काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ । यही सिन्दूरसँग जोडिएको एक महिलाको भावना, महत्त्व र सामाजिक पक्षलाई कथाको केन्द्रमा राख्दै नयाँ फिल्म ‘सिन्दूर’को छायाङ्कन सुरु भएको छ। फिल्मको छायाङ्कन शुक्रबार पश्चिम नेपालको दाङबाट सुरु गरिएको निर्माण पक्षले जनाएको छ।
कस्तुरी प्रोडक्सन प्रालिको प्रस्तुति तथा क्लासिक सिने युनिभर्स प्रालिको सहकार्यमा बन्न लागेको फिल्मको लेखन तथा निर्देशन लक्ष्मण सुनारले गर्दैछन् । उनले यसअघि ‘बुलाकी’ र ‘परालको आगो’ निर्देशन गरिसकेका छन् । फिल्ममा सञ्जीव सार्कीको लगानी रहनेछ भने दिनेश सिंह महरा कार्यकारी निर्माता छन् ।
‘सिन्दूर’मा पुष्प खड्का र प्रशंसा रायमाझी मुख्य भूमिकामा देखिनेछन् । फिल्मले यी दुई कलाकारलाई नयाँ कथावस्तुमा जोडीका रूपमा प्रस्तुत गर्नेछ । सामाजिक कथामा आधारित फिल्मले महिलाको जीवनमा सिन्दूरले बोकेको भावनात्मक र सामाजिक अर्थलाई पर्दामा प्रस्तुत गर्ने निर्माण पक्षको भनाइ छ ।
फिल्मको छायाङ्कन संकल्प भुजेलले गर्नेछन् । संगीततर्फ प्रशान्त सिवाकोटी, श्रीकृष्ण बम मल्ल र दिनेश ढकाल रहनेछन् । त्यस्तै, प्रकाश हमाल निर्माण प्रमुख, करणबहादुर साउद मुख्य सहायक निर्देशक र रामजी लामिछाने नृत्य निर्देशकका रूपमा जोडिएका छन् ।
निर्माण पक्षले फिल्मको छायाङ्कनका लागि करिब एक महिनाको सेड्युल तय गरेको छ । दाङबाट सुरु भएको ‘सिन्दूर’ले एउटा महिलाका लागि सिन्दूर केवल श्रृंगारको वस्तु नभई सम्बन्ध, पहिचान र भावनासँग कसरी जोडिन्छ भन्ने कथा प्रस्तुत गर्नेछ ।














प्रतिक्रिया