‘वास्तविक सुकुम्वासीलाई छिट्टै जग्गा दिएको राम्रो, नत्र खत्तम होला’ « Khabarhub

‘वास्तविक सुकुम्वासीलाई छिट्टै जग्गा दिएको राम्रो, नत्र खत्तम होला’



काठमाडौं- ५७ वर्षीय वसन्त माझीको तन कीर्तिपुरको राधास्वामी सत्संग आश्रमको अस्थायी शिविरमा भएपनि मन चाहिँ थापाथलीको बागमती किनारमै छ । रिक्सामा सामान बोकेर जीवन धान्दै आएका उनले थापाथलीको सुकुम्वासी बस्तीमा २० वर्ष बिताए । ज्याला मजदुरी गरेर फलाम र जस्ताको टहरो बनाए । त्यही टहरो पनि सरकारी डोजरले भत्कादिएपछि उनी परिवारसहित अस्थायी आश्रममा बसिरहेका छन् ।

शनिबार सुकुम्वासी बस्तीमा डोजर चलेपछि काठमाडौं महानगरपालिकाले माझीजस्तै ५७ परिवारलाई उक्त होल्डिङ सेन्टरमा राखेको हो । यहाँ सय परिवारसम्म राख्न सकिने बताइएको छ ।

शिविरको सुरुवाती दिन उनका लागि निकै पीडादायी रहे । ‘यहाँ आएको ४ दिनसम्म हामी सबै जना एकै ठाउँमा पोको परेर सुतेका थियौँ,’ उनी भन्छन्, ‘त्यस दिन हरेक परिवारलाई एउटा झुल दिइएको थियो । एउटा झुलले ६ जनाको परिवार धान्न सकेन ।’ अस्थायी शिविरमा परिवारका बुहारीहरुले अरू महिलासँग मिलेर कठिन रात कटाएको उनले सुनाए ।

‘थापाथलीमा हामी छ जना एकै घरमा बस्थ्यौँ,’ उनी सम्झिन्छन्, त्यहीँ छोराछोरी हुर्काएँ, परिवारको दुःखसुख बाँडियो ।’ लामो श्वास तान्दै उनले भने । परिवार सँगै भएर पनि सबैलाई एउटै छानोमुनि राख्न नसक्नुको पीडा उनको आवाजमा प्रस्ट सुनिन्थ्यो ।

‘छानो भएपनि भित्ता नभएको ठाउँमा राखेका छन् । चिसोले गर्दा सुरुका एक दुई दिन त टाउको नै फुट्लाजस्तो भयो । दाँत दुख्यो । औषधि पाएपछि सन्चो भयो,’ उनले भने ।

शिविरमा अहिले टेन्टका अस्थायी संरचना बनाइएको छ । खानाको व्यवस्था पनि नियमित रहेको उनले जानकारी दिए । ‘खान त पाइरहेका छौँ । बिहान चिया–बिस्कुट, त्यसपछि खाना, दिउँसो चिया–पाउरोटी, अनि साँझ दाल–भात–तरकारी छ,’ उनले भने ।

मंगलबारसम्म प्याकेटमा खाना दिइएकोमा बुधबार भने प्लेटमा दिन थालिएको छ । प्याकिङमा आएको खाना अरुलाई कम भएपनि आफूलाई पुगेको उनी सुनाउँछन् । ‘मंगलबारसम्म प्याकेटमा थियो, बुधबारबाट प्लेटमा दिनुभयो । अहिले चाहिँ मागेअनुसार थपेर दिनुहुन्छ,’ उनले भने ।

जीविकोपार्जनको आधार पनि बस्ती हटेसँगै हराएकोमा भने उनको चिन्ता अझ बढेको छ । उनी बानेश्वर आसपास रिक्सामा सामान ओसारपसार गर्थे । ‘बस्ती हटेपछि मेरो काम छुट्यो । कतै टुङ्गोले बस्न पाए काम सुरु गर्न हुन्थ्यो,’ उनले भने ।

वसन्तकी श्रीमती अर्काको घरमा काम गर्छिन् । कान्छा छोरा विमानस्थलमा सेक्युरिटी गार्ड छन । जेठा छोराबुहारी पनि काम गर्छन् । सबैको संघर्षले जसोतसो जीवन चलेको थियो । उनीजस्तै त्यहाँ परिवारका अरु सदस्य पनि काममा जान नपाएकोमा गुनासो गर्छन् ।

बस्ती हटाएकोमा उनी आक्रोशित छैनन् । उनी बरु, न्यायपूर्ण समाधानको अपेक्षा राख्छन् । ‘मलाई हटाएकोमा गुनासो छैन । अस्थायी शिविरको बसाइँ लामो नहोस् भन्ने हो । खोला किनारमै भएकाले पानी पर्दा यो ठाउँ पनि डुब्छ कि भन्ने डर छ । जतिसक्दो छिटो जमिन दिएर हामीलाई यहाँबाट अन्त सार्नुपर्छ,’ उनले माग गरे ।

उनी २०५७ सालतिर झापाबाट काठमाडौं पसेको बताउँछन् । सरकारले आफ्नो आवासमा डोजर चालएपनि उनको राजनीतिक विश्वास भने अझै मरेको छैन ।

‘पहिले हामीले (पूर्वप्रधानमन्त्री केपी) ओलीलाई नै भोट हालेको हो । उहाँको घरबाट एक/दुइ घण्टामा पुगिने गारमुनीमा हामी बस्थ्यौँ,’ उनले सुनाए, ‘उहाँले हाम्रो बारेमा धेरै बोल्नुभयो, तर बस्ने ठाउँको टुंगो लगाइदिनुभएन ।’

यतिबेला भने उनको आशा सुकुम्वासी बस्तीमा डोजर चलाउने निर्णय गरेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग छ । ‘बालेन सरकारले बोलेका कुरा पूरा गरोस,’ अपेक्षा र चेतावनीसहति उनले थपे, ‘बालेन सरकारले वास्तविक सुकुम्वासीलाई चिनेर छिट्टै जग्गा दियो भने राम्रो हुन्छ । नत्र खत्तम हुन सक्छ ।’

आफ्नो नाममा एक धुर जमिनसमेत नभएकोले सरकारले तत्काल समाधानको बाटो खोज्नुपर्ने उनको माग छ । आफ्नो तीन पुस्तासँग समेत सम्पत्तिको नाममा एक टुक्रा पनि जमिन नरहेको बताउने उनी सरकारले सम्पत्ति छानबिन गरेर मात्रै सुकुम्वासी घोषणा गर्नेबारे भने जानकार रहेछन् । ‘सरकारले तीन पुस्ते सम्पत्ति छानबिन गर्ने भनेको छ रे । तीन पुस्ताको छानबिन गरेको राम्रो । मेरो बाबुबाजेको सम्पत्ति कतै छ भन्ने मलाई थाहा छैन । सरकारले छानबिन गर्छ भने मलाई त राम्रो पो लाग्छ ।’

जमिनको स्वामित्व नभएको ठहर भएमा भने तत्काल व्यवस्थापन गरिदिनुपर्ने उनले सुझाए । १५ दिनका लागि राखिने भनिएको शिविरमा वसन्तका परिवारले बिहिबारसम्म ६ रात कटाइसकेका छन् । तर, सरकारतर्फबाट कुनै निर्णय आएको भने उनको जानकारीमा छैन । ‘१५ दिनमा यहाँबाट सार्छौँ भनेको हो । अहिलेसम्म त यो दिन सार्ने भनेको सुनेको छैन । हप्तादिन अझै बाँकी छ, सार्छ होला,’ उनले भने ।

सरकारले केहीलाई उपत्यकाभित्रका होटलमा समेत व्यवस्थापन गरेको छ । सोबारे प्रश्न गर्दा उनले भने, ‘हिजो बेलुका सुत्केरी, बालबच्चा र नसक्नेलाई होटलमा जाने भए लैजान्छौँ भनेर सोध्नुभएको थियो । मेरो सालीको पनि ९ महिनाको बच्चा छ । उ पनि होटेल जाने भनेको थियो, तर बुधबार बिहान पाल आएपछि भने फेरि नजाने भन्यो । मलाई चाहिँ कसैले सोधेको छैन ।’

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  ३ : ४५ बजे

गोदावरी मार्बलको खण्डहर स्वरुप (तस्बिर)

काठमाडौँ– उद्योगका याद विस्मृत भएका छैनन् । कुन कुनामा के

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले यही साउन १२ गतेदेखि जिल्लाका

रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित

काठमाडौँ– चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र ङुइला

दुबईस्थित नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल

दुबई– संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा

निजी लगानीकर्तालाई शेयर बेच्ने फिफाको योजना रद्द

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख