पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाइँदै « Khabarhub

पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाइँदै


१५ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ज्येष्ठ नागरिकसँग जीवनभर सञ्चित ज्ञान, सीप, अनुभव र जीवनका सिकाइलाई संरक्षण गरी नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ निर्माण तथा विकासको प्रक्रिया अघि बढाएको छ ।

३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा मन्त्रालयले ज्येष्ठ नागरिकलाई केवल हेरचाह र संरक्षण आवश्यक पर्ने समूहका रूपमा नभई राष्ट्रका ज्ञान, सीप र अनुभवका अमूल्य स्रोतका रूपमा स्थापित गर्दै उनीहरूको अनुभवलाई भावी पुस्तासँग जोड्ने नयाँ अवधारणा अघि सारेको हो ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले ज्येष्ठ नागरिकसँग सञ्चित ज्ञान, सीप, अनुभव र जीवनका सिकाइ राष्ट्रका अमूल्य बौद्धिक तथा सामाजिक सम्पदा भएको बताइन् ।

‘ज्येष्ठ नागरिकहरूसँग सञ्चित ज्ञान, सीप, अनुभव र जीवनका सिकाइहरू राष्ट्रका अमूल्य बौद्धिक तथा सामाजिक सम्पदा हुन् । ती अनुभवहरूको संरक्षण, अभिलेखीकरण र पुस्तान्तरणलाई संस्थागत रूप दिन डिजिटल प्रविधिको उपयोगसहित ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ निर्माण तथा विकासको प्रक्रिया अघि बढाइएको छ,’ मन्त्री बादीले भनिन् ।

उनका अनुसार यस पहलले एक पुस्ताले आर्जन गरेको ज्ञान र अनुभवलाई अर्को पुस्ताको मार्गदर्शनमा रूपान्तरण गर्दै अन्तरपुस्ता ज्ञान हस्तान्तरणलाई सुदृढ बनाउनेछ ।

हेरचाह र संरक्षण मात्र होइन, अनुभवको पनि उपयोग
मन्त्रालयले अघि बढाएको अनुभव बैंकले ज्येष्ठ नागरिकप्रतिको परम्परागत दृष्टिकोणलाई फराकिलो बनाउने लक्ष्य राखेको छ । सामाजिक सुरक्षा, स्वास्थ्य, हेरचाह र संरक्षणसँगै उनीहरूसँग रहेको ज्ञान, सीप र जीवनानुभवलाई समाज तथा भावी पुस्ताका लागि उपयोग गर्ने यसको मूल अवधारणा हो ।

मन्त्री बादीले ज्येष्ठ नागरिकलाई केवल संरक्षण र हेरचाहको आवश्यकता भएका व्यक्तिका रूपमा नभई समाजका सक्रिय, अनुभवी, सम्मानित र अपरिहार्य साझेदारका रूपमा हेर्नुपर्ने बताए ।

ज्येष्ठ नागरिकले आफ्नो जीवनकालमा कृषि, उद्यम, पेशा, शिक्षा, प्रशासन, कला–संस्कृति, परम्परागत ज्ञान, सामाजिक जीवन तथा विभिन्न व्यावहारिक क्षेत्रमा आर्जन गरेका अनुभवलाई डिजिटल प्रविधिको उपयोगसहित अभिलेखीकरण गरी पुस्तान्तरणलाई संस्थागत गर्ने सोच मन्त्रालयको छ ।

एक पुस्ताको अनुभव, अर्को पुस्ताको मार्गदर्शन
अनुभव बैंकको मुख्य आधार अन्तरपुस्ता ज्ञान हस्तान्तरण हुनेछ। ज्येष्ठ नागरिकले दशकौँको अभ्यास र जीवनयात्राबाट आर्जन गरेको ज्ञान र अनुभव उनीहरूसँगै हराएर जान नदिई त्यसलाई भावी पुस्ताका लागि सुरक्षित र उपयोगी बनाउने उद्देश्य राखिएको छ।

अनुभव बैंकमार्फत ज्येष्ठ नागरिकसँग रहेको ज्ञान र सीपलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्दै नयाँ पुस्तालाई त्यससँग जोड्ने आधार तयार हुनेछ । यसलाई क्रमशः विकास गर्दै विद्यार्थी, युवा तथा नयाँ पुस्ताले ज्येष्ठ नागरिकको ज्ञान, अनुभव र जीवनका सिकाइबाट निःशुल्क रूपमा सिक्न र मार्गदर्शन लिन सक्ने माध्यमका रूपमा विकास गर्ने अवधारणा रहेको छ।

यसले एक पुस्ताले लामो समय लगाएर आर्जन गरेको अनुभव अर्को पुस्ताका लागि मार्गदर्शन बन्ने र समाजमा रहेको व्यावहारिक तथा परम्परागत ज्ञानको पुस्तान्तरणलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

ज्येष्ठ नागरिक लाभग्राही मात्र होइनन्, ज्ञानदाता पनि हुन्
मन्त्रालयको अवधारणाले ज्येष्ठ नागरिकलाई राज्यबाट सेवा र सुविधा प्राप्त गर्ने लाभग्राहीका रूपमा मात्र नभई ज्ञान दिने, सीप बाँड्ने, अनुभव हस्तान्तरण गर्ने र नयाँ पुस्तालाई मार्गदर्शन गर्ने ज्ञानदाताका रूपमा समेत स्थापित गर्ने लक्ष्य राखेको छ ।

उनले बदलिँदो पारिवारिक संरचना, बसाइँसराइ, शहरीकरण र जीवनशैलीसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य, सामाजिक सुरक्षा, हेरचाह, एक्लोपन र सामाजिक सहभागितासँग सम्बन्धित नयाँ चुनौती देखिएको उल्लेख गर्दै उनीहरूको जीवनलाई सुरक्षित, मर्यादित र अर्थपूर्ण बनाउनु परिवार, समुदाय, समाज र राज्य सबैको साझा दायित्व भएको बताइन् ।

३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा अघि सारिएको ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ ले ज्येष्ठ नागरिकको सम्मानलाई हेरचाह र संरक्षणमा मात्र सीमित नराखी उनीहरूको जीवनभरको ज्ञान र अनुभवलाई राष्ट्रको सम्पदाका रूपमा संरक्षण गर्ने तथा नयाँ पुस्तासँग जोड्ने आधार तयार गर्ने मन्त्रालयको विश्वास छ।

एक पुस्ताले आर्जन गरेको ज्ञान अर्को पुस्ताको मार्गदर्शन बनोस् र ज्येष्ठ नागरिकका अमूल्य अनुभव पुस्तासँगै हराउने होइन, पुस्तान्तरण हुँदै जाऊन् भन्ने सोचका साथ अनुभव बैंकको निर्माण तथा विकास प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  १२ : ०५ बजे

गणेश पराजुलीको दाबी- सरकार गठन भएपछि सुशासन र सेवा प्रवाहमा सुधार देखिए

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले वर्तमान

दूध ट्याङ्कर दुर्घटनामा सहचालकको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा दूध बोकेको ट्याङ्कर दुर्घटना हुँदा सहचालक

एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज

काठमाडौं– एनसेलले नेपालमा एप्पल फोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँग सहकार्य

सङ्क्रमणकालीन न्याय र जेन-जीका फाइल खोल्न सरकारलाई बाँस्कोटाको आग्रह

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बाँस्कोटाले लामो

बालेनप्रति महामन्त्री आचार्यको टिप्पणी : ‘म आफैँ एक्स्ट्रा अर्डिनरी बन्ने कोसिस गर्दैछु’

काठमाडौं– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्री