आर्थिक व्यवस्थापन गरिरहेको छु । व्यवसायसँगै राजनीति पनि मेरो रुचिको विषय हो ।

पितृसत्तात्मक समाजमा यसको अनुभव नहुने कुरै छैन तर तारकेश्वर नगरपालिकाको सन्दर्भमा महिला भन्दा पुरुष हिंसाको केस बढी आएको छ

महिला भएकै कारणले अवसरबाट वञ्चित हुनुपरेको वा पछाडि पारिएको अनुभव गर्नुभएको छ ?

पितृसत्तात्मक समाजमा यसको अनुभव नहुने कुरै छैन । महिलालाई हाम्रो संस्कृति र संस्कारले नै बाँधेको छ । यसले महिला र पुरुष दुवैलाई हानी गरेको छ । तर मेरो नगरपालिकाको सन्दर्भमा महिला भन्दा पुरुष हिंसाको केस बढी आएको छ ।

गठबन्धनले गर्दा महिलाले पाउने अधिकार पनि गुमेको अवस्था छ । पार्टीका शीर्ष नेताले यो कुरा बुझ्न आवश्यक छ । म मंगलादेवी सिंह, नोना कोइराला, दिव्यादेवीलगायत महिलाहरूको फ्यान हो । उहाँहरू राणाविरुद्ध लड्नु भयो । महिलाहरूले भोट हाल्न, पढ्न पाउनुपर्छ भनेर विद्रोह गर्नुभयो । आजको यो हक अधिकार हामीलाई यत्तिकै विरासतमा प्राप्त भएको होइन । अग्रज आमाहरूले घरपरिवार, श्रीमानको साथ नपाउँदा पनि निरन्तर विद्रोहपश्चात् प्राप्त भएको हो ।

राणाहरूले मारिदिने डर थियो । सामाजिक बहिष्कार हुने सँगै परिवार र श्रीमानले छोडिदिने अवस्था थियो । तर सबै कुराको बेवास्ता गरी अग्रज महिलाहरूले क्रान्ति गर्नुभयो । अहिलेका महिलाहरूले उहाँका कुरा अनुशरण गरेर अगाडि बढ्नुपर्छ ।

सिर्जना बुर्लाकोटीलाई अब मेयरको रुपमा देख्न सकिन्छ ?

स्वतन्त्र भएको भए मेरो उम्मेदवारी के मा भन्ने जवाफ दिन्थेँ । तर पार्टी राजनीति गरेको मान्छेले पार्टीपद्धतिलाई पछ्याउनुपर्छ । अग्रजले भनेको कुरालाई मनन् गर्नुपर्छ । २०७४ मा उपमेयरको टिकट दिनुभएको थियो । तर म व्यक्तिगत रुपमै तयार थिइनँ ।

पार्टीमा रहेर केही काम सिकेर उठ्नुपर्छ भन्नेमा थिएँ । ०७९ मा टिकट पाएँ । यो चुनावमा हारेँ भने अर्कोपटक टिकट माग्दिन भनेको थिएँ । तर जितेँ । अब ०८४ मा शीर्ष नेताले दोहोर्‍याऊ अथवा मेयरमा जाऊ वा सङ्घीय चुनाव लड । के भन्नुहुन्छ, त्यहीअनुसार तयार छु ।

  • शीर्षक परिवर्तन गरिएको

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ७ : ०७ बजे

पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं– जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा

विपिन जोशीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– गाजामा मारिएका विपिन जोशीको सम्झनामा माइतीघर मण्डलामा दीप प्रज्वलन

मधेश प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनार नियुक्त 

जनकपुरधाम – मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जितेन्द्र

इन्डोनेसियामा तेल ट्यांकरमा आगलागी हुँदा १० जनाको मृत्यु

एजेन्सी– इन्डोनेसियाको रियाउ टापु प्रान्तको बाटाम टापुको शिपयार्डमा मर्मत सम्भार