भोटेकोशी बाढी : तत्कालीन विपद् कि हिमाली जोखिमको ठूलो संकेत ? « Khabarhub

भोटेकोशी बाढी : तत्कालीन विपद् कि हिमाली जोखिमको ठूलो संकेत ?

रिपोर्टले दिएको थियो ३ हजारभन्दा बढी भवन जोखिममा पर्ने चेतावनी


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 7 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीलाई एउटा आकस्मिक प्राकृतिक विपद्का रूपमा मात्रै बुझेर हुँदैन।

गत वर्ष असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीपछि भएको वैज्ञानिक अध्ययन, घटनाको भूगर्भीय मूल्यांकन र अहिले गरिएको स्थलगत निरीक्षणले नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा बाढी, हिमताल, हिमनदी, पहिरो, गेग्रान र नदीको बदलिँदो भू-आकृतिबीचको सम्बन्ध झनै गम्भीर बन्दै गएको देखाएका छन्।

भोटेकोशी-त्रिशूली करिडोरमा यसपटक देखिएको विनाशले भविष्यमा यस्तै वा अझ ठूलो विपद् आएमा यसको प्रभाव कति व्यापक हुन सक्छ भन्ने प्रश्नसमेत उठाएको छ।

चीन-नेपाल सीमापार दुई जलाधारमा गरिएको एक वैज्ञानिक अध्ययनले मात्रै ५७ वटा मोरेन बाँधयुक्त हिमताल पहिचान गर्दै तीमध्ये १५ वटा ‘अत्यन्त उच्च’ र १३ वटा ‘उच्च’ हिमताल विस्फोटनजन्य बाढी (ग्लोफ) जोखिममा रहेको देखाएको छ।

अध्ययनमा पोइकु-भोटेकोशी र ग्यिरोङ-त्रिशूली जलाधारलाई समेटेर रिमोट सेन्सिङ, भौगोलिक सूचना प्रणाली (जीआईएस), मेसिन लर्निङ र हाइड्रोडाइनामिक मोडलिङ प्रयोग गरिएको थियो। अध्ययनले हिमतालको जोखिम मूल्यांकनलाई केवल अनुमानमा आधारित नराखी विगतका ग्लोफ घटनाका तथ्यांक, भू-आकृति र सम्भावित बाढीको बहावलाई गणनामा समेटेको छ।

५७ हिमतालमध्ये २८ उच्च जोखिममा

मनिषराज गौली, खाइहेङ खु, नितेष खड्का, सुहाङ लिउ, सु यीफान, माधव अधिकारीसहितले गरेको अध्ययनमा ०.०१ वर्गकिलोमिटरभन्दा ठूला ५७ वटा टर्मिनल मोराइन-ड्यामेज ग्ल्यासियल लेक्सको मूल्यांकन गरिएको थियो। तीमध्ये १५ वटा ‘अति उच्च’ र १३ वटा ‘उच्च’ ग्लोफ सस्पेक्टिबिलिटी भएका हिमतालका रूपमा वर्गीकरण गरिएको छ।

मोडलले हिमतालको जोखिम निर्धारणमा मोरेन बाँधको औसत ढलान सबैभन्दा प्रभावशाली कारक रहेको देखाएको छ। हिमतालको सम्भावित जोखिम पहिचान गर्न प्रयोग गरिएको इन्सेम्बल मेशिन लर्निङ मोडेलको आरओसी-एयुसी ०.९० र एक्युरेसी ०.८६ रहेको छ।

यसले यी जलाधारमा हिमतालको जोखिमबारे गरिएको मूल्यांकन सामान्य अनुमान नभई तुलनात्मक रूपमा उच्च भविष्यवाणी क्षमता भएको वैज्ञानिक मोडलमा आधारित रहेको देखाउँछ।

यससँगै अर्को अध्ययनले पनि हिमाली क्षेत्रमा विपद्को जोखिम केवल एउटा बाढी वा पहिरोमा सीमित नभई हिमताल, हिमनदी, पहिरो, गेग्रान र नदीको बदलिँदो बहावबीच जोडिएको जटिल जोखिम भएको संकेत गरेको थियो ।

अध्ययनले हिमतालको जोखिम निर्धारणमा हिमताललाई थामेर राख्ने मोरेन बाँधको औसत ढलान सबैभन्दा प्रभावशाली कारक रहेको देखाएको छ। पोइकु-भोटेकोशी र ग्यिरोङ-त्रिशूली जलाधारमा ०.०१ वर्गकिलोमिटरभन्दा ठूला ५७ वटा टर्मिनल  मोराइन-ड्यामेज ग्लासियल लेक्स पहिचान गरिएका छन्।

चरम अवस्थामा हिमताल फुटेमा उत्पन्न हुने बहाव मौसमी उच्च बाढीभन्दा कैयौँ गुणा ठूलो हुन सक्ने र ठूलो क्षेत्र डुबानमा पार्न सक्ने मोडलिङले देखाएको छ।

यसलाई भदौ १० को भोटेकोशी घटनासँग जोडेर हेर्दा एउटा महत्वपूर्ण पक्ष देखिन्छ। हिमाली क्षेत्रमा जोखिम केवल हिमताल फुट्नुमा मात्र सीमित छैन। हिमनदी वा पहाडको भाग भत्किने, त्यसबाट पानी र गेग्रान मिसिएर तीव्र बहाव बन्ने र तल पुग्दा नदीको बहाव तथा भू-आकृति परिवर्तन गर्ने प्रक्रिया पनि जोखिमको हिस्सा हो।

त्यसैले यो अध्ययनले देखाएको जोखिमलाई ‘भविष्यमा हिमताल फुट्यो भने के हुन्छ?’ भन्ने प्रश्नमा मात्र सीमित गर्नु हुँदैन। भोटेकोशी-त्रिशूली जस्तो करिडोरमा हिमताल, हिमनदी, पहिरो, गेग्रान र नदी प्रणालीबीचको सम्बन्धलाई एउटै जोखिम प्रणालीका रूपमा अध्ययन गर्नुपर्ने देखिन्छ।

फुटेमा मौसमी बाढीभन्दा १० गुणासम्म ठूलो बहाव

अध्ययनले चरम अवस्थामा केही हिमताल फुट्दा प्रतिसेकेन्ड ७ हजार ५३२ देखि ३८ हजार २२० घनमिटरसम्म पानीको बहाव उत्पन्न हुन सक्ने देखाएको छ।

यस्तो बहाव मौसमी उच्च बाढीको तुलनामा १० गुणासम्म ठूलो हुन सक्छ। सम्भावित ग्लोफले कतिपय स्थानमा ६० मिटरसम्म गहिरो डुबान गराउन सक्ने मोडलिङले देखाएको छ।

जोखिम पानीमा मात्र सीमित छैन। सम्भावित ग्लोफबाट ३ हजारभन्दा बढी भवन, करिब ५० पुल, नौ जलविद्युत् आयोजना र करिब ५० किलोमिटर सडक जोखिममा पर्न सक्ने अध्ययनको निष्कर्ष छ। नेपालतर्फका छ वटा जिल्लालाई पनि उच्च जोखिम क्षेत्रमा राखिएको छ।

ग्लोफ’ मात्रै होइन, हिमपहिरो र लेदेको जोखिम

भदौ १० को घटनाले अर्को महत्वपूर्ण पक्ष देखाएको छ। अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजीएस) को प्रारम्भिक मूल्यांकनअनुसार लाङटाङ क्षेत्रमा हिमनदीसँग सम्बन्धित तीव्र भू-स्खलन वा हिमनदीको भाग भत्किएर बनेको लेदोले ल्हेन्दे खोला र त्रिशूली खोला आसपासका क्षेत्रमा प्रभाव पारेको थियो।

युएसजीएसका अनुसार प्रारम्भिक घटनाबाट उत्पन्न ऊर्जा करिब ५.२ म्याग्निच्युडको भूकम्प बराबर थियो। करिब तीन घण्टापछि ४.२ म्याग्निच्युड बराबरको ऊर्जा उत्पन्न गर्ने अर्को भूकम्पीय घटना पनि रेकर्ड गरिएको थियो।

प्रारम्भिक अध्ययनले उक्त घटना हिमनदीको केही भागसहितको पहिरो थियो वा हिमनदी नै भत्किएको थियो भन्ने विषय अझै निश्चित नभएको जनाएको छ। तर हिमनदीबाट खसेको बरफ र गेग्रानले पानी तथा तलको सामग्री आफूसँग मिसाउँदै तीव्र र लामो दूरीसम्म लेदो तथा बाढी बनाएको देखिएको छ।

यसले भोटेकोशी क्षेत्रमा विपद्को सम्भावित शृंखला बुझ्नुपर्ने देखाउँछ। माथिल्लो हिमाली क्षेत्रमा हिमनदी वा पहाडको भाग भत्किन सक्छ, त्यसबाट पानी, बरफ, चट्टान र गेग्रान तलतिर तीव्र गतिमा आउन सक्छ र नदीमा मिसिएपछि त्यसले सामान्य बाढीभन्दा फरक र धेरै विनाशकारी बहाव सिर्जना गर्न सक्छ।

त्रिशूलीको बाटो बदलियो

नेपाल भौगर्भिक समाजका अध्यक्ष भाष्कर खतिवडासहितको प्राविधिक टोलीले देविघाटदेखि कृष्णभीर क्षेत्रसम्म गरेको स्थलगत अध्ययनले पनि बाढीको प्रभाव पानी घटेपछि समाप्त नभएको संकेत गरेको छ।

टोलीले बाढीपछि त्रिशूली नदीले आफ्नो बाढी मैदानभित्र बहावको दिशा उल्लेख्य रूपमा परिवर्तन गरेको पाएको छ। कतिपय स्थानमा बाढीअघिको भू-आकृति पहिचान गर्नसमेत कठिन भएको छ भने नयाँ क्षेत्रमा ठूलो मात्रामा गेग्रान थुप्रिएको छ।

देविघाटका केही भागमा १० मिटरभन्दा बढी गेग्रानको तह देखिएको छ। महादेव फाँटभन्दा माथिका कृषि जमिनसमेत बाढीले ल्याएको गेग्रानले पुरिएका छन्।

यसको अर्थ अहिले नदीले बोकेको पानीको मात्रा घट्दै गए पनि जोखिम पूर्ण रूपमा घटिसकेको छैन। नदीको नयाँ बहाव, थुप्रिएको गेग्रान र कमजोर बनेका किनारले आगामी दिनमा थप कटान तथा नदी किनार क्षयको जोखिम सिर्जना गर्न सक्छ।

बाढीपछि अर्को विपद्को जोखिम

नेपाल भौगर्भिक समाजले नदीको ‘ट्वे कटिङ’ अर्थात् नदीको पिँध तथा किनारको तल्लो भागमा थप कटान हुन सक्ने सम्भावना औँल्याएको छ। यस्तो कटानले नदी किनार अस्थिर बनाउँदै थप क्षति निम्त्याउन सक्छ।

त्यसैले बाढीपछि प्रभावित क्षेत्रमा अबको प्राथमिकता केवल सडक खुलाउने वा गेग्रान हटाउनेमा सीमित हुन नहुने देखिन्छ। नदीले कुन ठाउँमा नयाँ बाटो बनाएको छ, कहाँ कति गेग्रान थुप्रिएको छ, कुन किनार कमजोर भएको छ र अर्को ठूलो पानी पर्दा नदी कुन दिशामा फैलिन सक्छ भन्ने विषयको प्राविधिक निगरानी आवश्यक छ।

भौगर्भिक समाजले बदलिएको नदीको बहाव, गेग्रानको अवस्था र कटान प्रक्रियाको निरन्तर अनुगमन आवश्यक रहेको जनाएको छ। टोलीले नुवाकोट र रसुवातर्फ थप स्थलगत अध्ययन गरी सम्बन्धित निकायलाई प्राविधिक प्रतिवेदन बुझाउने जनाएको छ।

३० मिनेटमै पुग्छ सीमा क्षेत्र पुग्छ

यस क्षेत्रको अर्को संवेदनशील पक्ष हो, सम्भावित ग्लोफको पूर्वसूचना दिने समय निकै कम हुनु। वैज्ञानिक अध्ययनले खराब अवस्थामा हिमताल फुटेपछि आएको बाढी सीमावर्ती सहरसम्म ३० मिनेटभन्दा कम समयमा पुग्न सक्ने देखाएको छ। यसले बाढीको पूर्वसूचना प्रणालीलाई सामान्य वर्षा वा नदीको जलसतह मापनमा मात्र निर्भर राख्न नसकिने देखाउँछ।

माथिल्लो हिमाली क्षेत्रमा हुने असामान्य घटना पहिचान गर्न हिमताल र हिमनदीको नियमित निगरानी, उपग्रहबाट हुने अनुगमन तथा स्वचालित चेतावनी प्रणाली आवश्यक हुन्छ। त्यसबाट प्राप्त सूचना भोटेकोशी र त्रिशूलीको तल्लो तटीय क्षेत्रसम्म तत्काल पुर्‍याउन सकिए मात्रै सम्भावित क्षति घटाउन सकिन्छ।

पुराना घटनाले देखाएको जोखिम

रसुवागढी-टिमुरे क्षेत्रले सीमापारबाट आएको ठूलो बाढीले एक वर्षमै तहसनहस बनाएको छ। गत वर्ष असार २४ गते पनि तिब्बततर्फको माथिल्लो जलाधारबाट ल्हेन्दे खोलामा आएको आकस्मिक बाढीले रसुवागढी क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति गरेको थियो ।

जिल्ला विपद् व्यवस्थापन समिति रसुवाका अनुसार उक्त विपदमा सडक, पुल, भन्सार, जलविद्युत् आयोजना, सवारीसाधन र अन्य संरचनामा ठूलो क्षति भएको थियो। त्यसपछि सडक, पुल र सीमा पूर्वाधार पुन:स्थापना तथा पुनर्निर्माणको काम अघि बढाइएको थियो।

यो क्षेत्रका लागि यस्तो चेतावनी नयाँ भने होइन। अध्ययनमा गत वर्ष छिरेनमाको ग्लोफले २०० भन्दा बढी मानिसको ज्यान लिएको तथा नेपाल-चीन राजमार्ग र पुलमा ठूलो क्षति पुर्‍याएको उल्लेख छ।

सन् २०१६ मा गोङ्बाटोङ्शा हिमतालबाट आएको ग्लोफ भोटेकोशी उपत्यकामा ढुंगा-माटोसहितको लेदो र अत्यधिक सघन बहावमा परिणत भएको थियो। त्यसले अपर भोटेकोशी जलविद्युत् आयोजनाको इन्टेक बाँध, राजमार्गका विभिन्न भाग र भवनमा क्षति पुर्‍याएको थियो।

यसले भोटेकोशी-त्रिशूली करिडोरमा जोखिमको इतिहास पनि छ र भविष्यको जोखिमसम्बन्धी वैज्ञानिक संकेत पनि उपलब्ध छन् भन्ने देखाउँछ।

विपद्पछि उद्धार होइन, जोखिम घटाउने

भदौ १० को बाढीले एउटा महत्वपूर्ण कमजोरी उजागर गरेको छ। नेपालमा विपद् आएपछि उद्धार र राहतमा ठूलो ध्यान जाने गरेको भए पनि हिमाली क्षेत्रका दीर्घकालीन जोखिमको पूर्वतयारी अझै पर्याप्त हुन सकेको देखिँदैन।

अब भोटेकोशी-त्रिशूली करिडोरमा जोखिमयुक्त हिमतालको प्राथमिकताका आधारमा निगरानी, नदीको नयाँ भू-आकृतिको नक्सांकन, जोखिममा रहेका बस्ती तथा पूर्वाधारको पुनर्मूल्यांकन, प्रभावकारी पूर्वसूचना प्रणाली र सीमापार सूचना आदानप्रदान आवश्यक रहेको देखाएको छ।

विशेषगरी सम्भावित ग्लोफको प्रभाव नेपालमा पर्ने भए पनि जोखिमको स्रोत चीनतर्फका हिमाली क्षेत्रमा समेत हुन सक्ने भएकाले नेपाल र चीनबीचको सहकार्य निर्णायक हुनेछ। हिमतालको अवस्था, सम्भावित बहावको मोडलिङ, पूर्वसूचना र उद्धार योजनामा सीमापार समन्वय भए मात्रै अत्यन्त छोटो समयमा आउने विपद्को क्षति घटाउन सकिन्छ।

भोटेकोशीको बाढीको संकेत

भदौ १० को बाढीलाई केवल ‘असाधारण बाढी’ भनेर टुंग्याउने हो भने यसबाट प्राप्त ठूलो पाठ छुट्न सक्छ। एकातिर वैज्ञानिक अध्ययनले भोटेकोशी-त्रिशूलीसँग जोडिएका दर्जनौँ हिमतालमा उच्च ग्लोफ जोखिम देखाएको छ।

अर्कोतिर युएसजीएसको प्रारम्भिक मूल्यांकनले हिमनदीसँग सम्बन्धित भू-स्खलन वा लेदो सय किलोमिटर तलसम्म प्रभाव पार्न सक्ने देखाएको छ। नेपाल भौगर्भिक समाजको स्थलगत अध्ययनले भने बाढीपछि त्रिशूलीको बहाव नै परिवर्तन भएको र कतिपय स्थानमा १० मिटरभन्दा बढी गेग्रान थुप्रिएको देखाएको छ।

यी तथ्यलाई सँगै राख्दा स्पष्ट हुन्छ, भोटेकोशी-त्रिशूली करिडोरको जोखिम एउटा मात्र विपद्को जोखिम होइन। यो हिमताल, हिमनदी, पहिरो, गेग्रान र नदीको बदलिँदो भू-आकृतिले एकअर्कालाई बढाउन सक्ने बहुआयामिक जोखिम हो।

त्यसैले भदौ १० को बाढीले पुर्‍याएको क्षतिको हिसाब निकाल्नु मात्र पर्याप्त छैन। यसले देखाएको भविष्यको जोखिमको नक्सा बनाउनु र त्यसअनुसार बस्ती, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य पूर्वाधारको सुरक्षा योजना बनाउनु अबको मुख्य चुनौती बनेको छ।

हिमनदीबाट बगेर १०० किलोमिटर तलसम्म असर

अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजीएस) ले पनि भदौ १० कै घटनासँग सम्बन्धित प्रारम्भिक अध्ययनमा लाङटाङ क्षेत्रमा हिमनदीसँग जोडिएको तीव्र भू-स्खलन वा हिमनदीको भाग भत्किएर बनेको ठूलो लेदो र बाढीले करिब १०० किलोमिटर यात्रा गरेको उल्लेख गरेको छ।

युएसजीएसका अनुसार उक्त घटनाले ल्हेन्दे खोला र त्रिशूली खोला हुँदै तलका बस्ती तथा पूर्वाधारलाई प्रभावित गरेको थियो। रसुवागढी सीमा नाका र नेपाल-चीन जोड्ने महत्वपूर्ण राजमार्गसमेत प्रभावित भएको प्रारम्भिक अध्ययनमा उल्लेख छ।

उक्त भू-स्खलनबाट उत्पन्न ऊर्जा करिब ५.२ म्याग्निच्युडको भूकम्प बराबर रहेको र करिब तीन घण्टापछि अर्को ४.२ म्याग्निच्युड बराबरको ऊर्जा उत्पन्न गर्ने भूकम्पीय घटना रेकर्ड भएको युएसजीएसले जनाएको छ। प्रारम्भिक अध्ययनमा हिमनदीको केही भागसहितको पहिरो थियो वा हिमनदी नै भत्किएको थियो भन्ने विषय अझै स्पष्ट नभएको उल्लेख छ।

एउटै घटनाले जोड्छ धेरै जोखिम

हिमाली क्षेत्रमा बाढीको जोखिम बुझ्दा केवल वर्षाको मात्रा हेर्नु पर्याप्त नहुने यी अध्ययनले देखाउँछन्।

हिमनदी पछाडि हट्दा हिमतालको संख्या र आकार बढ्दै गएको, ती हिमतालमा हिमपहिरो, चट्टान खस्ने घटना, अत्यधिक वर्षा, हिमतालको प्राकृतिक बाँध कमजोर हुनेजस्ता कारणले अचानक पानी बाहिरिन सक्ने अध्ययनको निष्कर्ष छ।

त्यस्तो पानी तल झर्दै गर्दा आफूसँगै बरफ, चट्टान, माटो र गेग्रान बोकेर बाढीबाट लेदो र अत्यधिक सघन बहावमा रूपान्तरण हुन सक्छ। यसले सामान्य मौसमी बाढीभन्दा निकै फरक र विनाशकारी अवस्था सिर्जना गर्न सक्छ।

भोटेकोशी-त्रिशूली करिडोरमा यस्तो जोखिम अझ संवेदनशील छ, किनभने यही क्षेत्रमा बस्ती, राजमार्ग, पुल, जलविद्युत् आयोजना र दुई देशबीचको व्यापारिक तथा यातायात संरचना केन्द्रित छन्।

पूर्वसूचना र सीमापार जोखिम व्यवस्थापनमा जोड

अध्ययनहरूले देखाएको जोखिमलाई आधार मान्ने हो भने भोटेकोशी-त्रिशूली करिडोरका लागि विपद् व्यवस्थापनलाई केवल घटना भएपछि उद्धार गर्ने प्रणालीमा सीमित राख्न सकिँदैन।

सम्भावित जोखिमयुक्त हिमतालको नियमित निगरानी, नदीको बदलिएको बहावको नक्सांकन, जोखिममा रहेका बस्ती तथा पूर्वाधारको पहिचान, वास्तविक समयको जल तथा मौसम सूचना, प्रभावकारी पूर्वसूचना प्रणाली र तीव्र उद्धार संयन्त्र आवश्यक देखिन्छ।

अझ महत्वपूर्ण कुरा, भोटेकोशी र त्रिशूलीको माथिल्लो जलाधार चीनतर्फ र तल्लो प्रभाव नेपालतर्फ पर्ने भएकाले जोखिम व्यवस्थापन पनि सीमापार समन्वयमा आधारित हुनुपर्ने अध्ययनले संकेत गरेको छ। सम्भावित ग्लोफको सूचना, जोखिम नक्सा र पूर्वसूचना प्रणालीमा दुई देशबीच सहकार्य भए मात्रै अत्यन्त छोटो समयमा आउने बाढीबाट हुने क्षति घटाउन सकिनेछ।

भदौ १० को बाढीले अहिले एउटा गम्भीर प्रश्न छाडेको छ : ‘हामीले यसलाई एउटा असाधारण विपद्का रूपमा मात्र हेर्ने कि हिमाली क्षेत्रमा बदलिँदै गएको दीर्घकालीन जोखिमको चेतावनीका रूपमा बुझ्ने ?’

उपलब्ध वैज्ञानिक अध्ययन र स्थलगत अवलोकनले दोस्रो विकल्पतर्फ संकेत गर्छन्। हिमताल विस्तार, हिमनदीको परिवर्तन, तीव्र भू-स्खलन र नदीको बदलिँदो भू-आकृति एकअर्कासँग जोडिँदै गएको अवस्थामा भोटेकोशी-त्रिशूली करिडोरको जोखिम व्यवस्थापन अब तत्कालीन राहत र उद्धारभन्दा धेरै अगाडिको विषय बनेको छ।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  २ : २९ बजे

बाढी प्रभावित बालबालिकालाई अनुमति बिना ओसारपसार नगर्न आग्रह

काठमाडौं– राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको

प्रादेशिक अस्पतालको सेवा प्रवाह प्रभावकारी बनाउन मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पताल, धनगढीको

उत्पादन तथा प्रशोधन समूह बाहेक सबैको उपसूचक सकारात्मक

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज ९.२४ अंकले बढेको छ ।

विपद् व्यवस्थापनमा मित्रराष्ट्रबाट अन्तर्राष्ट्रिय प्राविधिक सहयोग पाइरहेका छौँ : परराष्ट्र

कामाडौं– परराष्ट्र मन्त्रालयले विपद् व्यवस्थापनमा बिभिन्न मित्रराष्ट्रबाट अन्तर्राष्ट्रिय प्राविधिक सहयोग

बुधबारदेखि प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने निर्णय

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालको सभापतित्वमा प्रतिनिधि सभाको कार्यव्यवस्था