कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले स्थानीयको घर नै जोखिममा परेको छ । खाँडाचक्र–१ मान्मा सेरापाटामा निर्माणाधीन भवनको जग खन्दा गत भदौमा पहिरो खसेको थियो ।
पहिरो खस्दा मान्मा बजारको मुख्य सडक र उक्त घर नै भासिएको थियो । निर्माणाधीन भवनको माथिपट्टि रहेका सात वटा घर पहिरोको उच्च जोखिममा छन् । भदौमा पहिरो खसेयता निर्माण कार्य प्रभावित छ ।
उपप्रमुख गणेशबहादुर शाहीले भवन बनेपछि पहिरोको समस्या स्वतः समाधान हुने दाबी गरे । ‘भवन बनाएपछि त्यहाँपछाडि पर्खाल लाग्छ । त्यो भएपछि पहिरोको जोखिम टर्छ,’ उनले भने ।
गत भदौमा भत्किएको एउटा घरको क्षतिपूर्तिका लागि मूल्यांकन गरेर जिल्ला प्रशासन कार्यालय हुँदै गृह मन्त्रालयमा जानकारी गराइएको उपप्रमुख शाहीले बताए । नगरपालिकाको आर्थिक क्षमताभन्दा धेरै भएकाले क्षतिपूर्तिमा संघ सरकारलाई आग्रह गरिएको उनको भनाइ छ । पर्खाल नलगाएमा निर्माणस्थल आसपासका १२ वटा घर पहिरोको जोखिममा रहेको उनले सुनाए ।
यो भवन निर्माण राष्ट्रिय राजमार्गको मापदण्डपिवरीत भएकाले निर्माण कार्य रोक्न गत वैशाखमा सडक डिभिजन जुम्लाले नगरपालिकालाई पत्र काटेको थियो । राजमार्गको ३१ मिटर दायाँ–बायाँसम्म पक्की संरचना बनाउन सार्वजनिक सडक ऐन, २०३१ ले रोक लगाएपनि ६ मिटरमात्र छोडेर भवन बनाइँदै छ ।

सडक सुरक्षामा जोखिम निम्तिने, विस्तारमा समस्या हुने, भविष्यमा भत्काउन परेमा राज्यको लगानी खेर जाने जोखिम रहेकाले निर्माण कार्य रोक्न सडक डिभिजन जुम्लाले आग्रह गरेको थियो । तर, नगरपालिकाले त्यसलाई अटेर गर्दै निर्माण कार्य अघि बढाएको छ ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गत साउनमा कर्णाली भ्रमणको क्रममा निर्माण कार्य रोक्न नगरपालिकालाई निर्देशन दिएका थिए । उनले मन्त्रिपरिषदबाट निर्णय गरेर अर्को भवनको व्यवस्था गर्ने आश्वासन दिएका थिए । तर, नगरपालिका भने जसरी पनि भवन निर्माण गरेरै छोड्ने पक्षमा छ । उपप्रमुख शाहीले मुख्य ठेकेदारलाई बोलाइएको र तिहारपछि काम थालिने बताए ।
भवन निर्माणको ठेक्का काठमाडौँको आरएनसीएस बिल्डर्सले १९ करोड ६२ लाख रुपैयाँमा पाएको थियो । सात तले भवन निर्माण तीन वर्षभित्र सक्ने सम्झौता रहेकोमा २०८१ माघमा शिलान्यास गरिएको थियो ।











तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी














प्रतिक्रिया