बेइजिङ- चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीलाई चीन भ्रमणका लागि निमन्त्रणा दिएका छन् । सन् २०१७ पछि दुवै देशका नेताबीचको यो पहिलो औपचारिक वार्ता हो । यो भेट जापानका नयाँ प्रधानमन्त्रीसँगको पहिलो छलफलअघि भएको हो ।
चीन र क्यानाडाबीचको सम्बन्ध पछिल्ला वर्षहरूमा पश्चिमी मुलुकहरूमध्ये सबैभन्दा तनावपूर्ण मानिँदै आएको छ । तर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र सी जिनपिङबीच बिहीबार भएको व्यापार तनाव घटाउने सहमति पश्चात् दुवै देशबीचको वातावरण केही सहज बन्दै गएको छ । सीले दक्षिण कोरियामा भइरहेको एपेक शिखर सम्मेलनमा कार्नीलाई सम्बोधन गर्दै भने, “दुवै पक्षको संयुक्त प्रयासले चीन–क्यानाडा सम्बन्धमा सकारात्मक सुधार आएको छ । चीन यो सम्बन्धलाई सही दिशामा लैजान क्यानाडासँग काम गर्न इच्छुक छ ।”
प्रधानमन्त्री कार्नीले सीको निमन्त्रणालाई खुशीपूर्वक स्वीकार गर्दै हालका विषयहरू समाधान गर्न ‘रचनात्मक र व्यावहारिक संवाद’ आवश्यक रहेको बताए । उनले यस्तो संवादले ‘दिगो र समावेशी अन्तर्राष्ट्रिय प्रणाली निर्माणमा योगदान पुर्याउने’ विश्वास व्यक्त गरे । सन् २०१८ मा क्यानाडामा अमेरिकी अनुरोधमा एक वरिष्ठ चिनियाँ दूरसञ्चार कार्यकारीको गिरफ्तारीपछि चीनले दुई क्यानाडाली नागरिकलाई पक्राउ गरेको घटनाले सम्बन्धमा गहिरो चिसोपन ल्याएको थियो ।
त्यसयता व्यापारिक तनाव पनि बढ्दै गएको छ । हालै क्यानाडाले चीनमा बनेका स्टिलमा २५ प्रतिशत कर लगाएको थियो भने त्यसको जवाफी रूपमा चीनले क्यानाडाली क्यानोला आयातमा करिब ७६ प्रतिशत भन्सार शुल्क बढाएको थियो । क्यानाडा विश्वको अग्रणी क्यानोला उत्पादक राष्ट्रमध्ये एक हो । क्यानोलाको प्रयोग खाना पकाउने तेल, पशु आहार र बायोडिजेल उत्पादनमा गरिन्छ । दुवै देश अमेरिकी राष्ट्रपति ट्रम्पको व्यापारिक नीतिबाट प्रभावित भएका छन् ।
बिहीबार ट्रम्पले चीनमाथिको फेन्टानिलसम्बन्धी कर घटाउने र अमेरिकी सोयाबिन आयात बढाउने सम्झौता गरे पनि उनले शनिबार क्यानाडाली वस्तुहरूमा थप १० प्रतिशत कर बढाउने घोषणा गरेका छन् । प्रधानमन्त्री कार्नीले एपेकमा सम्बोधन गर्दै ‘नियममा आधारित खुला व्यापारको पुरानो युग समाप्त भएको’ उल्लेख गर्दै अब राष्ट्रहरूले नयाँ आर्थिक सन्तुलन खोज्नुपर्ने बताए । उनले एसियामा ऊर्जा आपूर्तिकर्ता र एलएनजी निर्यातकको रूपमा क्यानाडाको भूमिकालाई पनि जोड दिए ।
यसपछि राष्ट्रपति सीले जापानकी नवनियुक्त प्रधानमन्त्री साने ताकाइचीसँग पनि पहिलोपटक भेट गरे । चिनियाँ सरकारी मिडियाका अनुसार सीले जापानसँग नयाँ युगका आवश्यकताअनुरूप स्थिर र रचनात्मक सम्बन्धका लागि सहकार्य गर्न तयार रहेको बताए । प्रधानमन्त्री ताकाइचीले भने आफ्नो प्रारम्भिक वक्तव्यमा ‘आपसी समझदारी र सहयोग’ बढाउने आवश्यकता औँल्याउँदै चिनियाँ गतिविधिबारे ‘गम्भीर चिन्ता’ व्यक्त गरे ।
उनले चीनमा रहेका जापानी नागरिकहरूको सुरक्षाको विषय पनि उठाएको जापानी सञ्चारमाध्यमले जनाएको छ । टोकियो विश्वविद्यालयका प्राध्यापक यी कुआङ हेङका अनुसार चीन र जापान दुवै स्थिरतालाई साझा प्राथमिकता ठान्छन्, यद्यपि नेताहरूबीच सावधानी र दूरी अझै कायम छ ।


 
                             
                    










प्रतिक्रिया