काठमाडौं – बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा जमिनी माध्यमबाट खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको छ। नेपाली सेनाका अनुसार २०८३ भदौ १७ गते साँझ ७ बजेसम्म विभिन्न प्रभावित क्षेत्रबाट थप ३४ जनाको हवाई उद्धार गरिएको छ ।
योसँगै नेपाली सेनाले हालसम्म हवाई साधनमार्फत २७३ जना विदेशी नागरिकसहित कुल ३ हजार ९२५ जनाको उद्धार गरिसकेको जनाएको छ ।
यता, बाढी तथा पहिरोका कारण प्रभावित विभिन्न जलविद्युत् आयोजनाका टनेलमा फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोजी कार्य पनि जारी छ ।
रसुवागढी हाइड्रोपावरको टनेलमा नेपाली सेना र आयोजनाका इन्जिनियरसहितको टोली करिब २७५ मिटरभित्र पुगेर खोजी गरिरहेको छ । उद्धार कार्यलाई थप तीव्र बनाउन हेभी मेसिन तथा एक्स्काभेटर टनेलभित्र लैजाने तयारी भइरहेको सेनाले जनाएको छ ।
त्यस्तै, लाङटाङ हाइड्रोमा विदेशी नागरिकसहित २५ जनाको संयुक्त टोलीले टनेलभित्र करिब १५० मिटरसम्म प्रवेश गरी खोजी गरिरहेको छ । चिलिमे हाइड्रोमा माउन्टेन एसोसिएसन तथा विदेशी सदस्यसहितको टोली करिब १५० मिटरभित्र पुगेकोमा टनेल बन्द अवस्थामा फेला परेको छ। त्यहाँ साउन्ड डिटेक्टरमार्फत निगरानी भइरहेको छ ।
अपर त्रिशूली–१ को टनेलको मुख ढुंगाले छेकिएको अवस्थामा रहेकाले भित्र प्रवेश गर्ने प्रयास भइरहेको छ । हाकु बेसीमा विदेशीसमेत सहभागी संयुक्त टोलीले करिब २६० मिटरभित्र पुगेर खोजी गर्दा हालसम्म केही फेला नपरेको जनाइएको छ ।
यसैगरी त्रिशूली–३ एमा नेपाली सेनासहित ९३ जनाको संयुक्त उद्धार टोलीले चारवटा स्काभेटर र एउटा बबक्याट प्रयोग गरी माटो पन्छाउने काम गरिरहेको छ। कम्प्रेसर मेसिन, ब्रेकर तथा ब्लास्टिङमार्फत टनेल खुलाउने प्रयास भइरहे पनि आउटलेटमा लेदो भरिएका कारण बबक्याटबाट माटो हटाउने काम भइरहेको छ। हाल अगाडि रहेको चट्टान ब्लास्टिङ गर्ने कार्य जारी छ।
त्रिशूली–३ बीमा नेपाली सेनाका ६१ जना, गैरसैनिक तीन जना तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोलीले आयोजनाको कार्यालय र आवास क्षेत्र पहिचान गरी बबक्याटको सहयोगमा खोजी गरिरहेको छ।
जमिनमा पनि व्यापक खोजी
नेपाली सेनाले प्रभावित क्षेत्रका जंगल, डाँडा, खोला तथा बस्तीमा पैदल गस्ती गर्दै स्थानीयलाई सुरक्षा प्रत्याभूति दिलाउनुका साथै चिकित्सक तथा स्वास्थ्य अधिकृतसहित स्वास्थ्य सेवा पनि प्रदान गरिरहेको जनाएको छ ।
त्रिशूलीपारि कोलोनीदेखि तुप्चे, सोले बजार तथा नुवाकोटका विभिन्न स्थानमा समेत खोज तथा उद्धार कार्य भइरहेको छ। टिमुरे क्षेत्रमा फेला परेका शवलाई त्रिशूलीसम्म ल्याउन स्लिङ लोड अपरेसनसमेत सुरु गरिएको छ ।
सेनाका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रमा ९ हजार २ सयभन्दा बढी नेपाली सेना प्रत्यक्ष रूपमा परिचालित छन् । उनीहरूले घाइते तथा प्रभावितको खोज तथा उद्धार, शव व्यवस्थापन, अवरुद्ध सडक खुलाउने, राहत सामग्री ढुवानी तथा आकस्मिक उपचारलगायतका काम गरिरहेका छन् ।
प्रभावित क्षेत्रमा निसंक्रमणको काम
बाढी तथा विपद्पछि सम्भावित संक्रमणको जोखिम कम गर्न प्रभावित क्षेत्रमा निसंक्रमण अर्थात् डिसइन्फेक्सन गर्ने कार्य पनि अघि बढाइएको छ ।
रसुवाको धुन्चे तथा रेड पाण्डा क्षेत्र, नुवाकोटको सैन्य तालिम केन्द्र र त्रिशूली, चितवनको देवघाट, धादिङको गजुरी प्राथमिक स्वास्थ्य केन्द्र तथा शव फेला परेका स्थानमा निसंक्रमण भइरहेको छ ।
त्यस्तै कास्कीको याम्दी बाटुलीचौर, तनहुँको व्यास–५ चैनपुर तथा नवलपरासी पश्चिमको पृथ्वीचन्द्र अस्पताल, परासीस्थित शव सङ्कलन केन्द्र, सुनवल–४ र मुलपानी सामुदायिक वनलगायतका स्थानमा समेत डिसइन्फेक्सनको काम भइरहेको नेपाली सेनाले जनाएको छ ।
अन्य प्रभावित क्षेत्रमा पनि स्थानीय तहसँगको समन्वयमा निसंक्रमणको काम विस्तार गर्ने तयारी भइरहेको छ ।












प्रतिक्रिया