काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप २०२६ को फाइनलमा स्थान बनाएको छ ।
बिहीबार राति जकार्तास्थित गेलोरा बुङ कार्नो स्टेडियममा भएको समूह ‘ए’ को अन्तिम खेलमा इन्डोनेसियाले बंगलादेशलाई ९–२ गोलले पराजित गरेको हो ।
इन्डोनेसियाको जितमा मिचेल बेकरले मात्रै पाँच गोल गरे । उनले खेलको ११औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि २०औँ मिनेटमा दोस्रो गोल गरेका बेकरले ३७औँ मिनेटमा ह्याट्रिक पूरा गरे। ४२औँ मिनेटमा चौथो गोल गरेका उनले खेलको अन्तिम समयमा पाँचौँ गोल पूरा गरे ।
इन्डोनेसियाका लागि रिज्की रिधोले ३२औँ मिनेटमा गोल गरे भने जस्टिन हब्नरले पहिलो हाफको इन्जुरी समयमा गोल थपे । लुक एन्थोनी भिकेरी र केभिन डिक्सले दोस्रो हाफमा थप गोल गरे ।
बंगलादेशका लागि शाह्रियार इमोनले ३६औँ मिनेटमा पहिलो गोल फर्काए भने फरहान अली वाहिदले दोस्रो हाफको अन्तिमतिर अर्को गोल गरे ।
पहिलो हाफमै इन्डोनेसिया ६–१ ले अघि रहेको थियो। दोस्रो हाफमा बंगलादेशले केही समय इन्डोनेसियालाई गोल गर्नबाट रोके पनि अन्तिम मिनेटमा घरेलु टोलीले लगातार गोल गर्दै फराकिलो जित दर्ता गर्यो ।
यस जितसँगै इन्डोनेसिया समूह ‘ए’ मा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको छ। तीन खेलमा एक अंक पनि जोड्न नसकेको बंगलादेश भने समूहको पुछारमा रह्यो ।














प्रतिक्रिया