काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विद्यमान कानून सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्न खोजेको बताएका छन् ।
शुक्रबार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी लगानी र विकासका लागि कानूनी सुधार’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री लम्सालले लगानी र विकासमा देखिएका समस्या कानुनी रुपमा समाधान गरिने बताए ।
उनले कानूनअनुसार नै राज्यको प्रणाली चल्नुका साथै परिणाम समेत देखिने भन्दै सरकार नागरिकमैत्री कानून निर्माणमा केन्द्रित रहेको बताएका हुन् । ऐन देशको ऐना भएकोले जस्तो ऐन निर्माण गर्न सकियो त्यस्तै राष्ट्र बन्ने मन्त्री लम्सालको भनाइ छ ।
उनले मुलुकको पूर्वाधार निर्माणको कामलाई थप गतिशील र प्रभावकारी रुपमा सम्पन्न गर्न आवश्यक सुधारको यस गोष्ठीले महत्त्वपूर्ण भूमिका खेल्ने पनि बताए ।
‘ऐन भनेको देशको ऐन हो । जस्तो ऐन हुन्छ, त्यस्तै राष्ट्र हुन्छ । अहिले हाम्रो ऐन जस्ता छन्, हाम्रो समाज पनि त्यस्तै छ । शहरी ऐन हेर्यो भने शहर पनि त्यस्तै छ । शिक्षा ऐन जस्तो छ, विद्यालय पनि सोहीअनुसार छन् । जस्तो ऐन बनायो परिणाम पनि त सोहीअनुसार आउँदो रहेछ । मैले अहिले परिमार्जन गर्न खोजेको कानूनहरु सोहीअनुसार सुधार गर्न खोजेका हौँ ।’ उनले भने, ‘अहिले हामीले तयार गरेको मस्यौदाको अक्षरशः अध्ययन गरेर कानूनलाई त्योभन्दा उत्कृष्ट कसरी बनाउने भन्नेबारेमा सोच्नुपर्यो । हामीले खरिद ऐन पास गरिरहेका थियौँ त्यो बेला निर्माण व्यवसायी संघले एउटा सुझाव ल्यायो । तर हामीले त्यो सुझाव आत्मसाथ गरेनौँ । किनभने उहाँहरूको सुझावले पोलिसी डिपार्चर नै दिँदैनथ्यो । उहाँहरूले दिएको सुझाव पनि पढियो र हाम्रो तयारी पनि पढियो । उहाँहरूलाई हामीले धेरै कुरा दिन खोजेका थियौँ उहाँहरूले लिनै नखोजेको जस्तो पनि देखियो । सरकारले खास पब्लिक सेन्ट्रिक पोलिसी डिर्पाचर खोजेको हो ।’














प्रतिक्रिया