युक्रेनमा रुसी ड्रोन आक्रमण : १२ जनाको मृत्यु, २१ घाइते « Khabarhub

युक्रेनमा रुसी ड्रोन आक्रमण : १२ जनाको मृत्यु, २१ घाइते


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

किएभ- रूसले युक्रेनको राजधानी किएभ तथा आसपासका क्षेत्रमा गरेको ड्रोन र ब्यालिस्टिक मिसाइल आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।

युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणका कारण राजधानी र आसपासका क्षेत्रमा ठूलो भौतिक क्षति भएको छ। किएभमा मंगलबार करिब एक दर्जन शक्तिशाली विस्फोट सुनिएका थिए भने आकाशमा समेत आक्रमणका प्रभाव देखिएको एएफपीले जनाएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणको निन्दा गर्दै मृतकमध्ये एक जना भारतीय नागरिक रहेको बताए। उनले रुसी हवाई आक्रमणबाट जनधनको क्षति बढिरहेको भन्दै युक्रेनको हवाई प्रतिरक्षा क्षमता थप सुदृढ गर्न सहयोगी राष्ट्रहरूसँग सहयोगको आग्रह गरेका छन्।

अधिकारीहरूका अनुसार किएभमा मात्रै आठ जनाको मृत्यु भएको छ। मृतकमध्ये अधिकांश रेल सेवामा कार्यरत कर्मचारी रहेको बताइएको छ। ब्यालिस्टिक मिसाइल रेल डिपोमा प्रहार भएपछि उनीहरूको मृत्यु भएको हो।

युक्रेनी रेलवेजका प्रमुख कार्यकारी ओलेक्सान्डर पेर्टसोव्स्कीले रुसी आक्रमणमा कम्पनीका छ जना कर्मचारीको मृत्यु भएको पुष्टि गर्नुभएको छ। उहाँका अनुसार आक्रमणबाट कार्यस्थल पूर्ण रूपमा ध्वस्त भएको तथा विभिन्न स्थानमा आगलागी भएको छ।

किएभको बाहिरी क्षेत्रमा पर्ने बोरिस्पिलमा आवासीय भवनसमेत क्षतिग्रस्त भएको छ। स्थानीय अधिकारीहरूका अनुसार किएभ क्षेत्रका अन्य स्थानमा थप चार जनाको मृत्यु भएको छ। राष्ट्रपति जेलेन्स्कीका अनुसार बोरिस्पिलस्थित क्षतिग्रस्त भवनबाट करिब ५० जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको छ।

युक्रेनी अधिकारीहरूले जापोरिझियामा भएको आक्रमणमा चार जना घाइते भएको तथा दक्षिणी ओडेसा क्षेत्रमा समेत रुसी आक्रमण भएको बताएका छन्।

यसैबीच, रूसको रक्षा मन्त्रालयले आफ्ना सेनाले लामो दूरीका हतियार र आक्रमणकारी ड्रोन प्रयोग गरी युक्रेनका विभिन्न क्षेत्रमा प्रहार गरेको जनाएको छ। मन्त्रालयका अनुसार किएभ र आसपासका क्षेत्रमा सैन्य–औद्योगिक तथा इन्धन र ऊर्जा पूर्वाधारलाई लक्षित गरिएको थियो। ओडेसा क्षेत्र तथा ओडेसा र चोर्नोमोस्र्कका बन्दरगाह पूर्वाधारमा समेत प्रहार गरिएको रूसी पक्षले जनाएको छ।

युक्रेनी वायु सेनाले किएभ र आसपासका क्षेत्रमा ब्यालिस्टिक हतियार तथा अन्य हवाई आक्रमणको खतरा कायमै रहेको भन्दै स्थानीय बासिन्दालाई सुरक्षित आश्रयस्थलमा बस्न आग्रह गरेको थियो।

रुसले हालैका साताहरूमा किएभ तथा आसपासका क्षेत्रमा हवाई आक्रमण तीव्र पारेको छ। लामो समयदेखि जारी युद्ध अन्त्यका लागि अमेरिकी मध्यस्थतामा वार्ता प्रक्रिया अघि बढिरहे पनि क्रेमलिनले आफ्ना प्रमुख मागहरूबाट पछि नहटेको बताइएको छ।

युक्रेनको सीमा सुरक्षा निकायका अनुसार रूसले नेटो सदस्य राष्ट्र रोमानियासँग जोडिएको सीमावर्ती क्षेत्रमा समेत ड्रोन आक्रमण गरेको छ। रोमानियाले यस वर्ष आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका रुसी ड्रोनमध्ये दुईवटालाई गोली हानी खसालेको घोषणा गरिसकेको छ।

यसैबीच, युरोपेली सङ्घका रक्षा तथा विदेशमन्त्रीहरू युक्रेनमाथि बढ्दो रुसी हवाई आक्रमणबारे छलफल गर्न मंगलबारदेखि आयरल्यान्डमा भेला हुँदैछन्।

पछिल्ला साताहरूमा रूस र युक्रेन दुवै पक्षले गोदाम, व्यवसाय, तेल तथा बन्दरगाहका पूर्वाधार र पानीजहाजलगायतका लक्ष्यमा लामो दूरीका आक्रमण बढाएका छन्। त्यससँगै नागरिक हताहती पनि बढ्दै गएको छ।

युक्रेनले विशेषगरी ब्यालिस्टिक मिसाइलबाट हुने खतराविरुद्ध प्रयोग हुने अमेरिकी निर्मित प्याट्रियट हवाई प्रतिरक्षा प्रणाली र अवरोधक मिसाइलको अभाव झेलिरहेको जनाएको छ। हवाई प्रतिरक्षा क्षमता कमजोर हुँदा रुसी आक्रमणबाट राजधानी तथा अन्य प्रमुख क्षेत्रमा नागरिक र पूर्वाधारमाथिको जोखिम बढेको युक्रेनी पक्षको भनाइ छ।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  ४ : ४६ बजे

रसुवापछि तातोपानी नाका पनि बन्द : चीनबाट हुने आयात अब मुस्ताङको कोरलाबाट

काठमाडौं– भोटेकोशीमा गत बुधबार आएको बाढीले रसुवा नाका अनिश्चितकालका बन्द

सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सबै सरोकारवालाको अपनत्व हुनेगरि

रास्वपा सभापति लामिछानेलाई भेटेर चिनियाँ राजदूतले भने : उद्धारदेखि पुनर्निर्माणसम्म नेपालको साथमा छौँ, सघाउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका

बाढीबाट प्रभावित नेपाल टेलिकमका ११३ साइट सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित थप तीन वटा साइट

भारतमा भेटिए नौ शव, पश्चिम नवलपरासीमा ६८ वटा व्यवस्थापन (तस्बिरहरू)

पश्चिम नवलपरासी- रसुवा बाढीमा परी पश्चिम नवलपरासीको नारायणी नदी क्षेत्रमा हालसम्म