विपद् व्यवस्थापनमा सरकार चुकेको कुरा उठ्यो, नेपालले नसके अन्तर्राष्ट्रिय विज्ञको सहयोग लिन सुझाव « Khabarhub

रास्वपाको सर्वदलीय बैठक

विपद् व्यवस्थापनमा सरकार चुकेको कुरा उठ्यो, नेपालले नसके अन्तर्राष्ट्रिय विज्ञको सहयोग लिन सुझाव


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रसुवालगायत भदौ १० को भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय सहयोग र विज्ञको सहयोग लिनुपर्नेमा विपक्षी दलहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा सहभागी नेकपा एमाले, नेपाली कांग्रेसलगायतका दलहरूले नेपालमा उपलब्ध जनशक्तिको दक्षता नपुगेका ठाउँमा अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गरेर विशेषज्ञ टोली झिकाउन सरकारलाई सुझाव दिएका हुन्।

बैठकपछि एमाले नेता प्रदीप ज्ञवालीले नेपालभित्र आवश्यक दक्षता र प्राविधिक क्षमता नभएका स्थानमा अन्तर्राष्ट्रिय सहयोग लिएर विज्ञ परिचालन गर्नुपर्ने निष्कर्ष निकालिएको बताए।

‘सबै ठाउँमा होइन, तर जहाँ हाम्रो दक्षता पुग्दैन, त्यहाँ अन्तर्राष्ट्रिय रूपमा सहयोग मागेर एक्सपर्ट व्यक्ति खटाउनुपर्थ्यो भन्ने सुझाव र निष्कर्ष निकालेका छौँ। नेपाली कांग्रेस र अरू साथीहरूले पनि यो विषयमा सुझाव दिनुभएको छ,’ ज्ञवालीले भने।

उनका अनुसार विपद् व्यवस्थापनमा स्थानीय, प्रदेश र संघीय सरकारबीचको समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्नेमा पनि बैठकमा जोड दिइएको छ।

‘स्थानीय, प्रदेश र केन्द्रले समन्वय गरेरै काम गर्नुपर्ने निष्कर्ष हामीले दिएका छौँ। यसलाई अझ प्रभावकारी बनाउन सुझाव दिएका छौँ,’ उनले भने।

‘राहत एकातिर, पीडित अर्कोतिर’

ज्ञवालीले राहत सामग्रीको व्यवस्थापन र वितरणमा समेत समस्या देखिएको बताए। उनका अनुसार कतिपय स्थानमा राहत सामग्री थुप्रिएर बसेको भए पनि प्रभावित नागरिकले आवश्यक सामग्री पाउन नसकेको गुनासो बैठकमा उठेको थियो।

‘अहिले राहत एकातिर, पीडित अर्कातिर भएको छ। त्यसलाई समन्वय गरेर छिटो–छरितो वितरण गर्नुपर्छ भन्ने हाम्रो कुरा हो। राहत सामग्री एकातिर अलपत्र परेको छ, अर्कोतिर बाढीपीडितले खान र लगाउन पाएका छैनन्। यो गुनासोका विषयमा पनि ध्यानाकर्षण गरायौँ,’ उनले भने।

सुरुङ उद्धारमा अन्तर्राष्ट्रिय विज्ञको सहयोग लिन सकिने निष्कर्ष

बैठकमा बाढीका कारण सुरुङ तथा भूमिगत संरचनामा फसेका व्यक्तिको खोजी र उद्धारबारे पनि छलफल भएको थियो।

विषय विज्ञ तथा प्राविधिकको सहयोग लिएर सुरुङभित्र फसेका व्यक्तिको उद्धारलाई थप प्रभावकारी बनाउन सकिने विश्लेषण बैठकमा प्रस्तुत भएको बताइएको छ।

विपक्षी दलहरूले नेपालमा उपलब्ध स्रोत, साधन र जनशक्तिले मात्रै सम्भव नभएका जटिल उद्धार कार्यमा अन्तर्राष्ट्रिय विशेषज्ञको सहयोग लिन सरकारले ढिलाइ गरेको निष्कर्ष निकालेका छन्।

विशेषगरी सुरुङभित्रको उद्धारका लागि सम्बन्धित प्रविधि र अनुभव भएका अन्तर्राष्ट्रिय विज्ञलाई तत्काल झिकाएर परिचालन गर्न सके थप मानिसलाई सकुशल उद्धार गर्न सकिने उनीहरूको भनाइ छ।

‘विपद्मा पक्ष र विपक्ष हुँदैन’

बैठकमा सहभागी विपक्षी दलहरूले विपद्को समयमा राजनीतिक पक्ष र विपक्षभन्दा माथि उठेर सरकारलाई सहयोग गर्न आफूहरू तयार रहेको बताएका थिए।

सरकारले पनि प्रतिपक्षका सुझावलाई राजनीतिक आलोचनाका रूपमा नलिई आवश्यक समन्वय र सहकार्यका रूपमा लिनुपर्नेमा उनीहरूले जोड दिएका छन्।

विपद्को समयमा उद्धार, राहत र पुनर्स्थापनालाई प्रभावकारी बनाउन सरकार, राजनीतिक दल, सुरक्षा निकाय, स्थानीय तह तथा अन्तर्राष्ट्रिय समुदायबीच समन्वय आवश्यक रहेको बैठकको निष्कर्ष थियो।

विपक्षी दलहरूले सरकारले आवश्यकताअनुसार अन्तर्राष्ट्रिय सहयोग माग्न ढिलाइ गर्न नहुने, विशेषगरी नेपालमा उपलब्ध प्राविधिक दक्षता र स्रोतसाधनले नपुग्ने जटिल उद्धार कार्यमा विदेशी विशेषज्ञ तथा प्रविधिको तत्काल उपयोग गर्नुपर्ने सुझाव दिएका छन्।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  ६ : ०४ बजे

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको खोजी हुँदा रास्वपा नेताहरू निरीह

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बोलाएको सर्वदलीय बैठकमा विपक्षी

ताप्लेजुङ गोल्डकप : सलहेश युवा क्लब फाइनलमा प्रवेश

ताप्लेजुङ– साबिक विजेता सलहेश युवा क्लब, सिराहा ताप्लेजुङ गोल्डकपको फाइनलमा

भोटेकोशी बाढीबारे गृहमन्त्रीको बिफ्रिङ- ‘राज्य आफ्नो जिम्मेवारीबाट पछि हट्ने छैन’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङ

बाढी प्रभावित बालबालिकासम्बन्धी सामग्री सम्प्रेषणमा सावधानी अपनाउन आग्रह

काठमाडौं– प्रेस काउन्सिल नेपालले भोटेकोशी नदीमा आएको बाढीबाट पीडित तथा