गोरखा– उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका गोठाला भेँडाबाख्रा धपाउँदै लेकतिर उक्लेका छन् । चुमनुब्री गाउँपालिका–३ पाङसिङका गोठालाहरु हजारौं भेँडाबाख्रा धपाउँदै लेकतिर लागेको जगतका लक्ष्मण कार्कीले बताए ।
चुमनुब्री–३ पाङसिङ गोरखाकै सबैभन्दा धेरै भेँडापालन गर्ने गाउँ हो । हिउँद लाग्न थालेपछि लेकबाट खोर्ला, सिङ्ला, लाप्राक, बारपाक, दूधपोखरी हुँदै लम्जुङतिर लगिएका र आर्खेत, आरुघाट, मान्बु हुँदै धादिङसम्म पुर्याइएका भेँडाबाख्रालाई अहिले फर्काएर लेकतर्फ लैजान थालिएको उनले बताए ।
उनी भन्छन्, ‘दैनिक तीन/चारसय जति भेँडाबाख्रा लेकतिर लागेका छन्, शनिबार मात्रै पनि करिब चारसय भेँडाबाख्रा उकालो लागेका छन् ।’
पाङसिङ, सिर्दिबास, न्याकफेदी, घट्टेखोला, नाग्चेतलगायत क्षेत्रका करिब ७० घरधुरी किसानले भेँडाबाख्रा पालन गरेका चुमनुब्री–३ का अध्यक्ष रामकुमार गुरुङको भनाइ छ ।
‘भेँडाबाख्रा बेशीबाट गाउँमा ल्याउन थालेको केही दिन भयो । बिस्तारै पाङसिङबाटमाथि उकाल्न सुरु हुन्छ’, उनले भने, ‘अहिले लेक लगेपछि एकैचोटी कात्तिक, मङ्सिरमा तल झार्छ ।’
लेकबाट बेशी झार्ने र बेशीबाट लेक लैजाने गोठालाहरुको मौलिक परम्परा छ । ‘लेकको गोठबाट वेशी साइत हेरेर झार्ने गर्छन् । लेकको गोठबाट पनि एकै दिनमा बेशी झार्दैनन् । हावापानीसँग घुलमिल गराउँदै एक महिना लगाएर गाउँसम्म ल्याइ पुर्याउँछन्’, पाङसिङका विकास गुरुङले भने, ‘बेशीबाट लेक लैजान पनि धेरै समय लगाउँछन् । अनि गाउँमा झारिसकेपछि यहाँबाट अन्यत्र लैजानचाहिँ विधिपूर्वक पूजाआजा गरी साइत गर्ने चलन छ ।’ जेठ दोस्रो सातासम्ममा भेँडाबाख्रा लेकको गोठमा पुर्याइन्छ ।
भेँडाबाख्रा पालन गर्ने किसान धेरै भएकाले चुमनुब्री गाउँपालिका–३ मा गोठालालाई प्रोत्साहन कार्यक्रम लागू गरिएको छ । ‘गोठालाहरुलाई प्रोत्साहन गर्न बाटो मर्मत, खानेपानीको व्यवस्था, त्रिपाल, सोलार बत्ती, गमबुट, स्लिपिङ ब्याग वितरण गर्ने गरेका छौँ’, वडाअध्यक्ष गुरुङ भने, ‘गाउँपालिकाको ८० प्रतिशत र गोठाला स्वयम्को २० प्रतिशत लागत साझेदारीमा यस्तो कार्यक्रम बर्सेनि गर्ने गर्छौँ ।’
पालिकाले भेँडाबाख्रा पालन गर्ने किसानलाई प्रोत्साहन दिन कार्यक्रम गरिरहे पनि बर्सेनि भेडाबाख्रा पालन गर्ने किसानको सङ्ख्या भने घट्दो रहेको उनको भनाइ छ ।
गोठालाहरुलाई प्रोत्साहन स्वरुप चुमनुब्री गाउँपालिकाले यस वर्ष घुम्ती गोठ सामग्री वितरण कार्यक्रम सञ्चालन गरेको पालिकाको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए। कार्यक्रममा नौ वटा पशु फार्मका करिब १५० जना आबद्ध रहेको उनले जानकारी दिए । रासस













प्रतिक्रिया