म्याग्दी– जिल्ला सदरमुकाम बेनी बजार पछाडि रहेको पाखोबाट गएराति र आज बिहान खसेको पहिरोले १२ घरमा क्षति पुर्याएको छ । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको बेनी नगरपालिका–८ को न्युरोडमा खोरियाको पाखोबाट पहिरो खसेर १२ घरमा क्षति पुर्याएको हो ।
छ वटा घरभित्र पहिरोसँगैको लेदो पसेर बस्न नमिल्ने भएका छन् भने छ घरमा आशिंक क्षति पुगेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए ।
‘बुधबार दिउँसोदेखि आज बिहानसम्म तीन पटक पहिरो खसेको छ । पाखोमा रहेका मुहानबाट बगेको भूमिगत पानीसँगै खसेको पहिरोबाट जोखिममा रहेका नागरिकलाई सुरक्षित ठाउँमा सारिएको छ’, उनले भने, ‘थप क्षति हुन नदिनका लागि प्राविधिक टोलीको अध्ययनसँगै पहिरो पन्छाउने र पानी तर्काउने काममा जुटेका छौँ ।’
बेनीको न्युरोडका बासिन्दाले गएराति घर छाडेका थिए । कृषि विकास बैंक र ग्लोवल आइएमई बैंकको शाखा कार्यालयका महत्वपूर्ण सामग्री र कागजपत्र पनि सुरक्षित ठाउँमा सारिएको नगरप्रमुख केसीले जानकारी दिए । बिहानदेखि नेपाली सेना, नेपाल प्रहरी र सुरक्षाकर्मीहरुको टोलीले पहिरोको जोखिममा रहेका घरभित्रबाट सामान सारिरहेका छन् ।
पहिरोको त्रासका कारण न्युरोडबासी रातभर जाग्राम बसेका स्थानीय चिरञ्जीवी शर्माले बताए। पहिरो प्रभावित घरका डेरामा बस्नेहरूलाई खानाको व्यवस्था मिलाइएको बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तम कर्माचार्यले बताए। पछिल्लो चार दिनयता पहिरोले जमिन चिरा पार्ने क्रम बढेकामा बुधबारदेखि पहिरो खस्न थालेको उनले बताए।
वडाध्यक्ष कर्माचार्यका अनुसार करिब ३०० मिटर उचाइ, ५०० मिटर चौडाइ र १०० मिटर लम्बाइमा खरबारी चिराचिरा परेर फुटेको छ ।
‘पाखाका रूखहरू लडेका र ढल्किएका छन् । पानीको मुहान भएको ठाउँबाट सुरु भएको पहिरोले तल र माथि दुवैतर्फ असर गरेको छ । बेनी बजारमा खानेपानी आपूर्ति गराउने मुख्य पाइपलाइन पनि चुँडिएका र ठाउँठाउँमा भाँचिएका छन्,’ उनले भने।
यो पहिरोले बेनीको न्युरोड र गणेशटोल क्षेत्रका करिब १०० घरलाई प्रभावित बनाउने जोखिम छ । म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले पहिरो प्रभावित क्षेत्रको प्राविधिक अध्ययनका लागि तत्काल भूगर्भविद्को टोली पठाउन सम्बन्धित निकायमा पत्राचार गरिसकेको बताए।
भूगर्भविद्हरूको सुझावका आधारमा पहिरोको थप क्षति आकलन गर्न सकिने बताउँदै उनले सम्भावित जोखिम र क्षति हुन नदिनका लागि सावधानी अपनाउन बेनी बजारवासीलाई आग्रह गरे।














प्रतिक्रिया