रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सम्पन्न « Khabarhub

रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सम्पन्न


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

अमेरिका- रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सम्पन्न भएको छ ।

 रूस–युक्रेन युद्ध, मध्यपूर्वको तनाव, विश्वव्यापी व्यापार असन्तुलन तथा युक्रेनलाई निरन्तर सहयोगलगायत विषयमा मतभेदबीच जी–२० का अर्थमन्त्री तथा केन्द्रीय बैंकका अधिकारीहरूको दुईदिने बैठक मंगलबार अमेरिकाको नर्थ क्यारोलिनास्थित एशभिलमा सम्पन्न भएको हो।

बैठकमा अधिकांश सदस्य राष्ट्रले अध्यक्षको वक्तव्यलाई समर्थन गरे पनि रूसको सहभागिता, होर्मुज जलडमरूमध्यको सुरक्षा, व्यापार असन्तुलन र युक्रेनलाई सहयोगलगायत विषयमा सदस्य राष्ट्रबीच मतभिन्नता देखिएको थियो।

बैठकमा रुसी अर्थमन्त्री एन्टोन सिलुआनोभको सहभागिताप्रति युक्रेनका साझेदार राष्ट्रहरूले असन्तुष्टि जनाएका थिए। अमेरिकाले रुसी प्रतिनिधिलाई बैठकमा सहभागी गराएपछि केही युरोपेली अधिकारीहरूले युक्रेनमा रूसले युद्ध जारी राखिरहेका बेला अन्तर्राष्ट्रिय मञ्चमा उसको सहभागितालाई सामान्य रूपमा स्वीकार गर्न नहुने धारणा व्यक्त गरेका थिए।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भने रुसी अर्थमन्त्रीको उपस्थितिले बैठकको छलफलमा उल्लेखनीय प्रभाव नपारेको दाबी गरे। अधिकांश सहभागीले अध्यक्षको वक्तव्यलाई समर्थन गर्नुले पनि रूसको सहभागिताले बैठकको परिणाममा असर नपारेको उनको भनाइ थियो।

बेसेन्टले विभिन्न पक्षसँग संवाद कायम राख्नु आवश्यक रहेको बताउँदै बैठकमा सहभागी सिलुआनोभमाथि अमेरिकाले प्रतिबन्ध नलगाएको जानकारी दिए।

क्यानडाका अर्थमन्त्री फ्राँस्वा–फिलिप श्याम्पेनले सिलुआनोभको सहभागिताले केही असहजता सिर्जना गरेको स्वीकार गर्नुभयो। युरोपेली संघका अर्थसम्बन्धी प्रमुख भाल्डिस डोम्ब्रोभ्स्किसले पनि रूसको सहभागिताप्रति आपत्ति जनाउँदै युक्रेनमा युद्ध जारी रहेका बेला रूसको उपस्थितिलाई अन्तर्राष्ट्रिय बैठकमा सामान्य बनाउनु उचित नहुने बताए।

उनले रूसको सहभागिताका कारण आक्रामक युद्ध सञ्चालन गरिरहेको सरकारका प्रतिनिधिसँग संवेदनशील आर्थिक विषयमा छलफल गर्नुपर्ने अवस्था उत्पन्न भएको बताए।

होर्मुजको सुरक्षामा जोड

बैठकको अध्यक्षीय वक्तव्यमा होर्मुज जलडमरूमध्यबाट स्वतन्त्र, सुरक्षित र पूर्वानुमान गर्न सकिने ढंगले जलयातायात सञ्चालन सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ। तर चीनले वक्तव्यको उक्त अंशमा समर्थन जनाएको छैन।

मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्वको प्रमुख ऊर्जा तथा व्यापारिक मार्ग मानिने होर्मुज जलडमरूमध्यको सुरक्षा थप संवेदनशील बनेको छ। इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि उक्त जलमार्गमा आवागमन प्रभावित भएको बताइएको छ।

बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार तथा भन्सार नीतिले पनि प्रमुखता पाएको थियो। अमेरिकाले यस वर्ष जी–२० को घुम्ती अध्यक्षता गरिरहेको छ। वासिङ्टनले इरानमाथि लगाइएका प्रतिबन्धमा साझेदार राष्ट्रहरूको समर्थन जुटाउने तथा विश्वव्यापी व्यापार असन्तुलन घटाउने विषयमा समेत छलफल अघि बढाएको छ।

रूसले इरानलाई दिइरहेको सहयोगबारे अमेरिकाले मस्कोसँग छलफल गरेको छ कि छैन भन्ने प्रश्नमा बेसेन्टले केही कूटनीतिक विषय सार्वजनिक रूपमा भन्दा निजी संवादमार्फत अघि बढाउनु उपयुक्त हुने बताए।

चीनको व्यापार असन्तुलनप्रति चासो

जी–२० बैठकमा विश्वव्यापी आर्थिक असन्तुलनको विषयमा पनि सदस्य राष्ट्रबीच मतभेद देखिएको थियो।

अध्यक्षीय वक्तव्यमा ‘अत्यधिक र दीर्घकालीन असन्तुलनले जोखिम सिर्जना गर्न सक्ने तथा आर्थिक विकृति निम्त्याउन सक्ने’ उल्लेख गर्दै गैर–बजारमुखी नीतिका कारण उत्पन्न असन्तुलन कम गर्न आवश्यक कदम चाल्न सदस्य राष्ट्रलाई आग्रह गरिएको छ।

यो विषय चीनको औद्योगिक उत्पादन क्षमतासँग सम्बन्धित अन्तर्राष्ट्रिय आलोचनासँग जोडिएको छ। चीनमा अत्यधिक औद्योगिक उत्पादनका कारण विश्व बजारमा अनुचित प्रतिस्पर्धा बढेको र वस्तुको मूल्यमा दबाब सिर्जना भएको भन्दै विभिन्न देशले लामो समयदेखि चिन्ता व्यक्त गर्दै आएका छन्।

क्यानडाका अर्थमन्त्री श्याम्पेनले विश्वव्यापी आर्थिक असन्तुलन वर्तमान अवस्थामा दीर्घकालीन रूपमा कायम रहन नसक्ने बताए। यसको समाधानका लागि सम्बन्धित सबै देशबीच सामूहिक छलफल र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

युक्रेनलाई सहयोग जारी राख्ने प्रतिबद्धता

जी–२० बैठकमा युक्रेनलाई निरन्तर आर्थिक तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउने विषयमा पनि छलफल भएको थियो। यसअघि जी–७ का सदस्य राष्ट्रहरूले छुट्टै बैठक गरी युक्रेनको अवस्थाबारे विचारविमर्श गरेका थिए।

जर्मनीका अर्थमन्त्री लार्स क्लिङबाइलले युक्रेनमा नागरिकमाथि हुने क्षेप्यास्त्र आक्रमण बढिरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुभयो। युक्रेनसम्बन्धी विषयमा आफू र अन्य युरोपेली अर्थमन्त्रीहरूले आफ्नो धारणा स्पष्ट रूपमा प्रस्तुत गरेको उनले बताए।

उनले युक्रेनमा जारी आक्रमण अन्त्य गर्न आवश्यक कदम चालिनुपर्नेमा जोड दिए। जी–७ का नेताहरूले सोमबार गरेको छलफलमा युक्रेनका अर्थमन्त्री पनि भर्चुअल माध्यमबाट सहभागी भएका थिए। छलफलमा युक्रेनलाई आर्थिक तथा अन्य आवश्यक सहयोग निरन्तर उपलब्ध गराउने विषयमा विचारविमर्श भएको थियो।

यसैबीच, जर्मनीले मंगलबार रूसमाथि गत महिना एक रणनीतिक विमानस्थलमा ड्रोनसँग सम्बन्धित घटनामार्फत ‘हाइब्रिड आक्रमण’को प्रयास गरेको आरोप लगाउँदै कूटनीतिक प्रतिकारका उपाय घोषणा गरेको छ।

जी–२० मा १९ देशसँगै युरोपेली संघ र अफ्रिकी संघ सदस्य छन्। सन् १९९७–९८ को एसियाली वित्तीय संकटपछि विश्वव्यापी आर्थिक तथा वित्तीय स्थायित्व प्रवद्र्धन गर्ने उद्देश्यले जी–२० स्थापना गरिएको थियो।

एशभिलमा सम्पन्न अर्थमन्त्रीस्तरीय बैठकले आगामी डिसेम्बरमा अमेरिकाको मियामीमा आयोजना हुने जी–२० राष्ट्र तथा सरकार प्रमुखहरूको शिखर सम्मेलनका लागि आधार तयार गरेको छ। उक्त शिखर सम्मेलन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गर्नेछन्।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  ४ : ३१ बजे

भारत, इजरायल र युरोपलाई जोड्ने आर्थिक करिडोर : मध्यपूर्वको सबैभन्दा ठूलो तर ओझेलमा परेको रणनीतिक कथा

काठमाडौं– भारत, मध्यपूर्व र युरोपलाई जोड्ने बहुप्रतिक्षित आर्थिक करिडोर वर्तमान

बाढी प्रभावित क्षेत्रमा दैनिक उडिरहेछन् डेढ दर्जन हेलिकप्टर (तस्बिरहरू)

काठमाडौं– बाढी प्रभावित क्षेत्रमा एकैपटक १५–२० वटा हेलिकप्टर उद्धार तथा

काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

काठमाडौं– सरकारले काठमाडौं विश्वविद्यालयको रजिस्ट्रार पदमा विराज सिंह थापालाई नियुक्त

विष्णु माझीले ल्याइन् तीज गीत

काठमाडौं– गायिका विष्णु माझीले तीज गीत ‘घरबार’ ल्याएकी छन् ।

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

वालिङ– भोटेकोशी बाढीमा परी घाइते भएकाहरूका लागि स्याङ्जामा रगत सङ्कलन गरिएको