रसुवापछि तातोपानी नाका पनि बन्द : चीनबाट हुने आयात अब मुस्ताङको कोरलाबाट « Khabarhub

रसुवापछि तातोपानी नाका पनि बन्द : चीनबाट हुने आयात अब मुस्ताङको कोरलाबाट


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोटेकोशीमा गत बुधबार आएको बाढीले रसुवा नाका अनिश्चितकालका बन्द भएसँगै जोखिमको संकेत देखिएको भन्दै चीनले सिन्धुपाल्चोकस्थित तातापानी नाका पनि बन्द गर्ने घोषणा गरेको छ । चीनको यो कदमसँगै नेपालसँग उत्तरी सीमा बाट हुँदै आएको व्यापार प्रभावित बन्न पुगेको छ ।

रसुवा नाका पूर्ण प्रभावित भएपछि तातोपानी नाकाबाट सामाग्री पैठारी गर्ने प्रतीक्षामा रहेका थिए । तर, उक्त नाका पनि चीनले बन्द गरेको घोषणा गरेपछि अब व्यवसायीले मुस्ताङको केरला नाका हुँदै सामग्री आपूर्ति गर्नुपर्ने भएको छ ।

तर, रसुवा र तातोपानी नाकाको तुलनामा कोरला नाकाबाट सामग्री काठमाडौं ल्याउन झण्डै दोब्बर समय लाग्ने व्यवसायीले बताएका छन् । यसका साथै, नेपालतर्फको केही खण्ड सडकको अवस्थामा पनि कमजोर रहेकाले कठिन हुने उनीहरूको भनाइ छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा नेपालमा २० खर्ब ९६ अर्ब ३७ करोड ९० लाख ७० हजार रुपैयाँ बराबरको आयात हुँदा चीनबाट ४ खर्ब २५ अर्ब २४ करोड ७० लाख ११ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । जुन कुल आयातको २०.२८ प्रतिशत हो ।

जसमध्ये उक्त समयमा मुस्ताङ भन्सार नाकाबाट १४ अर्ब ४० करोड ६७ लाख २८ हजार, रसुवाबाट ४५ अर्ब ७३ करोड ८२ लाख ६४ हजार र तातोपानीबाट ४७ अर्ब ४८ करोड ६१ लाख १८ हजार बराबरको वस्तु आयात भएको थियो ।

गत आर्थिक वर्षमा चीनका तीनवटा नाकाबाट कुल १ खर्ब ७ अर्ब ६३ करोड ११ लाख १० हजार रुपैयाँको वस्तु आयात भएको थियो । विभागको तथ्यांकअनुसार चीनबाट आयात हुने कुल सामग्रीको ठूलो हिस्सा चीनतर्फका नाकाभन्दा पनि अन्तर्राष्ट्रिय विमानस्थल र अन्य नाका हुँदै आएको देखिन्छ ।

गत आर्थिक वर्षमा आएको बाढीको कारण तातोपानी नाकातर्फको सडकमा समस्या आएको छ । जसको अहिलेसम्म पनि पूर्णरूपमा पुनर्निर्माण भएको छैन ।

यातायात सुचारु हुन नसकेकै कारण चालु आर्थिक वर्षको साउन महिनामा तातोपानी नाकामार्फत हुने आयात घटेको छ भने रसुवा नाकामार्फत हुने आयात बढेको छ ।

विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन महिनामा रसुवा भन्सार नाकाबाट ५ अर्ब ६७ करोड ८७ लाख २७ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन आयात सो अवधिको कुल आयातको ३.०३ प्रतिशत हो ।

त्यही अवधिमा तातोपानीबाट हुने आयात घटेर ०.०७ प्रतिशतमा झरेको छ । जसले गर्दा रसुवा नाका अब बन्द हुँदा नेपालको आयात श्रृंखलामा ठूलो असर पर्ने स्पष्ट देखिन्छ ।

रसुवा र तातापानी बन्द भएपछि के हुन्छ ?

कालिगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाका प्रमुख वरिष्ठ इन्जिनियर तेजस्वी शर्माका अनुसार कोरला नाकासम्म पुग्ने सडक राम्रो छ । अहिले सवारी साधान आवातजावत गर्न सहज भएको उनले बताए । 

तर, उक्त सडक खण्डका ३ ठाउँमा १८ टन क्षमता मात्रै भएका बेलिब्रिज पुल भएका त्यसभन्दा बढी भारवहन क्षमताका सवारी साधन ल्याउन नमिल्ने उनले बताए ।

लामो समयदेखि चीनबाट सामान ल्याएर व्यवसाय गर्दै आएका व्यवसायी भरत कोइरालाले रसुवा र तातोपानी नाका छाडेर मुस्ताङको कोरला नाकामार्फत सामान ल्याउन झण्डै १५ घण्टा बढी समय लाग्ने बताउँछन् ।

तर, मुस्ताङ माथिको झण्डै ३० किलोमिटर सडक कच्ची र कमजोर भएकाले उक्त सडक खण्डलाई सरकारले समयमै बनाइदिएमा सहज हुने उनले बताए ।

‘चीनतर्फको बाटो निकै राम्रो छ, नेपालतर्फको झण्डै ४ घण्टा बाटो कच्ची छ’, उनले भने, ‘सरकारले अरू छुट दिनुपर्दैन, समयमै कच्चीका खाल्डाखुल्डी पुरेर सडक राम्रो बनाइदिएमा सामग्री ल्याउन सक्छौँ ।’

व्यवसायी कोइरालाका अनुसार चीनको गोन्जाओ सहरबाट सामुद्रिक मार्ग हुँदै सामग्री ल्याउन ३५ दिन बढी र तिब्बती क्षेत्रको नाकामार्फत ल्याउँदा १४-१५ दिनसम्म ल्याउन सकिन्छ । त्यसैले सडकहरूको अवस्थामा सुधार गर्न सकिए उत्तरी नाकामार्फत नै सामग्री ल्याउन सजिलो हुने उनले बताए ।

तर, पृथ्वीराजमार्गको कृष्णभीरमा गएको पहिरोको कारण सोमबारदेखि सडक पूर्णरूपमा अवरुद्ध हुन पुगेको छ । जसको कारण उक्त सडकखण्ड पूर्णरूपमा सुचारु नहुनेबेलासम्म कोरला नाकाहुँदै आउने मालबाहक सवारी साधनलाई मुग्लिङ हुँदै नारायणगढ-हेटौँडाको बाटो प्रयोग गर्नुपर्ने अवस्था सिर्जना हुन पुगेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  ६ : ४२ बजे

भोटेकोशी बाढी : एक हजार ६८ शव भेटिए, चार हजार ६०६ सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको खोजी हुँदा रास्वपा नेताहरू निरीह

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बोलाएको सर्वदलीय बैठकमा विपक्षी

ताप्लेजुङ गोल्डकप : सलहेश युवा क्लब फाइनलमा प्रवेश

ताप्लेजुङ– साबिक विजेता सलहेश युवा क्लब, सिराहा ताप्लेजुङ गोल्डकपको फाइनलमा

भोटेकोशी बाढीबारे गृहमन्त्रीको बिफ्रिङ- ‘राज्य आफ्नो जिम्मेवारीबाट पछि हट्ने छैन’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङ