सोनामको घरमै पुग्यो मन्त्रालयको टोली, बाढी प्रभावित अनाथ बालबालिकाको दीर्घकालीन स्याहार राज्यले लिने « Khabarhub

सोनामको घरमै पुग्यो मन्त्रालयको टोली, बाढी प्रभावित अनाथ बालबालिकाको दीर्घकालीन स्याहार राज्यले लिने


१५ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाढीले दुई दाजु गुमाएपछि पाँच जना अनाथ भतिज–भतिजीको भविष्यको चिन्तामा रहेका सोनाम घोलेको घरमै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको टोली पुगेको छ । 

मन्त्रालयको पहलमा बाढीका कारण अभिभावक गुमाएका पाँचै बालबालिकालाई ‘बाढी प्रभावित विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन स्याहार योजना’ अन्तर्गत समेटिएको छ ।

सोनाम ललितपुरमा थोरै जग्गा भाडामा लिएर आफ्नै परिवारसँग बस्दै आएका थिए । उनीसँगै दुई दाजुहरू पनि आफ्ना छोराछोरीसहित बस्नुहुन्थ्यो। दुवै दाजुका श्रीमती यसअघि नै बितिसकेका थिए। त्यसैले ती बालबालिकाका लागि उनीहरूका बुबा नै सबैभन्दा ठूलो सहारा थिए।

परिवार पाल्न दुवै दाजु डकर्मीको काम गर्थे । मजदुरीका लागि नुवाकोट पुगेका उनीहरू विनाशकारी बाढीपछि बेपत्ता भए । एकैपटक दुई दाजु गुमाएपछि आफूसँगै रहेका चार जना र गाउँमा रहेका थप एक जना गरी पाँच जना भतिज–भतिजीको जिम्मेवारी सोनामको काँधमा आइपुग्यो । आफ्नै परिवार पाल्न कठिन भइरहेको अवस्थामा पाँच बालबालिकाको शिक्षा, पालनपोषण र भविष्य कसरी सुरक्षित गर्ने भन्ने चिन्ताले उनलाई पिरोल्न थाल्यो।

‘अब यिनीहरूलाई कसरी हुर्काउने ? कसरी पढाउने? यिनीहरूको भविष्य के होला ?’ यही प्रश्नले सोनामलाई सताइरहेको थियो।

यही अवस्थामा मन्त्रालयको टोली सोनामको वासस्थानमै पुगेर घटनाको विवरण र बालबालिकाको अवस्था बुझ्यो । बालबालिकालाई सरकारले सञ्चालन गरेको अस्थायी संरक्षण केन्द्रमा लगेर आवश्यक मनोसामाजिक परामर्श तथा संरक्षण सेवा समेत प्रदान गरियो ।

तर सहयोग तत्कालीन संरक्षणमै सीमित रहेन । मन्त्रालयले अघि सारेको ‘बाढी प्रभावित विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन स्याहार योजना’ अन्तर्गत पाँचै बालबालिकालाई समेटिएको हो ।

योजनाअन्तर्गत अब ती पाँच बालबालिकाको १८ वर्षको उमेरसम्म शिक्षा, पालनपोषण र आवश्यक हेरचाहको जिम्मेवारी राज्यले लिनेछ । अभिभावक गुमाएका बालबालिकाको संरक्षणलाई तत्कालीन राहतमा सीमित नराखी उनीहरूको शिक्षा, विकास र भविष्य सुनिश्चित गर्ने उद्देश्यले दीर्घकालीन स्याहारको व्यवस्था गरिएको हो ।

दाजुहरू फर्केर आउने छैनन् । उनीहरूको अभाव पनि कहिल्यै पूरा हुनेछैन । तर दाजुहरूले संसारमा छोडेर गएका पाँच बालबालिकाको भविष्य अब अँध्यारोमा हराउने छैन भन्ने विश्वास सोनाममा पलाएको छ ।

‘मलाई सबैभन्दा ठूलो चिन्ता यिनीहरूको भविष्यको थियो। अब सरकारले यिनीहरूको पढाइ, पालनपोषण र हेरचाहको जिम्मा लिने भएपछि मेरो मन धेरै हलुका भएको छ। मेरा दाजुहरू जहाँ हुनुहुन्छ, उहाँहरूको आत्माले पनि शान्ति पाउनेछ जस्तो लाग्छ,’ सोनामले भने, ‘दुःखको बेला सरकार हाम्रो सहारा बनेकोमा म धेरै आभारी छु।’

बाढीले दुई दाजु खोस्यो, पाँच बालबालिकालाई अभिभावकविहीन बनायो। तर उनीहरूको भविष्य राज्यको संरक्षणमा पुगेको छ। 

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  ६ : ३५ बजे

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट