हेटौँडा– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा–काठमाडौँ जोड्ने वैकल्पिक सडकमा बढेको सवारी चाप कम गर्न बागमती प्रदेश सरकारले भीमफेदी–कोगटे–ईपा–सिस्नेरी सडक सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीले करिब ३५ किलोमिटर लामो उक्त सडक तत्काल आवश्यक मर्मत गरी साना यात्रुवाहक सवारीसाधन सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए।
उनका अनुसार सडकको केही खण्ड कच्ची र अप्ठ्यारो रहेकाले आवश्यक ग्राभेल गर्ने, ग्याबिन लगाउने, ढुङ्गा भर्ने तथा सडक सम्याउने काम गरिनेछ । त्यसका लागि भीमफेदी गाउँपालिकासँग समन्वय गरी प्राविधिक टोली परिचालन गरिएको छ ।
‘भीमफेदीतर्फ अहिले सवारीको अत्यधिक चाप छ, त्यसलाई कम गर्न यो वैकल्पिक सडक सञ्चालन गर्न लागेका हौँ’, मन्त्री केसीले भने, ‘तत्काल मर्मत गरेर बोलेरो तथा साना यात्रुवाहक सवारीलाई यो सडकबाट सञ्चालन गर्ने तयारी छ ।’
प्रदेश सरकारले उक्त सडकलाई दीर्घकालीन रूपमा स्तरोन्नति गर्ने योजना बनाएको छ । चालु आर्थिक वर्षमा बहुवर्षीय योजनाअन्तर्गत सडक स्तरोन्नतिका लागि करिब रु आठ करोड बजेट व्यवस्था गरिएको जनाइएको छ ।
भीमफेदी गाउँपालिकाका अध्यक्ष हीदम लामाले उक्त सडक सञ्चालनका लागि गाउँपालिकाले लामो समयदेखि प्रदेश सरकारसँग माग गर्दै आएको बताए। उनका अनुसार प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीसहित प्राविधिक टोलीले सडकको स्थलगत निरीक्षणसमेत गरिसकेको छ ।
‘यो सडकमा पहिले सुमो सञ्चालन हुने गरेको थियो’, अध्यक्ष लामाले भने, ‘तत्काल मर्मत गरेर पुनः सञ्चालनमा ल्याउन सके अहिले भीमफेदी–कुलेखानीतर्फ परेको सवारी चाप कम गर्न सहयोग पुग्छ ।’
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ जाने सवारीसाधन त्रिभुवन राजपथ, कान्ति लोकपथ तथा भीमफेदी–कुलेखानीतर्फका वैकल्पिक सडकमा केन्द्रित हुँदा सवारी चाप बढेको छ ।











प्रतिक्रिया