काठमाडौं– पूर्वमाओवादी नेताहरू डा बाबुराम भट्टराई र जनार्दन शर्माहरूले पछिल्लो समय खोलेका प्रगतिशील लोकतान्त्रिक पार्टीले चुनावकेन्द्रित नौलो रणनीति अख्तियार गरेको छ ।
उक्त पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीविरोधी सबै प्रतिस्पर्धीलाई सहयोग र समर्थन गर्ने नीति लिएको छ ।
चुनाव घोषणा हुनुअघि निर्माण भएको प्रलोपाले स्पष्ट चुनावी रणनीतिको अभावमा प्रत्येक नेता र भूगोलअनुसार समर्थन र विरोधको विविधता देखाएको छ ।
बाबुराम कांग्रेसतिर, जनार्दन एमालेतिर
नेपाली राजनीतिमा अस्थिरको पर्याय बनेका डा. बाबुराम भट्टराईले पछिल्लो केही महिनायता मात्रै अचम्मको राजनीतिक उतारचढाव देखाए । डा. भट्टराईले जेन–जी आन्दोलनलगत्तै सरकारको गठन प्रक्रियामा सहभागिता देखाउन पुगे तर, कुनै भूमिका पाएनन् ।
नेपालको पछिल्लो राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टीको सम्भावनाको संकेत देखिन थालेपछि उनले छलफल र भेटघाटलाई बाक्लो बनाउन लागे ।
तर, रास्वपाका अधिकांश नेतृत्व टिमले उनलाई स्वीकार गर्ने नदेखेपछि उनले माओवादीबाटै बाहिरिएका जनार्दन शर्मा, सुदन किराती र रास्वपा छाडेका सन्तोष परियारसँग मिलेर पार्टी बनाए । जुन पार्टीमा डा भट्टराई संरक्षक छन् ।
तर, उक्त पार्टी एउटा ठोस चुनावी रणनीति भने बनाउन सकेन, सोही कारण जसले जहाँ जे अनुकुल हुन्छ सोही अनुसार उम्मेदवारी दिने, फिर्ता लिने र अर्कोलाई समर्थन गर्न थाले ।
त्यहीअनुसार डा भट्टराईले गोर्खा २ उम्मेदवारी दिएपनि अन्तिम समयमा आएर फिर्ता लिए तर, सुरुवातमा कसैलाई औपचारिक रूपमा समर्थन गरेनन् । उनको उम्मेदवारी फिर्ताले नेकपाले आफूलाई सहज हुने अनुमान गर्यो । रास्वपाले पनि उनको समर्थन पाउनसक्ने अनुमान गर्यो ।
तर, डा भट्टराई केही समय समर्थन र विरोधको विषयमा मौन नै बसे । रास्वपासँग नजिक देखिँदै गएका उनी भावी राष्ट्रपतिको रूपमा रास्वपाले आफूलाई अघि सारोस् भन्ने लबिइङ गर्दै गरेको कुरा राजनीतिक वृत्तमा चर्चा चल्दै गएको थियो ।
त्यहीबीचमा डा. भट्टराईले रास्वपाको चुनावी घोषणापत्रलाई समर्थन गर्दै आशावादी ल्याएको भनेर सार्वजनिक रूपमै टिप्पणी पनि गरे । जबकी उनले आफ्नै पार्टीको घोषणापत्रलाई उत्कृष्ट देखेनन् ।
तर, जनआकर्षण बढ्दै गएको रास्वपाले डा भट्टराईलाई महत्व दिन चाहेन । त्यसपछि बिच्किएका भट्टराईले गोरखामा औपचारिक रूपमा कांग्रेसलाई समर्थन गरे । तर, कांग्रेसले भने प्रलोपालाई कुनै पनि निर्वाचन क्षेत्रमा सहयोग वा समर्थन गर्ने नीति भने लिएको छैन ।
प्रलोपामै रहेका पूर्व माओवादीकै अर्का वरिष्ठ नेता जनार्दन शर्मा आफैँ अहिले रुकुम पश्चिमबाट उम्मेदवार छन् । पार्टी निर्माणदेखि नै विशेषगरी कर्णाली प्रदेशमा नेकपाविरोधी शक्तिसँग सहकार्य प्रयत्न गरेका उनले आफूलाई समर्थन गर्नेगरी कर्णालीका अधिकांश जिल्लामा एमालेलाई समर्थन गरेका छन् ।
पछिल्लो समय उनले सार्वजनिक रूपमा नै बोल्दै आफ्नो मुख्य लडाइँ नै पुष्पकमल दाहाल प्रचण्डसँग भएको पनि बताएका छन् । जुन भिडियो अहिले सामाजिक सञ्जालमा देख्न सकिन्छ ।
डा. भट्टराई र शर्माले कांग्रेस र एमालेसँग सहकार्य गरेपनि अर्का नेता सुदन किरातीले सुनसरी र भोजपुरमा हर्क साम्पाङ नेतृत्वको पार्टीलाई औपचारिक रूपमा नै समर्थन गरेका छन् ।
साम्पाङ नेतृत्वको पार्टीले पनि प्रलोपालाई कुनै पनि निर्वाचन क्षेत्रमा समर्थन गर्ने नीति लिएको छैन ।
त्यस्तै, पार्टीका केही जिल्लाका उम्मेदवारहरूले आफ्नो अनुकुलतामा कुनै दलसँग पनि मोर्चाको वा सहकार्यको नीति नलिएको रास्वपालाई निसर्त समर्थन गरेका छन् ।
राजनीतिक नैतिकतामा प्रश्न
विगतमा पनि राजनीतिक दलहरूले चुनावी मोर्चा वा सहकार्य गर्ने गर्दथे । जुन प्रकारको मोर्चा वा सहकार्य भारतको राजनीतिमा पनि देख्न सकिन्छ ।
तर, डा भट्टराई र शर्माको पार्टी प्रलोपाका नेता तथा उम्मेदवारहरूले एक वा केही दलसँग स्पष्ट नीतिसहित मोर्चा नगरेर आफ्नो लाभ हेर्दै चुनावी समर्थन गरेका छन् । जुन राजनीतिक अभ्यासमा आफैँमा नसुहाउँदो देखिन्छ ।













प्रतिक्रिया