काठमाडौं- नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको निष्पक्ष छानबिन र आवश्यक निष्कर्ष निकाल्न उच्चस्तरीय संसदीय समिति गठन गर्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा रोस्टमबाट बोल्दै आङ्देम्बेले अहिले प्रचारबाजी गर्ने समय नभई नागरिकको जीवन बचाउने समय भएको बताए। उनले विपद्को समयमा सरकारको प्राथमिकता नागरिकको जीवन रक्षा र प्रभावितलाई तत्काल राहत तथा उद्धार उपलब्ध गराउनु हुनुपर्नेमा जोड दिए।
सरकारले प्रचारभन्दा पनि काम गरेर देखाउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले सरकारको न्यूनतम दायित्व नागरिकको जीवन रक्षा गर्नु भएको बताए। बाढी प्रभावित क्षेत्रको वास्तविक अवस्था पहिचान गर्न तथा घटनाको निष्पक्ष अध्ययन र छानबिनका लागि संसदीय समिति आवश्यक रहेको उनको भनाइ छ।
आङ्देम्बेले सरकारलाई खबरदारी गर्नुका साथै आवश्यक सहयोग गर्न नेपाली कांग्रेस सधैँ तयार रहेको बताए। विपद्का बेला सबैको ध्यान नागरिकको जीवन रक्षा र प्रभावितको उद्धार तथा राहतमा केन्द्रित हुनुपर्ने उनले उल्लेख गरे।
उनले बाढी प्रभावित क्षेत्रको अवस्था, क्षति र सरकारी उद्धार तथा राहत प्रयासबारे गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए।












प्रतिक्रिया