रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले फर्किन दिएन, शव चिन्ने आधार बन्यो हातको ट्याटु  « Khabarhub

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले फर्किन दिएन, शव चिन्ने आधार बन्यो हातको ट्याटु 


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– ‘भरे कुरा गरौँला ।’ गत बुधबार बिहान करिब ६ बजे रसुवाबाट श्रीमती रविनासँग फोनमा कुरा गर्दा सविन रानामगरले यति भनेर फोन राखेका थिए । काम सुरु हुन लागेको थियो । यता रविना पाँच वर्षीया छोरीलाई विद्यालय पठाउने तयारीमा थिइन् ।

त्यसको केही समयपछि रसुवाको भोटेकोशीमा भीषण बाढी आयो । बाढीको खबर पाएपछि रविनाले श्रीमान्लाई फोन गरिन् । फोन उठेन । पटकपटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन । बिहान ‘भरे कुरा गरौँला’ भनेर छुट्टिएको त्यो संवाद नै उनीहरूबीचको अन्तिम बन्न पुग्यो ।

मकवानपुरको भीमफेदी गाउँपालिका–२ का सविन विगत चार वर्षदेखि रसुवाको जलविद्युत् आयोजनामा सवारी चालकका रूपमा कार्यरत थिए । एक महिनाको बिदा लिएर घर आएका उनी केही दिनमै कम्पनीले बोलाएको भन्दै भदौ ७ गते आइतबार काममा फर्किएका थिए ।

सविनकी ठूलीआमा नानीमाया रानाका अनुसार आइतबार घरबाट हिँडेका उनी काठमाडौँ बसेर मङ्गलबार मात्रै रसुवा पुगेका थिए । बुधबारदेखि काम सुरु भएको थियो । 

‘घर आउँदा एक महिनाका लागि बिदा लिएर आएको भन्थ्यो । पाँच/छ दिन हुनेबित्तिकै कम्पनीले बोलायो भनेर काममा फर्किएको थियो,’ उनले भनिन्, ‘मङ्गलबार मात्रै रसुवा पुगेको थियो रे । त्यही बाढी आउने दिनबाट काम सुरु भएको थियो रे । एकैछिनमा सबै सकियो ।’

सम्पर्क टुटेपछि परिवार सुरुका दुई दिन कुनै सुखद खबर आउने आशामा बस्यो । त्यसपछि सविनको खोजीमा आफन्त अस्पताल र शव राखिएका स्थानसम्म पुग्न थाले । 

अन्ततः सोमबार नवलपरासीमा फेला परेको एउटा शवसँग परिवारको खोजी टुङ्गियो । शवको अवस्था बिग्रिएकाले अनुहारबाट पहिचान गर्न कठिन थियो । परिवारका लागि सविनलाई चिनाउने आधार बन्यो उनको बायाँ हातमा रहेको ट्याटु ।

भीमफेदी गाउँपालिका–२ का वडाध्यक्ष काशीराम बज्युले हातमा रहेको ट्याटुका आधारमा परिवारले सविनको शव पहिचान गरेको जानकारी दिए । सविनका बुबा १४–१५ वर्षदेखि वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा छन् । परिवारमा आमा, भाइ, श्रीमती रविना र पाँच वर्षीया छोरी छन् ।

सविनको परिवार फोन आउने आशामा बसिरहँदा हेटौँडा उपमहानगरपालिका–५ ढुङ्गेधारामा अर्को परिवार पनि उस्तै बेचैनीमा थियो । 

दुई वर्षदेखि चिलिमे जलविद्युत् आयोजनामा टिपर चालकका रूपमा कार्यरत उद्धव खड्काले पत्नी निरू र छोरी निमिसालाई पनि आफूसँगै रसुवा लगेका थिए । छोरीलाई विद्यालय जान सहज होस् भनेर विद्यालय नजिकै कोठा भाडामा लिएर परिवारलाई राखेका थिए ।

भदौ १० गते बिहान भोटेकोशीको बाढीका दृश्य सामाजिक सञ्जालमा फैलिन थालेपछि हेटौँडामा रहेका उद्धवका आफन्तले फोन गर्न थाले । उद्धवको फोन लागेन । पत्नी निरूको नम्बरमा पनि सम्पर्क हुन सकेन । केही समयका लागि तीनै जना बेखबर भए । भदौ ११ गते हेटौँडा उपमहानगरपालिकाको टोली उनीहरूसहित सम्पर्कविहीन नागरिकको खोजीका लागि रसुवातर्फ निस्कियो । 

सडक अवरुद्ध भएकाले टोली काठमाडौँमै रोकियो । काठमाडौँका विभिन्न अस्पतालमा खोजी गर्दा उनीहरूबारे जानकारी नभेटिएपछि भदौ १२ गते टोली नुवाकोट पुग्यो । त्यहाँ नेपाल प्रहरीले हेलिकप्टरमार्फत उद्धार गरेकाहरूको सूचीमा दुई नाम भेटिए । निरू खड्का र निमिसा खड्का । आमा–छोरी जीवित थिए । 

उनीहरूको उद्धारपछि हेटौँडा ल्याउने व्यवस्था मिलाइयो । निरू र निमिसा जीवित भेटिएपछि उद्धव पनि कतै उद्धार भएर सुरक्षित स्थानमा होलान् भन्ने परिवारको आशा थपिएको थियो तर उद्धवको नाम कुनै उद्धार सूचीमा भेटिएन । परिवारका सदस्य अस्पतालदेखि सम्भावित स्थानसम्म खोज्दै हिँडे । अन्ततः भदौ १२ गते नवलपरासीमा उनको शव फेला पर्‍यो ।

हेटौँडा–५ का वडाध्यक्ष सुशील घिमिरेका अनुसार कामको व्यस्तताका कारण उद्धव सातामा एक दिनजति मात्रै परिवारसँग बस्न कोठामा आउने गर्थे । 

बाढी आउँदा उनी काममा थिए । कोठामा रहेका निरू र निमिसाले भने बाढी आएको थाहा पाएपछि अरूसँगै भागेर ज्यान जोगाएकी थपइन् ।

;उद्धव शनिबार कोठामा आएर आइतबार काममा गएका रहेछन् । छोरीलाई स्कुल पठाउन सहज होस् भनेर स्कुल नजिकै कोठा भाडामा लिएर परिवारलाई राखेका रहेछन्,’ वडाध्यक्ष घिमिरेले भने, ‘त्यो दिन बिहान एक्कासि बाढी आयो । श्रीमती र छोरी भने कोठामै भएकाले भागेर ज्यान जोगाउन सफल भएछन् ।’ निरू र निमिसा जीवितै हेटौँडा फर्किए । उद्धव भने फर्किएनन् ।

सविन चार वर्षदेखि र उद्धव दुई वर्षदेखि रसुवामा काम गरिरहेका थिए । हेटौँडा उपमहानगरपालिका–१५ भोर्लेका २६ वर्षीय सुमन गोलेलाई भने राम्रो आम्दानीको आशाले दुई महिनाअघि मात्रै रसुवा पुर्‍याएको थियो । 

त्यसअघि हेटौँडा–१५ मा रहेको रिद्धिसिद्धि सिमेन्ट उद्योगमा अपरेटरका रूपमा कार्यरत सुमन रसुवामा हाइड्रोपावरको स्काभेटर चालकका रूपमा काम गर्थे ।

बाढी आएको बिहान उनी रातिको काम सकेर फर्किएका थिए । बिहान करिब ६ बजे श्रीमती रेविकासँग फोनमा कुरा गरे । रातभर काम गरेकाले निद्रा लागेको र अहिले सुत्ने तथा दिउँसो फेरि फोन गर्ने बताएका थिए । 

सुमनकी छिमेकी निर्मला घलानका अनुसार त्यो फोनपछि श्रीमतीसँग उनको फेरि कुरा हुन पाएन । 

‘राम्रो तलब हुन्छ भनेर दुई महिनाअघि मात्रै उता काममा गएको थियो,’ उनले भनिन्, ‘नाइट ड्युटी सकेर बिहान श्रीमतीसँग कुरा गरेको रहेछ । रातभरिको निद्रा छ, अहिले सुत्छु, दिउँसो फोन गरौँला भनेको थियो रे । बिहानै बाढीले बगाएछ ।’

बाढीको खबर पाएपछि परिवारले सुमनलाई पटकपटक फोन गरेको थियो । सम्पर्क हुन सकेन । निर्मलाका अनुसार सुमनका साथीहरूबाट परिवारले पाएको जानकारीमा बाढी आउँदा उनी सुतिरहेका थिए । 

साथीहरूले उठेर भाग्न आग्रह गरे पनि समयमै बाहिर निस्कन नसकेको जानकारी परिवारले पाएको उनले बताइन् । परिवारको प्रतीक्षा अन्ततः सुखद रहेन । सुमनको शव पनि नवलपरासीमा फेला पर्‍यो । उनको परिवारमा श्रीमती, चार वर्षीय छोरा र भाइ छन् ।

सविन, उद्धव र सुमनका घर फरक थिए । रसुवा पुगेको समय फरक थियो । जिम्मेवारी पनि फरक थिए । तर तीनै जनालाई घरबाट टाढा पुर्‍याउने कारण एउटै थियो । रोजगारी । त्यही रोजगारीले तीनै जनालाई रसुवाका जलविद्युत् आयोजनासँग जोडेको थियो । 

बाढी आउनुअघिसम्म तीनै जनाको परिवारसँग सम्पर्क थियो । सविनले श्रीमतीलाई ‘भरे कुरा गरौँला’ भनेका थिए । सुमनले रातिको कामपछि अहिले सुत्ने र दिउँसो फोन गर्ने बताएकाथिए । उद्धवको पनि परिवारसँग अघिल्लो दिनसम्म कुराकानी भइरहेको थियो । त्यसपछि फोनहरू लाग्न छाडे ।

परिवारले सुरुमा फोनको प्रतीक्षा गरे । त्यसपछि उद्धार गरिएकाहरूको सूचीमा नाम खोजे । अस्पताल पुगे । शव राखिएका स्थानसम्म आफ्ना मान्छेको खोजी गर्दै हिँडे । उद्धवको परिवारले निरू र निमिसालाई जीवित भेटेपछि उनी पनि फर्किने आशा राखेको थियो । सविनको परिवारले भने अन्ततः अनुहारबाट समेत चिन्न नसकिएको शवलाई हातको ट्याटुबाट पहिचान गर्नुपर्‍यो ।

रोजगारीका लागि घर छाड्दा तीनै जनासँग घर फर्किने योजना थियो । सविन केही दिनअघि मात्रै बिदा छोट्याएर काममा फर्किएका थिए । सुमन दुई महिनाअघि राम्रो कमाइको आशामा रसुवा पुगेका थिए । 

उद्धवले पत्नी र छोरीलाई समेत आफूसँग राखेर त्यहीँ परिवारको भविष्य बनाउने प्रयास गरेका थिए । भोटेकोशीको एक बिहानले ती योजना अधुरै छाडिदियो । 

फेरि फोन गर्ने भनेर छुट्टिएका सविन र सुमनको फोन आएन । उद्धवलाई पर्खिरहेकी पत्नी र छोरी आफैँ बाढीबाट जोगिएर फर्किए, उनी फर्किएनन् । रोजगारीका लागि घरबाट निस्किएका तीनै जनाको खोजी अन्ततः घर फर्किने बाटोमा होइन, शव पहिचान गर्ने ठाउँमा पुगेर टुङ्गियो । रासस

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  ११ : ३२ बजे

भोटेकोशी बाढी : ज्यान गुमाएका ४६ जनाको शव गोकर्ण जंगलमा मध्यराति गाडियो

काठमाडौं- रसुवास्थित भोटेकोशीमा बुधबार बिहान आएको भीषण बाढीबाट ज्यान गुएमाकामध्ये

रसुवा बाढीमा निधन भएका विदेशीको शव हस्तान्तरणका लागि पूरा गर्नुपर्ने छ ९ चरण

काठमाडौं– यही भदौ १० गते बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली

प्रतिनिधिसभा बैठक बुधबार बस्दै

काठमाडौं– प्रतिनिधिसभाको बैठक यही भदौ १७ गते बुधबार दिउँसो १ः००

कांग्रेसले भन्यो : रसुवा बाढीबारे भ्रामक सूचना फैलिए, सदनबाट तथ्य सार्वजनिक गरियोस्

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक बासना थापाले रसुवा बाढीपछि भ्रामक

सिटिजन लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख सहयोग

काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चीनको तिब्बत क्षेत्रबाट आएको आकस्मिक बाढी