पूर्वहरूमा जागेको जग हँसाउने जाँगर ! | Khabarhub Khabarhub

पूर्वहरूमा जागेको जग हँसाउने जाँगर !



राजा महेन्द्रले आफ्ना विश्वासपात्र विष्णुमणि आचार्यलाई मन्त्रिमण्डलमा लैजान योग्य व्यक्तिको रोस्टर बनाउन अह्राए । विष्णुमणिले स्वीकारोक्तिको मुन्टो हल्लाए। प्रसङ्ग त्यतिक्कै सेलायो, न राजाले नाम मागे, न विष्णुमणिले राजालाई आफूले टिपेका नाम नै बुझाए। महिनौंपछि राजाले विष्णुमणिलाई सोधे- ‘खै, विष्णुमणि तिमीले यतिका समयसम्म मलाई लिस्ट दिन किन ढिला गरेको ?’ विष्णुमणिले अदवसाथ जवाफ फर्काए- ‘लिस्ट त तयार छ सरकार ! तर अलि केरमेट छ।’
राजा जंगिए- ‘यतिका समयपछि पनि अझै केरमेट ?’
विष्णुमणिले फिस्स हाँस्दै व्यंग्यात्मक शैलीमा भने- ‘हो, सरकार !
जो खराब भनेर कालोसूचीमा नाम चढायो, उही अकस्मात् मन्त्री हुन्छ। फेरि उसलाई असल सूचीमा सा-यो, मन्त्रीबाट झिकिएपछि कालोसूचीमा। त्यसैले सरकार मैले तयार गरेको लिस्ट केरमेट भयो।’ सरदारबाजेको यस्तो जवाफ सुनेपछि राजा महेन्द्र मौन बसेछन्।

नारायणहिटी राजदरबार र सिंहदरबारको दूरी टाढा छैन। सत्ता र शक्तिको साँचो बोकेका यी दुई शक्तिशाली निकाय जनताको एजेण्डाका विषयमा कहिल्यै इमान्दार रहेनन्। सिंहदरबारको काम सधैं दरबारको आँखामा छारो हाल्नु र दरबारको दैनिकी सिंहदरबारप्रति अविश्वास गर्नुमै बितेको छ।

नारायणहिटी राजदरबार र सिंहदरबारको दूरी टाढा छैन। सत्ता र शक्तिको साँचो बोकेका यी दुई शक्तिशाली निकाय जनताको एजेण्डाका विषयमा कहिल्यै इमान्दार रहेनन्। सिंहदरबारको काम सधैं दरबारको आँखामा छारो हाल्नु र दरबारको दैनिकी सिंहदरबारप्रति अविश्वास गर्नुमै बितेको छ। जनताको नजरमा यी दुवै निकाय कीर्तिमानी बन्न नसक्नुको प्रमुख कारण पनि यही हो। आफ्नै परमाधिपति राजा आफूले घेरेर राखेको राजदरबारभित्र मारिँदा सेनापति लाजै नमानी भन्छन्– ‘दरबारको सुरक्षा सेनाको मातहत पर्दैन’। जश लिन होड गर्ने, अपजस लिन जाँगर नचलाउने प्रवृत्ति ‘नो’ भन्न नजान्ने फौजीमा सम्म जबर्जस्त सरेको देखियो।

प्रधानमन्त्री निवास खातिर चन्द्रशमशेरले बनाएको सिंहदरबार नेपाली जनताको भाग्य, भविष्य कोर्ने भ्रम बोकेको राज्य संरक्षित अखडा हो। चन्द्रशमशेरले दरबार बनाउने नाममा बज्र निर्माणका लागि गाउँगाउँबाट सुत्केरीको मुखबाट खोसेर कालोमासको दाल सरकारलाई बुझाउन उर्दी जारी गरे। यो भक्तिभावको मुखुण्डो त्यतिबेला उत्रियो, जतिबेला २५ लाखमा बनेको सिंहदरबार उनले एक करोड ७५ लाख नाफा कुम्ल्याएर दुई करोडमा सरकारलाई नै बेचे।

ढुकुटी मजबुत बनाउनुपर्ने दायित्त्व बोकेका कार्यकारी व्यक्तिले नाङ्गो दोहन गरे। सिंहदरबार बनाउँदा प्रयोग भएका हरेक इँटामा जनताको सपनाको सट्टा भ्रष्टाचार र व्यभिचारको बीउ रोपिएको थियो। जंगबहादुरले ढुकुटीमा ११ करोड छोडेर गएका थिए। रणोद्दीप र वीरशमशेर आर्थिक मामलामा बदनाम भएनन्। यद्यपि भोट तिब्बतका लडाइँलाई हतियार किन्न भनेर तिनै चन्द्रशमशेरले अढाई करोड निकाले। जुद्धशमशेरले १९९० को भूइँचालोमा आपतकालीन स्थितिका नाममा एक करोड ५० लाख निकालेर केही खर्च गरी अरु खल्ती भरे। जुद्धशमशेरले राज्य त्याग गरी जाँदा दुई करोड ५० लाख झ्वाम पारे। मौज्दातमा रहेको दुई करोड ५० लाख मोहनशमशेरले उडाए। २००७ सालमा प्रजातन्त्र घोषणा हुँदा ढुकुटी खाली थियो। ११ करोडको हिसाब अझै इतिहासमा बेहिसाब बनेर बसेको छ।

नेताले राजनीतिलाई पेशा बनाए। कर्मचारी उभयचरजस्ता भए। भिमसेन थापादेखि केपी ओलीसम्म कार्यकारी पदमा साठीको हाराहारीमा पुगे। कोही पटकपटक दोहोरिए। राजनीतिजस्तै २०१२ सालयता निजामती सेवामा चन्द्रबहादुर थापादेखि एकनारायण अर्यालसम्म २८ मुख्यसचिव भए। ती मध्ये चन्द्रशमशेरले बनाएको सिंहदरबारमा ‘चन्द्र घण्टी’ स्थापित गरेर पहिलो मुख्यसचिव चन्द्रबहादुर थापाले कर्मचारी नेताभन्दा शक्तिशाली र कीर्तिमानी हुन सक्छन् भनेर प्रमाणित गरिदिए। चन्द्रघण्टी ध्वनि मात्र नभएर सुशासनको विगुल थियो। चन्द्रघण्टी बजेपछि कुनै पनि माइकलाल कर्मचारी सिंहदरबार छिर्ने दुस्साहस गर्दैनथ्यो। चाणक्य नीतिलाई उनले व्यवहारमा अक्षरशः पालन गरेका थिए। कार्यालय समयपछि आफ्ना व्यक्तिगत मानिस भेट्दा समेत उनी कार्यालयको बत्ती निभाएर आफ्नो टुकी सल्काउँथे। त्यसयता कुलशेखर शर्मा, प्रद्युम्नलाल राजभण्डारी, कृष्णबहादुर मानन्धर, दामोदर गौतम, मधुसुदनप्रसाद गोर्खालीले त्यो पदको गरिमा कायम गरेको सुन्नमा आउँछ।

दुई दशक यताका मुख्यसचिवको साख आयराम, गयरामभन्दा माथि उठेन्। गणतन्त्रपछि बनाइएका मुख्यसचिव पदलाई हाताहाती लाभको पदमा साटासाट गरेर निजामती सेवाकै चीरहरण गरे। प्रधानमन्त्रीसँग उनीहरुको सम्बन्ध मोही र जग्गाधनीजस्तै बन्यो।

दुई दशक यताका मुख्यसचिवको साख आयराम, गयरामभन्दा माथि उठेन्। गणतन्त्रपछि बनाइएका मुख्यसचिव पदलाई हाताहाती लाभको पदमा साटासाट गरेर निजामती सेवाकै चीरहरण गरे। प्रधानमन्त्रीसँग उनीहरुको सम्बन्ध मोही र जग्गाधनीजस्तै बन्यो।

सरकारी अधिकारीको भोकले सेवाबाट अवकास लिएपछि पारिवारिक माहोलमा रमाउने, नातिनातिना, तीर्थव्रतजस्ता पुन्यकर्मका बाटा मेटिए। सचिवको पाँच वर्षे करार अवधि काम लागि नभएर दुनो सोझ्याउने ट्रान्जिट पिरियड बन्यो। आफ्नै साथीको तेजोबधमा हाकिम लागे। नेतालाई स्वार्थका छिद्र पत्ता लगाउन सघाए। साइकल कुटनीति भने झैं सानाका हकमा पाइड दबाउने, आफूभन्दा ठूला (हेण्डिल)लाई सोझ्याएर राख्ने शोषक प्रवृत्ति झारभित्रको पिपलझैं सुरक्षित बन्दै गयो। संविधानमा आनकातान परिवर्तन गरिए। तर सरकारका फ्रन्ट डेस्क सामन्ती प्रथाबाट मुक्त भएनन्। सरकारी वेतन खाएर भूजा ज्यूनार, आइस्योस, गइस्योस् भाषालाई तलदेखि माथिसम्म स्थायी अन्तरा बनाइयो। शक्तिशालीका लागि कर्मचारी आशामुखी बने। एकथरिका लागि सरकारी सेवा मोबाइल सर्भिस बन्यो। निमुखाका लागि सरकारी सेवा यति प्रक्रियामुखी बन्यो कि एउटा सरकारी कर्मचारीले हस्ताक्षर गरेको कागजपत्रमा अर्कोले बाघचाल खेल्न थाल्यो। अहिले पनि न्यून रक्तचाप भएका मानिसलाई शरीरको तापमान बढाउनु प-यो भने सरकारी काममा एकदिन दौडाउने हो भने शिरदेखि पाउसम्म रगत उम्लिने पक्का छ। आफूले पाएको नम्बरको प्रमाणपत्र लिन विश्वविद्यालय र सरकारी निकायमा त्यहाँका कर्मचारीले दिने फजिती सहन नसकेर देश छोड्ने निर्णय लिने धेरै विद्यार्थी भेटिन्छन्। सरकारी सेवामा छानिएका उम्दा प्रतिभाहरुको लोकसेवाले घोकाइको परीक्षा लियो, इमानको लिएन। त्यसकारण उनीहरु विवेक र कर्तव्यभन्दा मुडकेन्द्रित भए।

भूगोल, जात, क्षेत्र, पार्टी, नेताको आरतीका आधारमा ठूलाबडाको चयन हुन थाल्यो। तर तिनीहरुले काममा सुगन्ध छर्न सकेनन्। कांग्रेस, एमाले, माओवादीका सिफारिसमा न्यायाधीशको नियुक्तिले न्याय अगाडि ‘अ’ थप्न मद्दत ग-यो। आजभन्दा ७४ वर्षअघि बीपी कोइरालाले भारतीय नागरिकताधारी हरिप्रसाद प्रधानलाई ल्याएर प्रधानन्यायाधीश बनाए। उनले प्रधानमन्त्री भइसकेका टंकप्रसाद आचार्यलाई न्यायालयको मानमर्दन गरेको आरोपमा दण्ड जरिवाना तिराए। ‘मेरो मुद्दा टाइममा नलिई न्यायाधीश र अदालतले कानमा तेल हालेर बसेको छ’ भनेर राष्ट्रिय कांग्रेसको बुलेटिनमा लेखिएको विषयमा उनै प्रधानले अध्यक्ष डिल्लीरमण रेग्मीलाई जेलको बास दिलाए। अर्का न्यायाधीश रत्नबहादुर विष्टले पञ्चायत त्यसमाथि राजा महेन्द्रको दबदबा रहेको त्यो समयमा राजाकै ससुरालाई हराउने आँट गरे। राजीनामा बोकेर दरबार पसेका उनी राजाबाट नगदसहित स्याबास पाएर फर्किएको एक महिनापछि प्रधानन्यायाधीश बनाइए। नियत नियमभन्दा माथि हुन्छ। असल नियत बोक्नेका लागि भविष्य कठिन होला, अन्धकार हुँदैन। खराब मानिस पनि असल मानिसकै खोजीमा हुन्छ। पशु भनिदा रिसाउनेहरु बाघ भन्यो भने गद्गद् हुन्छन्।

भूगोल, जात, क्षेत्र, पार्टी, नेताको आरतीका आधारमा ठूलाबडाको चयन हुन थाल्यो। तर तिनीहरुले काममा सुगन्ध छर्न सकेनन्।

कुनैबेला राजा राजेन्द्रविक्रम शाहकी शक्तिशाली महारानी राजेन्द्रलक्ष्मीका अति विश्वासपात्र गगनसिंह यति शक्तिशाली सेनापति थिए कि प्रधानमन्त्री फत्तेजंग हरघडी उनको चाकरीमा बिताउँथे। राज्यका संवेदनशील निकाय उनैको जिम्मामा थियो। युवराज सुरेन्द्रलाई हटाएर आफ्ना छोरा राजकुमार रणेन्द्रलाई राजा बनाउने दाउपेचमा प्रमुख भूमिका निर्वाह गरेका गगनसिंह पूजा गरिरहेकै अवस्थामा अज्ञात व्यक्तिको आक्रमणमा मारिए। गगनसिंहको उदय राजा, मुख्तियारलगायत कसैलाई मन परेको थिएन। गगनसिंहको हत्याको खबरले विचलित रानीले हत्यारा पत्ता लगाउन कोतमा भाइभारदार भेला गराइन। पोल खोलाखोलले काटाकाटको अवस्था आयो। त्यही रक्तरन्जित घट्ना राणाशासन अन्त्यको पूर्वाभ्यास बन्यो। जुनसुकै आसनमा बसे पनि कर्मको फल नभोगी सुखै छैन। महाभारत चिहाउनुस् त भीष्म स्वयं गंगापुत्र थिए। तर जिन्दगीभर पापको अन्नले काया चलाउनुप-यो। वाणको शिर शैय्यामा प्राण पखेरु उड्यो। अनि हामी कसरी भन्न सक्छौं- गंगा नुहाएर पाप पखालिन्छ ? मसान घाट, शिखर र सिंहासनमा मानिस सधैं एक्लो हुन्छ।

अहिले पनि हाम्रो समाजमा कुशासनले दिएको पुस्तौनी पीडाभन्दा सर्पले डसेको समाचार शक्तिशाली छ। संविधानका धाराभन्दा सुन्धाराको पिरलो बढी छ। मुलुकी ऐन बुझ्न कानून पढ्नुपर्छ, बिरालाले काटेको बाटो, खुर्सानी–कागती उनेर ढोकामा झुण्ड्याउने परम्परा खुलापुस्तक झैं लाग्छ। तीनैपुस्ता यसले दिने सन्देशसँग भलीभाँती छ। एकातिर एउटा शिशु दूध खान नपाएर कुपोषित हुन्छ, अर्कातिर त्यही दूध आत्मशान्तिका लागि ढुंगामा खन्याउने होड चलिरहेको हुन्छ। मन्दिरभित्र पसेर माग्ने भक्त कहलाउँछ, कचौरा थाप्ने मगन्ते कहलाइन्छ।

पुराना दुखको स्मरणमा नयाँ आँसुको बर्बादीमा हाम्रो धेरै पुस्ता गुज्रिएको छ। पहिला पहिला डाक्टर अस्पताल खोल्थे, अहेवलाई जागिर दिन्थे। अहिले अहेब अस्पताल खोल्छन, डाक्टर भर्ना गर्छन्। ज्योतिषले प्राय सबैलाई भन्ने समान सन्देश हुने गर्छ-‘तपाईंको मन नौनी जस्तो छ। सबैलाई सहयोग गर्नुहुन्छ, तर जश पाउनुहुन्न। बन्ला बन्ला जस्तो भएर काम बिग्रन्छ। पैसा जोगाउने प्रयास गर्नुहुन्छ, सक्नुहुन्न।’ यी अभिव्यक्ति ज्योतिष जान्ने भएर नभई मानिसका समस्या र बानी समान देखिएको हो।

शक्ति चाहिए ज्ञान, सम्मान चाहिए चरित्र बनाउनुपर्छ। एकपटक घोकेको लोकसेवालाई सधैंको हतियार बनाएर सरकारी सिन्दुरको घमण्डले फुल्नु भनेको आफैंलाई फैलनबाट रोक्नु हो।

शक्ति चाहिए ज्ञान, सम्मान चाहिए चरित्र बनाउनुपर्छ। एकपटक घोकेको लोकसेवालाई सधैंको हतियार बनाएर सरकारी सिन्दुरको घमण्डले फुल्नु भनेको आफैंलाई फैलनबाट रोक्नु हो। अहंकार र संस्कारमा पाइने भिन्नता भनेको अहंकार अरुलाई दुखाएर खुसी हुन्छ, संस्कार आफूलाई झुकाएर सन्तुष्ट कहलाउँछ। मलाई कसैको आवश्यकता पर्दैन भन्ने घमण्ड र सबैका लागि म लालहीरा हुँ भन्ने भ्रम दुवै मानसिक र शारीरिक स्वास्थ्यका लागि हानिकारक हुन्।

एउटा सत्य के हो भने जीवन अपार सम्भावनाको नदी हो। बाल्टी लिएर बस्ने कि चम्चा आफ्नो रोजाइ हो। राम्रो पढ्नु , परीक्षामा उत्कृष्ट हुनु राम्रो हो। तर पढ्दै नपढेका र पढाइमा सफलता नभएकाहरु पनि जिन्दगीमा सफल र खुसी छन्। पढेर उत्कृष्ट भएकाहरु जीवनको कसीमा असफल छन्। कागज आफू रुँदैन, बरु अरुलाई रुवाउँछ। चाहे त्यो प्रेमपत्र, परीक्षाफल, मेडिकल रिपोर्ट नै किन नहोस्। कुनै एक वैज्ञानिकले अनुभव शेयर गर्दै भनेका छन्- आमाले मलाई सधैं भन्नुहुन्थ्यो, खुसी नै जीवनको साँचो हो। विद्यालय गएपछि मलाई सोधियो- के बन्न चाहन्छौं ? मैले लेखिदिएँ- खुसी। उनीहरुको प्रतिक्रिया थियो- तिमीले प्रश्न बुझेनौं। मैले भनिदिएँ- तिमीहरुले जिन्दगी बुझेनौ। जहिलेसम्म घोडा दौडमा पहिलो हुन्छ नि, त्यो बेलासम्म घोडाधनीलाई चना महँगो लाग्दैन। नबिर्सौं संघर्ष र सत्य सधैं एकसाथ हिँड्छन्।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  १० : २५ बजे

आज २०८२ साल साउन १६ गते शुक्रबाको राशिफल

काठमाडौं – आज २०८२ साल साउन १६ गते शुक्रबार। साउन

विपद्जन्य घटनाबाट बागमती प्रदेश बढी प्रभावित

काठमाडौं – नेपालमा मनसुन भित्रिएको दुई महिना पूरा भएको छ

माओवादीमा चुलिँदै दुई लाइन संघर्ष, प्रचण्डप्रति सार्वजनिक रुपमै पोखिन थाल्यो असन्तुष्टि

काठमाडौं- नेकपा माओवादी केन्द्रमा उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल

मधेसमा सुक्खाः बजेट व्यवस्थापन गर्न सरकारलाई निर्देशन

काठमाडौं – राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेसमा

जलस्रोत विधेयकमाथिको दफावार छलफल टुङ्ग्याइदै

काठमाडाैं – राष्ट्रियसभाअन्तर्गतका विधायन व्यवस्थापन समितिमा जारी जलस्रोत विधेयक, २०८१