रुखमा अड्किएको बम जसले सम्झाउँछ माओकालीन चिनियाँ क्रान्ति  « Khabarhub

रुखमा अड्किएको बम जसले सम्झाउँछ माओकालीन चिनियाँ क्रान्ति 



चियाङ्सी– विश्वकै धेरै सदस्य भएको चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार १०५ लामो यात्रा पूरा गर्दैछ । माओ त्सेतुङ नेतृत्वमा सुरु भएको क्रान्तिसँगै चीन अहिले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा वैभवशाली यात्रामा छ । 

अहिले माओ त छैनन्, तर उनले त्यसबेला रेड आर्मीमार्फत गरेको क्रान्तिका हरेक अवशेषलाई जोगाएर राखिएको छ । माओको जन्मघर त हरेक कम्युनिस्टका लागि तीर्थस्थल बनेको छ । 

उनी पुगेका र बसेका थलो पनि अलग्गै परिचयसहित अध्ययन र अनुसन्धानका विषय बनेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीले देशलाई महाशक्तिको बाटोमा लगिरहँदा अहिलेको पुस्ताका जेन-जी चिनियाँसमेत गर्वका साथ माओको नाम लिन्छन्, अरूलाई पनि माओका कथा र किस्सा सुनाउँछन् ।

मंगलबार विश्वभरबाट बोलाइएका करिब ४० जना पत्रकार र कम्युनिस्ट नेताहरूलाई माओको इतिहास, रेड आर्मी र लङ मार्च बुझाउने त्यस्तै एउटा थलोमा लगियो । जहाँ माओले साधारण कुटी जस्तै छाप्राबाट क्रान्ति हाँकेको इतिहासलाई जीवन्त बनाएर राखिएको थियो ।

चीनको चियाङ्सी प्रान्तस्थित येपिङ गाउँमा पुग्दा सय वर्ष पुरानो इतिहाससँग जोडिएको उक्त ठाउँलाई पुरानै शैलीमा दुरुस्त राखिएको थियो । माओ सुत्ने कोठादेखि विभिन्न मन्त्रालय, बैठक कक्ष र कार्यालय कोठासमेत जस्ताको तस्तै बचाएर राखिएको थियो ।

यो येपिङ गाउँको स्मारकमा रेड आर्मीले अघि बढाएको क्रान्तिका बेला माओले सरकार पनि यहीँबाट चलाएका थिए । यहाँ माओले चिया पिउँदै पत्रिका पढ्ने चौतारीदेखि कुओमिन्ताङ राष्ट्रवादी सेनासँग लड्दा बालबाल बचेको ठाउँलाई समेत वर्तमान र भावी पुस्ताका निम्ति खुला पुस्तकालयका रूपमा बचाइएको छ ।

रूखमा अड्किएको बम !

यो खुला सङ्ग्रहालयमा एउटा हजार वर्ष पुरानो कपुरको रूख आज पनि ठडिएको छ । जुन रेड आर्मीले क्रान्ति अघि बढाएका बेला माओ सुत्ने कुटीसँगै छ। जसको फेदमा बनाइएको फलैँचामा बसेर माओ पत्रिका पढ्थे, चिया खान्थे, सहयोद्धासँग भलाकुसारी गर्थे। 

कपुरको रुखसँग जोडिएको एउटा ऐतिहासिक घटना अहिले पनि चिनियाँ र अन्य अध्येताका लागि चासोको विषय बनिरहन्छ । 

खासमा रेड आर्मीले कुओमिन्ताङको राष्ट्रवादी सेनाविरूद्ध क्रान्ति बढाइरहेको समयमा चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओत्सेतुङ येपिङ गाउँको त्यही कपुरको रूखमुनि बसिरहेका थिए । 

यही रुखमुनि बसेर पुस्तक, पत्रपत्रिका पढ्ने र स्थानीय जनतासँग उनी छलफल गर्ने गर्थे ।

सन् १९३३ को वसन्त ऋतुमा माओ उक्त रूख नजिकैको भवनमा काम गरिरहेका थिए । ठिक त्यही बेला कुओमिन्ताङ (राष्ट्रवादी) सेनाको विमानले येपिङमा बमबारी गर्‍यो। त्यस क्रममा कुओमिन्ताङको सेनाले विशाल आकारको एउटा बम खसाल्यो । 

जुन बम भाग्यवश त्यही हजार वर्ष पुरानो कपुरको रूखको हाँगामा अड्कियो तर पड्किएन । कुओमिन्ताङको सेनाले जहाजबाट खसालेको बमलाई आज पनि दुरुस्तै त्यही आकारमा देख्न सकिन्छ । 

त्यसबेला कपुरको रुखका हाँगाबीच अड्किएको बम जमिनमा नखसेकाले विस्फोट हुन पाएन र माओसहिततका कमान्डर बाँच्न सके।

अहिले पनि त्यो बमलाई रुखमा झुन्ड्याइएको देख्न सकिन्छ । त्यसबेला खसालिएको बम त चिनियाँ जनसेनाले निष्क्रिय बनायो । तर उक्त वास्तविक बमलाई झल्काउने गरी उक्त घटनाको सम्झनामा राखिएको प्रतिमूर्ति (रेप्लिका) ले आज पनि येपिङ गाउँ पुग्नेको ध्यान तानिरहन्छ। 

चिनियाँ-सोभियत साइनो  

येपिङमा रहेको संग्रहालयको एउटा भवनले चिनियाँ (सोभियत गणतन्त्र) को सम्बन्धबारे बलियो प्रमाण दिन्छ । यो कुटी शैलीको भवन त्यसबेला यी दुई देश जोड्ने राष्ट्रिय राजनीतिक सुरक्षा ब्युरोको कार्यालयका रूपमा थियो ।

दुई देशको सम्बन्धको गहिराइ पुष्टि गर्ने यो निकाय सन् १९३१ को नोभेम्बरमा स्थापना गरिएको थियो । त्यसबेला देङ फा यसको निर्देशक थिए । 

यो निकाय सोभियत सरकारअन्तर्गत राजनीतिक तथा आर्थिक क्षेत्रमा हुने प्रतिविप्लवी गतिविधिको निगरानी, अनुसन्धान र दमन गर्ने सर्वोच्च सुरक्षा निकायका रूपमा कार्यरत थियो ।

यसअन्तर्गत गुप्तचर विभाग, कार्यान्वयन विभाग तथा राजनीतिक सुरक्षा ब्रिगेड लगायतका इकाइहरू थिए । सोभियत शासनको सुरक्षा, प्रतिविप्लवी गतिविधिको नियन्त्रण तथा राज्यसत्ताको संरक्षणमा यस निकायले महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

चिनियाँ सोभियत गणतन्त्रको केन्द्रीय कोषागारको पूर्व कार्यालय

चीनको जियाङ्सी प्रान्तस्थित येपिङमा रहेको यो भवन चिनियाँ सोभियत गणतन्त्रको केन्द्रीय कोषागार (जनरल ट्रेजरी) को पूर्व कार्यालय हो।

सङ्ग्रहालयमा राखिएको विवरणअनुसार, केन्द्रीय कोषागार सन् १९३३ मा स्थापना गरिएको थियो। यो केन्द्रीय वित्त मन्त्रालयअन्तर्गत सञ्चालन हुन्थ्यो। त्यसबेला राष्ट्रिय बैंकका गभर्नर माओ जेमिनले कोषागार प्रमुखको जिम्मेवारी पनि सम्हालेका थिए।

कोषागारअन्तर्गत लेखा शाखा, नगद (क्यासियर) शाखा र लेखापरीक्षण शाखा लगायतका विभाग थिए। यी विभागहरूले सरकारी नगदको प्राप्ति, भुक्तानी, सुरक्षित भण्डारण तथा वित्तीय व्यवस्थापनसम्बन्धी कार्यहरू सञ्चालन गर्थे।

येपिङ गाउँको यो संग्रहालयले केबल चिनियाँ कम्युनिस्ट पार्टी र रेड आर्मीको कथामात्रै भन्दैन। यसले चीन र सोभियत संघ (वर्तमान रसिया) बीच कति मजबुत  इतिहासदेखि नै थियो भन्ने पनि पुष्टि गर्छ ।  

सन् १९६१ मा जनवादी गणतन्त्र चीनको राज्य परिषद्ले देशका क्रान्तिकारी स्थलहरूलाई राष्ट्रिय प्रमुख सांस्कृतिक सम्पदा संरक्षण एकाइ रूपमा घोषणा गर्दा येपिङको यो थलो पनि समेटिएको छ । 

जियाङ्सी प्रान्तको रुइजिन शहरस्तिथत राष्ट्रिय प्रमुख सांस्कृतिक सम्पदा संरक्षण एकाइ चीनको रेड क्यापिटलका रूपमा पनि प्रसिद्ध छ । जसको प्रत्यक्ष सम्बन्ध सोभियत संघसँग जोडिन्छ । माओ नेतृत्वको लङ मार्चलाई सबैभन्दा ठूलो सहयोग नै सोभियत संघको थियो 

येपिङको सङ्ग्रहालयमा माओसँगै अर्का नेता वाङ जियाश्याङलाई पनि सम्मानसाथ स्मरण गरिन्छ । 

सन् १९०६ मा जन्मिएर सन् १९७४ मा बितेका वाङ जियाश्याङ चीनको आनहुई प्रान्तस्थित जिङ काउन्टीका निवासी थिए। यता चीनमा क्रान्ति अघि बढ्दै गर्दा उनी सन् १९३१ को मार्चमा केन्द्रीय सोभियत क्षेत्रमा पुगे ।

त्यसपछि उनले चिनियाँ कम्युनिष्ट पार्टीको सोभियत क्षेत्रीय (केन्द्रीय ब्युरोका सदस्य, पार्टीको केन्द्रीय राजनीतिक ब्युरोका वैकल्पिक सदस्य, चिनियाँ सोभियत गणतन्त्रको केन्द्रीय कार्यकारी समितिका सदस्य, जनविदेश मामिला विभागका मन्त्री, चिनियाँ मजदुर तथा किसान लाल सेनाको मुख्य राजनीतिक विभागका प्रमुख तथा केन्द्रीय क्रान्तिकारी सैनिक आयोगका उपाध्यक्षलगायत महत्त्वपूर्ण जिम्मेवारी सम्हाले ।

सन् १९३४ को अक्टोबरमा उनले ऐतिहासिक लङ मार्चमा पनि भाग लिए । जनवादी गणतन्त्र चीन स्थापना भएपछि वाङ जियाश्याङले सोभियत संघका लागि चीनका राजदूत, परराष्ट्र मन्त्रालयका उपमन्त्री, चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय सम्पर्क विभागका प्रमुख, पार्टीको आठौँ केन्द्रीय समितिका सदस्य, केन्द्रीय सचिवालयका सचिव, तेस्रो र चौथो राष्ट्रिय जनराजनीतिक परामर्श सम्मेलन (सीपीपीसीसी) का स्थायी समिति सदस्य तथा केन्द्रीय वैदेशिक मामिला समूहका उपप्रमुखका रूपमा काम गरे ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  १ : ४९ बजे

मानसिक अस्पतालमा अनलाइन टिकट सेवा सुरु

काठमाडौँ- मानसिक अस्पताल लगनखेलले बिरामीलाई अब अनलाइनबाटै ओपीडी टिकट सेवा

मार्कीचोक–भरतपुर खण्डमा असार २३ देखि विद्युत् परीक्षण सेवा

दमौली– मार्कीचोक–भरतपुर खण्डमा असार २३ देखि विद्युत् परीक्षण सेवा सुरु

सभामुख अर्यालसँग साउदी अरेबियाका राजदूतबीच भेटवार्ता

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी अरेबियाका

मानसिक अस्पतालमा अनलाइन टिकट सेवा सुरु

काठमाडौं– मानसिक अस्पताल लगनखेलले बिरामीलाई अब अनलाइनबाटै ओपीडी टिकट सेवा

राष्ट्रिय मानव अधिकार आयोगद्वारा रास्वपासँग १८ वर्षमुनिका सदस्यबारे जानकारी माग

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग १८