कांग्रेस देउवा समूहले मंसिर २१ देखि महाधिवेशन गर्ने, भदौ २५ भित्र जिल्ला अधिवेशन तयारी समिति बनाइसक्ने « Khabarhub

कांग्रेस देउवा समूहले मंसिर २१ देखि महाधिवेशन गर्ने, भदौ २५ भित्र जिल्ला अधिवेशन तयारी समिति बनाइसक्ने


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसमा शेरबहादुर देउवा नेतृत्वको समूहले पार्टीको १५औँ महाधिवेशनको तयारी अघि बढाएको छ।

देउवा समूहको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिको बुधबार बसेको दोस्रो बैठकले महाधिवेशनदेखि वडा तहसम्मका अधिवेशनको प्रस्तावित कार्यतालिका तय गरेको हो।

समितिले आगामी भदौ १८ गतेभित्र महाधिवेशन तयारीका लागि चारवटा समिति गठन गर्ने प्रस्ताव गरेको छ। केन्द्रीय निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन तथा व्यवस्थापन समिति, विधान संशोधन समिति र अनुशासन समिति गठन गर्ने प्रस्ताव गरिएको छ।

त्यस्तै, महिला संघ, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल दलित संघ र आदिवासी जनजाति महासंघका तदर्थ समिति गठन गर्ने प्रस्ताव पनि बैठकले गरेको छ।

७७ वटै जिल्लामा जिल्ला अधिवेशन तयारी समिति गठनका लागि केन्द्रीय प्रतिनिधि तोक्ने निर्णयसमेत प्रस्ताव गरिएको छ। केन्द्रीय प्रतिनिधिहरूले भदौ २० गतेभित्र सम्बन्धित जिल्लामा पुगिसक्नुपर्ने र भदौ २५ गतेभित्र जिल्ला अधिवेशन तयारी समिति गठन गरिसक्नुपर्ने कार्यतालिका तय गरिएको छ।

संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रका क्षेत्रीय अधिवेशन तयारी समिति भदौ २८ गतेभित्र गठन गरिसक्नुपर्नेछ। यस्तै, पालिका र वडा अधिवेशन तयारी समिति असोज ३ गतेभित्र गठन गरिसक्नुपर्ने प्रस्ताव छ।

क्रियाशील सदस्यताको टुंगो असोज ९ भित्र

समितिले क्रियाशील सदस्यताको विषयलाई समेत महाधिवेशन तयारीको प्रमुख एजेन्डाका रूपमा अघि सारेको छ। नयाँ क्रियाशील सदस्यको विवरण असोज ९ गतेभित्र टुंग्याउने प्रस्ताव गरिएको छ।

१४औँ महाधिवेशनमा भाग लिएका सबै क्रियाशील सदस्यलाई १५औँ महाधिवेशनमा सहभागी हुन दिने प्रस्ताव गरिएको छ। त्यस्तै, १४औँ महाधिवेशनमै १५औँ महाधिवेशनमा सहभागी हुने निर्णय गरेका क्रियाशील सदस्यलाई पनि अधिवेशनमा सहभागी गराउने प्रस्ताव छ।

२०८२ पुस १० गतेभित्र क्रियाशील सदस्यता नवीकरण गरिसकेका तथा सोही मितिभित्र नयाँ क्रियाशील सदस्यताका लागि फारम भरिसकेकालाई पनि अधिवेशनमा सहभागी गराउने प्रस्ताव गरिएको छ। क्रियाशील सदस्यतासम्बन्धी विवाद भएमा क्रियाशील सदस्यता छानबिन तथा व्यवस्थापन समितिको निर्णय अन्तिम हुने उल्लेख छ।

यस्तो छ प्रस्तावित अधिवेशन कार्यतालिका

समितिले वडा अधिवेशन असोज १५ गते, पालिका अधिवेशन असोज २० गते र प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन असोज २३ गते गर्ने प्रस्ताव गरेको छ।

जिल्ला अधिवेशन कात्तिक १५ गते, प्रदेश अधिवेशन मंसिर ४ गते र केन्द्रीय महाधिवेशन मंसिर २१, २२ र २३ गते गर्ने प्रस्ताव गरिएको छ।

महाधिवेशन सम्पन्न गर्न केन्द्रीय निर्वाचन समितिले सातै प्रदेश, ७७ जिल्ला तथा जिल्ला हुँदै प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, पालिका र वडा अधिवेशनका लागि निर्वाचन अधिकृत तथा मतदान अधिकृत पठाउनेछ।

स्थानीय तहको उम्मेदवार छनोट प्रक्रिया अघि बढाउने

बैठकले प्रदेशसभा तथा स्थानीय तहका विभिन्न पदका लागि सम्भावित उम्मेदवारको नामावली संकलन र छनोट प्रक्रिया पनि अघि बढाउने प्रस्ताव गरेको छ।

सम्बन्धित तह र समितिले प्रदेशसभा तथा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका, प्रमुख, उपप्रमुख तथा वडा अध्यक्ष र सदस्य पदका इच्छुक उम्मेदवारको नामावली संकलन गरी उपयुक्त उम्मेदवार छनोटका लागि आवश्यक प्रक्रिया प्रारम्भ गर्ने प्रस्ताव गरिएको छ।

रसुवा बाढी र पुनर्स्थापनाका लागि अपिल

बैठकले रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।

बाढीमा सयौँको ज्यान गएको, हजारौँ बेपत्ता भएको, सयौँ घाइते भएको र हजारौँ परिवार विस्थापित भएको उल्लेख गर्दै समितिले प्रभावितहरूको खोजी तथा उद्धार, राहत, सुरक्षित आवास, उचित क्षतिपूर्ति र पुनर्स्थापनाको व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

विपद्को कठिन अवस्थामा आवश्यक सहयोगका लागि राजनीतिक दल, भ्रातृ तथा शुभेच्छुक संघसंस्था, निजी क्षेत्र, उद्योगी व्यवसायी, वित्तीय संस्था, मित्रराष्ट्र, अन्तर्राष्ट्रिय समुदाय तथा दातृ निकायसँग अपिलसमेत गरिएको छ।

साथै, विपद्को समयमा मानवीय सेवामा निरन्तर जुट्न पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई पुनः आह्वान गरिएको छ।

बैठकले ११३औँ बीपी जयन्ती मनाउने, समसामयिक राजनीतिक विषय तथा विविध विषयमा समेत छलफल गर्ने प्रस्ताव गरेको छ।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  ४ : ०० बजे

विष्णु माझीले ल्याइन् तीज गीत

काठमाडौं– गायिका विष्णु माझीले तीज गीत ‘घरबार’ ल्याएकी छन् ।

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

वालिङ– भोटेकोशी बाढीमा परी घाइते भएकाहरूका लागि स्याङ्जामा रगत सङ्कलन गरिएको

‘मन भक्कानिदा बिलौना गर्ने समय छैन’

यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिंगो

चीनले बाढीपछि अवरूद्ध केरूङको मुख्य राजमार्ग सातामै खुलायो, चौबीसै घण्टा चल्दैछ उद्धार अभियान

चीन– नेपालसँगको जोडिएको चीनको दक्षिणपश्चिमी शिचाङ स्वायत्त क्षेत्रमा गत बुधबार

एक साताको खोजी निष्फल, पत्रकार पौडेलका बुवा-आमासहित पाँच जनाको अन्तिम संस्कार

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर