काभ्रेपलाञ्चोक– जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटमा संलग्न थप सात जना काभ्रेपलाञ्चोकमा पक्राउ परेका छन् । गत भदौ २४ गते काभ्रेपलान्चोकमा विभिन्न सरकारी तथा निजी भवन र सम्पति माथि तोडफोड, आगजनी र लुटपाटमा संलग्न उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धुलिेखलले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार पक्राउ पर्नेमा पनौती नगरपालिका–३ का अनिष सापकोटा, वडा नं ८ का सुमन केसी, वडा नं १० का साकार केसी, वडा नं २ का स्यान्जी भन्ने सुवाष तामाङ, बेथानचोक गाउँपालिका–६ का समीर तामाङ, वडा नं ३ का चिउरे भनिने होमप्रसाद तिमल्सिना र महाभारत गाउँपालिका–४ का ङेमासाङ मुक्ताान रहेका छन् ।
यस्तै पनौती नपा–३ का अनिष सापकोटा विरुद्ध यसअघिसमेत मुद्दा दर्ता भएको थियो । सापकोटा विरुद्ध विसं २०७२ मा अभद्र व्यवहार मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । जेनजी आन्दोलनपछि सापकोटा सामाजिक सञ्जालमा विभिन्न धम्की दिँदै गालीगलौजमा उत्रिएको जनाइएको छ ।
बेथानचोकका होमप्रसाद तिमल्सिना विरुद्ध विसं २०८१ मा अभद्र व्यवहार गरेको भन्दै मुद्दा दर्ता भएको थियो । यसैगरी पनौती नपा–२ का तामाङ विरुद्ध तीन पटक चोरी मुद्दा दर्ता भएको छ । कार्यालयका अनुसार काभ्रेपलाञ्चोक र मातहत प्रहरी एकाइबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ । उनीहरूमाथि काभ्रेपलान्चोक जिल्ला अदालतबाट अपराधिक उपद्रव मुद्दामा सात दिनको म्याद थप गरी कार्यालयको हिरासतमा राखी अनुसन्धान भइरहेको हो ।
जिल्लाका विभिन्न स्थानमा आगजनी र लुटपाटमा संलग्न विरुद्ध कार्यालयमा उजुरी परेको जनाइएको छ । अन्य आन्दोनका क्रममा अपराधिक घटनामा संलग्नको खोजी भइरहेको काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले बताए ।
गत भदौ तेस्रो साता भएको आन्दोलनका क्रममा तोडफोड एवं आगजनी घटनाको काभ्रेपलाञ्चोक प्रहरीले उजुरीका आधारमा अनुसन्धान गर्ने जनाएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलमा परेको छ वटा निजी संरचनामा भएको क्षतिबारे उजुरी परेपछि विशेष अनुसन्धान सुरु गरिएको जनाइएको छ । कार्यालयले हालसम्म जुटेको प्रमाणका आधारमा थप अनुसन्धान गरी पक्राउ गर्नेसमेतको योजना बनाएको हो ।
कार्यालयले आफ्नो मातहतको इलाका प्रहरी कार्यालय बनेपा तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न ११ जनालाई भने पक्राउ गरी कारबाहीसहित थप अनुसन्धान गरिरहेको जनाएको छ । जाहेरीबाहेक अन्य सरकारी संरचनामा क्षति पुगेको तथा पु¥याउनेबारे अनुगमन, निरीक्षण तथा अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता प्रनाउ विष्टले बताए । उनका अनुसार ठूला चाडवाडले केही सुस्ताए अब अनुसन्धानलाई तीव्रता दिइनेछ ।
प्रहरीले विभिन्न स्थानमा ध्वंसात्मक गतिविधि मच्चाउने र त्यस कार्यमा संलग्न गराई उक्साउनेको पहिचान र प्रमाणका आधारमा पक्राउ गर्ने योजना बनाएको हो । गत भदौ २४ गतेको ध्वंसात्मक घटनामा काभ्रेपलाञ्चोकको बनेपा, पनौती र धुलिखेलमा गरिएको तोडफोड, लुटपाट र आगजनीमा संलग्नको पहिचान गरी कारबाही गर्न सुरक्षा निकायमा पीडितले जाहेरी दर्ता गराएका हुन् । उक्त जाहेरीमा घटनामा संलग्न तथा घटनाको वातावरण सिर्जना गर्ने, गराउनेका बारेमा प्रमाण पेस गरिएको प्रहरीले जनाएको छ ।
विशेषगरी सरकारी सम्पत्ति र सार्वजनिक क्षेत्रमा आगजनी र तोडफोड गर्नेहरूको पहिचानका लागि प्रहरीले यसअघि नै उजुरी गर्न इमेलमार्फत आह्वान गरेको थियो । प्रदर्शनका क्रममा काभ्रेपलाञ्चोकमा विभिन्न १८ वटा सरकारी तथा निजी संरचनामा ठूलो क्षति पर्याइएको थियो । विशेषगरी नगरपालिका भवन, प्रहरी कार्यालय तथा जनप्रतिनिधिको घरमा तोडफोड र आगजनी तथा लुटपाट गरी क्षति पुर्याइएको हो । ‘जेनजी’ आन्दोलनका क्रममा काभ्रेपलाञ्चोकका चार जनाले काठमाडौँमा ज्यान गुमाएका थिए ।
यसअघि ‘जेनजी’ को आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका थप ५३ कैदीबन्दीलाई प्रहरीले काभ्रेपलाञ्चोकबाट विभिन्न मितिमा पक्राउ गरी कार्यालयले जिल्ला कारागार धुलिखेलमार्फत सम्बन्धित कार्यालय पठाएको जनाएको छ । त्यसबेला प्रहरीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–९ बाट ७३० राउण्ड गोलीसहित आठ नालाई पक्राउ गरेको थियो ।


 
                             
                    










प्रतिक्रिया