काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक तथा प्राङ्गारिक मल व्यवस्थापनका लागि मन्त्रालयले गम्भीरताका साथ काम गरिरहेको बताएकी छन् ।
सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिमा मन्त्री चौधरीले रासायनिक मलको आपूर्तिलाई व्यवस्थित बनाउन र प्राङ्गारिक मलका लागि स्पष्ट कार्यविधि तयार पार्न विभिन्न समितिहरूले काम गरिरहेको जानकारी दिइन् ।
उनले नेपालमा रासायनिक मल उत्पादन नहुने भएकाले अन्तर्राष्ट्रिय बजारको उतारचढावले असर पार्ने गरेको र यस वर्षको लागि रासायनिक मललाई व्यवस्थित गर्ने प्रयास भइरहेको बताइन् ।
मन्त्रालय अन्तर्गत रहेका ३५ वटा कानुन, ऐन तथा कार्यविधिहरूलाई परिमार्जन र सुदृढ गर्ने प्रक्रिया अगाडि बढाइएको उनले उल्लेख गरिन् ।
उनले नेपाल कृषि अनुसन्धान परिषद्को नियुक्ति प्रक्रिया तोकिएको कार्यविधि अनुसार नै पारदर्शी ढङ्गले अघि बढाइएको र नार्क ऐनलाई पनि संशोधन गर्ने प्रक्रिया चलिरहेको जानकारी दिइन् ।
किसानको धान बाली उत्पादन हुनुभन्दा अगावै प्राविधिक विश्लेषण गरेर मूल्य तोक्ने काम गरिएको र खरिद प्रक्रियालाई सहज बनाउन उद्योग मन्त्रालय र खाद्य विभागसँग छलफल तथा समन्वय भइरहेको उनले बताइन् ।
मन्त्री चौधरीले आफ्नो नाम जोडेर सार्वजनिक भएको लेनदेन सम्बन्धी अडियोमा मुछिएका व्यक्तिहरूसँग आफ्नो कुनै व्यक्तिगत वा पारिवारिक नाता–सम्बन्ध नरहेको स्पष्ट पारिन् ।
आफू सामाजिक न्याय, सुशासन र भ्रष्टाचार विरोधी अभियान्ताका रूपमा काम गर्दै आएको र उक्त अडियोबारे छानबिन गर्न, प्रमाण भए पेस गर्न तथा कानुनी कारबाहीको दायरामा ल्याउन आफू तयार रहेको उनको भनाइ छ ।














प्रतिक्रिया