जनकपुरधाम- नेपाल–भारत सीमाक्षेत्रमा भारतीय सुरक्षाकर्मीले महोत्तरीको जलेश्वर कारागारबाट फरार एक अभियुक्तलाई हतियार र लागुऔषधसहित पक्राउ गरेको छ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले मधुबनी जिल्ला अन्तर्गत हरलाखी बोर्डर नजिकै धनुषाको मुखियापट्टी मुसहरनिया–२ निवासी अनरजीत रामलाई पक्राउ गरेको हो ।
एसएसबीका इन्स्पेक्टर ऋषिकेश कुमारको नेतृत्वमा खटिएको टोलीले हरलाखी प्रहरीसँगको सहकार्यमा मोटरसाइकलमा भारततर्फ जाँदै गरेका रामलाई घेराबन्दी गरी पक्राउ गरिएको जनाइएको छ। एसएसबी स्रोतका अनुसार उनी भाग्न खोज्दा सुरक्षा टोलीले नियन्त्रणमा लिएको थियो।
उनको साथबाट एक पेस्तोल, दुई थान गोली र करिब ४.२ किलोग्राम गाँजा बरामद गरिएको छ। साथै भारतीय राहदानी, आधार कार्ड, प्यान कार्ड, इन्डिया पोस्ट पेमेन्ट बैंकको कार्ड र मोबाइल फोन पनि फेला परेको बताइएको छ।
पक्राउपछि उनलाई आवश्यक अनुसन्धानका लागि बिहार प्रहरीको जिम्मा लगाइएको एसएसबी ऋषिकेशले जनाएको छ।
राम नेपालस्थित जलेश्वर कारागारबाट बैंक लुट्ने फरार अभियुक्त हुन्। महोत्तरी गाउँपालिकास्थित एनएमबी बैंकमा भएको लुटपाट प्रकरणमा पुर्पक्षका लागि २०८० कात्तिक २० गते जिल्ला अदालतको आदेशमा कारागारमा पठाइएको थियो। उनी गत भदौ २८ गते कारागारभित्र भएको तोडफोड तथा आन्दोलनका क्रममा अन्य कैदीसँगै फरार भएका थिए।
उक्त बैंक लुट प्रकरणमा रामसहित ४–५ जनाको समूहले गत जेठ १६ गते दिउँसो करिब १२ः३५ बजे महोत्तरी बजारस्थित एनएमबी बैंकबाट हतियार देखाएर करिब १५ लाख रुपैयाँ लुटेको आरोप छ। सो घटनामा संलग्न भएको आरोपमा भारतको मधुबनी जिल्ला हरलाखी फुलहर टोल गोपालपुरका अजयकुमार साफी यसअघि नै पक्राउ परिसकेका छन्।
राममाथि हातहतियार तथा डाँका मुद्दा दर्ता भइसकेको छ। उनले बरामद गाँजा कसलाई पुर्याउन खोजेका थिए भन्ने विषयमा बिहार प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।













प्रतिक्रिया