काठमाडौँ – किलियन एम्बाप्पेको दुई गोल तथा माइकल ओलिसेको उत्कृष्ट प्रदर्शनको मद्दतले फ्रान्सले विश्वकप फुटबलमा स्वीडेनलाई ३-० ले पराजित गरेको छ । यो जितसँगै फ्रान्स प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ, जहाँ उसले अब पराग्वेको सामना गर्नेछ ।
यो दुई गोलसँगै एम्बाप्पेले जारी विश्वकपको सर्वाधिक गोलकर्ताको दौड (गोल्डेन बुट) मा ६ गोलसहित लियोनेल मेसीको बराबरी गरेका छन् । २७ वर्षीय फ्रान्सेली कप्तान एम्बाप्पेको विश्वकप इतिहासमा कुल गोल सङ्ख्या १८ पुगेको छ, जुन मेसीको समग्र कीर्तिमान (१९ गोल) भन्दा मात्र १ गोल कम हो ।

खेलमा पहिलो गोल गरेपछि एम्बाप्पेले मैदानको कुनामा दौडिएर प्रशिक्षक डिडियर डेसच्याम्प्सलाई अँगालो हालेका थिए । डेसच्याम्प्स आफ्नी आमाको अन्त्येष्टिका लागि घर गएका कारण नर्वेविरुद्धको समूह चरणको अन्तिम खेलमा उपस्थित थिएनन् । १४ वर्षसम्म फ्रान्सेली टोली सम्हालेका डेसच्याम्प्सले यसै प्रतियोगितापछि प्रशिक्षक पद छाड्दै छन् । सन् १९९८ मा खेलाडीका रूपमा र २०१८ मा प्रशिक्षकका रूपमा फ्रान्सलाई विश्वकप जिताएका डेसच्याम्प्सका लागि यो बिदाइ विशेष बन्ने देखिएको छ ।
न्यूयोर्क न्यू जर्सी स्टेडियममा मंगलबार राति भएको अन्तिम ३२ को खेलमा ८० हजार ६ सय ६३ दर्शकमाझ फ्रान्सले खेलभरि नै एकपक्षीय दबाब बनाएको थियो । खेलको पहिलो हाफको अन्तिम समयमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसअघि फ्रान्सका एमबाप्पे र ओलिसेका प्रहार पोस्टमा लागेर फर्किएका थिए ।
दोस्रो हाफमा पनि फ्रान्सले आफ्नो लयलाई निरन्तरता दियो । ५३ औँ मिनेटमा ओलिसेको पासमा पेरिस सेन्ट जर्मेन (पीएसजी) का विंगर ब्राड्ली बारकोलाले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि ७४ औँ मिनेटमा ओलिसेकै प्रहारिलो पासमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको ३-० को सहज जित सुनिश्चित गरे ।
अब फ्रान्सले आगामी शनिबार फिलाडेल्फियामा दक्षिण अमेरिकी टोली पराग्वेको सामना गर्नेछ । यसअघि सन् १९९८ को विश्वकपमा पनि फ्रान्सले अन्तिम १६ मै पराग्वेलाई अतिरिक्त समयको ‘गोल्डेन गोल’ मार्फत १-० ले हराएको इतिहास छ ।
अर्कोतर्फ, प्रिमियर लिगका स्टार खेलाडीहरू भिक्टर ग्योकेरेस, अलेक्ज्याण्डर इसाक र एन्थनी एलाङ्गा सम्मिलित स्वीडेनको टोलीले फ्रान्सेली रक्षापंक्तिसामु कुनै खास अवसर सिर्जना गर्न सकेन । प्लेअफको ‘ब्याक डोर’ बाट विश्वकपमा छनोट भएको ग्राहम पोटरको स्वीडेनी टोलीका लागि अन्तिम ३२ सम्मको यात्रा नै सुखद मान्नुपर्ने देखिन्छ ।












प्रतिक्रिया