वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने « Khabarhub

वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने


१५ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिंहदरबार वैद्यखाना विकास समितिबाट उत्पादन हुने आयुर्वेदिक औषधिको उत्पादन बढाउन तथा आवश्यक कच्चा पदार्थका रूपमा रहेको जडीबुटीको दिगो संकलन, संरक्षण, प्रशोधन र उपयोगका लागि कार्ययोजना बनाउन कार्यदल गठन गरिने भएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको ‘जडीबुटीको दिगो संकलन, संरक्षण, प्रशोधन तथा उपयोग सम्बन्धमा छलफल तथा अन्तरक्रिया’पछि वैद्यखाना विकास समितिका कार्यकारी निर्देशक डा. प्रदीप केसीको संयोजकत्वमा विज्ञसहितको कार्यदल गठन गर्ने निर्णय भएको हो।

स्वास्थ्य सल्लाहकार डा. अग्रवालले समितिको विकासका लागि तत्काल कार्यदल गठन गरी तीन महिनाभित्र कार्यान्वयनयोग्य विकासको खाका तयार गर्नुपर्ने बताए। उनले जडीबुटीको दिगो संकलनसँगै सम्बन्धित निकायबीच आवश्यक समन्वय र सहजीकरण गरेर काम अघि बढाउनुपर्नेमा जोड दिए।

उनले हाल मुलुकमा उपलब्ध जडीबुटीको अधिकतम उपयोग गरी वैद्यखानाबाट उत्पादन हुने औषधिको सङ्ख्या बढाउनुपर्ने र आगामी दिनमा नेपाली आयुर्वेदिक औषधि विदेशमा समेत निर्यात गर्ने गरी योजना बनाउनुपर्ने बताए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले औषधिको कच्चा पदार्थका रूपमा रहेको जडीबुटी संकलनमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको बताए। उनले कच्चा पदार्थको सदुपयोगका लागि समन्वय तथा सहजीकरणसँगै कानुनी सुधार आवश्यक रहेको उल्लेख गरे।

उनले औषधिजन्य वनस्पतिको खेतीदेखि संकलन र उपयोगसम्म स्पष्ट कानुनी व्यवस्था गर्न ढिलाइ गर्न नहुने बताए।

गृह मन्त्रालयका सचिव केदारनाथ शर्माले आयुर्वेदिक औषधिका लागि आवश्यक कच्चा पदार्थको संकलन र उपयोगमा मन्त्रालयका तर्फबाट आवश्यक सहजीकरण गरिने बताए। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले जडीबुटी संकलनका लागि सरोकारवाला निकायबीच समन्वय र कानुनी स्पष्टताको आवश्यकता औँल्याए।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले जडीबुटीको उत्पादन बढाउन किसानसँग सहकार्य गर्दै ‘ट्रक फार्मिङ’मा जानुपर्ने बताए। उनले जडीबुटी उत्पादन तथा प्रशोधन गर्ने कम्पनीसँग पनि सहकार्य बढाउनुपर्नेमा जोड दिए

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका निमित्त महाप्रबन्धक उषा रिजाल (जोशी)ले आयुर्वेदिक औषधि उत्पादनमा कच्चा पदार्थको उपलब्धता मुख्य समस्या रहेको बताउनुभयो। ठूलो मात्रामा जडीबुटी उत्पादन गर्न सके मात्र कम्पनीको विकास सम्भव हुने उनको भनाइ थियो। कच्चा पदार्थको मूल्य समर्थन निर्धारण गरिएमा जडीबुटी संकलनमा सहज हुने उनले बताए।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वनमा रहेका जडीबुटीको संकलन र उपयोग सहज बनाउन विभिन्न कानुनमा सुधार आवश्यक रहेको बताउनुभयो। वनस्पति विभागका महानिर्देशक डा. सञ्जीवकुमार राईले जडीबुटी उत्पादन बढाउन सार्वजनिक खरिद ऐनलगायत केही कानुन परिमार्जन गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा वैद्यखाना विकास समितिका कार्यकारी निर्देशक डा. प्रदीप केसीले सिंहदरबार वैद्यखाना विकास समितिको वर्तमान अवस्था, समस्या तथा चुनौतीबारे प्रस्तुतीकरण गर्दै समाधानका लागि आवश्यक सुझाव प्रस्तुत गरेका थिए।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  ४ : ३४ बजे

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट