महोत्तरी– प्राचीन संस्कृत भाषा र साहित्य साधनाको केन्द्र मानिने महोत्तरीको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालय (गुरुकुल) ले पठन संस्कृतिलाई जोड दिँदै पाँच दशकअघिको पुस्तकालय जगाउने अभियान थालेको छ ।
शङ्कर आदर्श पुस्तकालयलाई फेरि पनि पुरानै लयमा फर्काउन अहिले गुरुकुलले विशेष अभियान चलाएको छ । २०३३ सालमा तत्कालीन विद्यार्थीले स्थापना गरे पनि उचित व्यवस्थापन नपाएर अस्तित्वको सङ्कटमा पुगेको पुस्तकालय अहिले मधेश प्रदेश सरकारको साथ र गुरुकुल प्रशासनको सक्रियताले पुनः सञ्चालन हुने आशा पलाएको छ ।
यो पुस्तकालय स्थापनाका केही वर्ष नेपाल भारत दुवैतर्फका अध्येताका लागि गन्तव्य थियो, नेपाल भारत सीमाबाट १०० मिटर दूरीभित्र रहेको हुँदा यहाँ अध्ययन÷अन्वेषणका लागि भारतीय विज्ञ पनि आउँथे ।
पाँच दशक पहिलेको पुस्तकालय सम्झँदै मटिहानी–७ का बासिन्दा ९० वर्षीय प्रेस स्वतन्त्रता सेनानी विन्देश्वरीप्रसाद मण्डल भन्छन्, ‘हेर्दाहेर्दै यो पुस्तकालय मासियो, अहिले फेरि यसलाई जगाउने प्रयत्न थालिएको कुराले खुसी दिएको छ ।’
पुस्तकालयका लागि मधेस प्रदेश सरकारले भवन निर्माण गरेको छ । यसैगरी, गुरुकुलका प्रधानाध्यापक पुस्तक सङ्ग्रह अभियानमा जुट्नुभएपछि अब भने पुस्तकालय व्यवस्थित रूपमा सञ्चालनमा आउने आशा सञ्चार भएको स्थानीयबासी मोहम्मद इसराफिल राइनले बताए । ‘अग्रजहरूले स्थापना गरेको पुस्तकालयको नामोनिशान मेटिएको थियो,’ इस्लाम धर्मावलम्बी भएर पनि संस्कृत भाषा साहित्य अध्ययन गर्नुभएका राइन भन्छन्, ‘मैले पनि यसै गुरुकुलबाट माध्यमिक शिक्षा पूरा गरे, पुस्तकालयको अवस्थाले मन रुन्थ्यो ।’ गुरुकुल परिसरमै मधेस प्रदेश सरकारले पुस्तकालयका लागि भवन निर्माण गरेसँगै विभिन्न व्यक्तित्वबाट पुस्तक र अन्य सहयोग जुट्न थालेको छ ।
संस्कृत भाषा र साहित्यको विकासमा गुरुकुलको लामो इतिहास छ । मुलुककै जेठो मानिने यो विद्यालय विक्रम सम्वत् १७७५ सालमा स्थापना भएको हो । यस आधारमा गुरुकुल स्थापना भएको ३०८ वर्ष पूरा भएको छ । केही दशकअघिसम्म ब्राह्मणका लागि मात्र शिक्षा दिने गुरुकुलले अब सबै जातजाति र धर्मावलम्बीलाई पठनपाठनको अवसर प्रदान गरेको छ ।
विद्यार्थीकै प्रयत्नमा स्थापित शङ्कर आदर्श पुस्तकालयलाई व्यवस्थित गर्ने अभियानमा जुटेपछि राम्रो साथ सहयोग पाइएको प्रधानाध्यापक ईश्वरी पौडेलको भनाइ छ ।











प्रतिक्रिया