प्रधानमन्त्रीले माफी नमागेसम्म जनताले छाड्ने छैनन् : गगन थापा « Khabarhub

प्रधानमन्त्रीले माफी नमागेसम्म जनताले छाड्ने छैनन् : गगन थापा


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

रूपन्देही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन शाहको विवादास्पद अभिव्यक्तिमा संसद्‌मा ताली बजाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई प्रश्न गर्न मतदाताहरूलाई आह्वान गरेका छन्।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा रूपन्देहीको मणिग्राममा आयोजित लुम्बिनी प्रदेशस्तरीय प्रदेश तथा स्थानीय तहका पार्टी पदाधिकारी तथा जनप्रतिनिधिको भेलालाई सम्बोधन गर्दै सभापति थापाले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितविपरीत, अपरिपक्व र अराजनीतिक भएको टिप्पणी गरे।

‘हाम्रो देशले पनि अरूको सिमाना मिचेको छ भन्ने आशयको राष्ट्रघाती अभिव्यक्तिमा समर्थन जनाउन सांसदहरूलाई जनताले संसद्‌मा पठाएका होइनन्,’ उनले भने, ‘त्यसका विरुद्ध बोल्न र उनीहरूलाई जवाफदेही बनाउन मतदाताहरूले दबाब दिनुपर्छ।’

प्रधानमन्त्रीले नबुझी बोलेको भए चिन्ताजनक र बुझेरै बोलेको भए झन् खतरनाक हुने टिप्पणी गर्दै थापाले उक्त अभिव्यक्तिले नेपाली जनताको शिर निहुरिएको बताए। उनले प्रधानमन्त्रीलाई तत्काल संसद्‌मा गएर आफ्नो अभिव्यक्ति फिर्ता लिन र जनतासँग माफी माग्न सुझाव दिए।

‘सरकारले राम्रो काम गर्दा सघाउने र गलत काम गर्दा खबरदारी गर्ने तथा सच्याउन बाध्य पार्ने प्रतिपक्षको धर्म हो, र त्यो जिम्मेवारी कांग्रेसले निर्वाह गर्छ,’ उनले भने। प्रधानमन्त्री शाहले यस विषयमा माफी नमागेसम्म जनताले नछाड्ने उनको दाबी थियो।

सभापति थापाले संसदबाट प्रतिनिधिसभा नियमावली, २०८३ जबरजस्ती पारित गरिएको भन्दै त्यसप्रति पनि कडा आपत्ति जनाए। सभामुख र सत्तारुढ दलले यस विषयमा पुनर्विचार नगरे अदालत जाने संकेत गर्दै उनले उक्त घटनालाई संसदीय इतिहासकै कालो दिनको संज्ञा दिए।

पार्टीको आन्तरिक विषयमा बोल्दै उनले आगामी निर्वाचनमा उम्मेदवार बन्न नेताहरूलाई रिझाएर होइन, कार्यकर्ताको विश्वास जितेर अघि बढ्नुपर्ने बताए। क्रियाशील सदस्यता अद्यावधिकको मुख्य उद्देश्य उम्मेदवार छनोट प्रक्रियामा क्रियाशील सदस्यहरूको मतलाई आधार बनाउनु रहेको उनको भनाइ थियो।

‘सम्बन्धित पदका लागि कुन व्यक्ति उपयुक्त हुन्छ भनेर हामी सर्वेक्षण गर्नेछौँ र त्यसकै आधारमा उम्मेदवार चयन गर्नेछौँ,’ उनले भने, ‘अद्यावधिकको मुख्य उद्देश्य पनि यही हो।’

सभापति थापाले भ्रातृ संस्थाहरूको अधिवेशन प्रक्रिया तीव्र गतिमा अघि बढेको जानकारी दिँदै आगामी चैतभित्र सबै भ्रातृ संगठनहरूको महाधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको बताए। पार्टीको औपचारिक संरचनाभन्दा बाहिर रहेका व्यक्तिहरूलाई पनि समेट्ने कार्यक्रम ल्याइने उनले जानकारी दिए।

‘मैले तपाईंहरूको शिर निहुरिन नदिने अठोट गरेको छु, तर त्यसका लागि तपाईंहरूको साथ चाहिन्छ,’ उनले भने।

चार पुस्तालाई समेट्दै सबै वर्ग र समुदायलाई साथ लिएर अघि बढ्नुपर्ने भएकाले केही कमी–कमजोरी भए पनि सिक्दै र सुधार्दै अगाडि बढ्ने उनले बताए। एक वर्ष राम्रोसँग काम गर्न सके चुपचाप पार्टी छोडेर गएकाहरू पनि हल्ला गर्दै फर्किने उनको दाबी थियो।

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  ६ : ०४ बजे

सीमाबारे प्रधानमन्त्रीले राखेको अभिव्यक्तिप्रति विमति छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सीमाका बारेमा प्रधानमन्त्रीले सदनमा

सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल-भारत भूमि समस्याबारे प्रधानमन्त्रीको

पर्यटन क्षेत्रलाई प्राथमिकता दिन व्यवसायीहरूलाई मुख्यमन्त्रीको आग्रह

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय पुँजीको विकासका लागि

वैतेश्वरका महिलाको हातमा नौमती बाजा !

दोलखा– महिलाहरूलाई आत्मनिर्भर र रोजगारमुखी बनाउने उद्देश्यले वैतेश्वर गाउँपालिकाले वडा