काठमाडौं- युरोपेली संघले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि थप भन्सार महसुल |(ट्यारिफ) लगाउने तयारी गरिरहेका बेला स्पेन र चीनबीचको आर्थिक तथा कूटनीतिक निकटता तीव्र रूपमा बढेको छ । बेइजिङसँग मड्रिडको सम्बन्ध गहिरिँदै जाँदा युरोपेली संघका अन्य सदस्य राष्ट्रहरूमा असन्तुष्टि र आक्रोश बढेको छ ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले हालैको चीन भ्रमणका क्रममा युरोपेली आयोग र सदस्य राष्ट्रहरूलाई चिनियाँ ईभीमाथिको अतिरिक्त कर पुनर्विचार गर्न र सम्भावित व्यापार युद्ध रोक्न सार्वजनिक आह्वान गरेपछि ईयूभित्रको आन्तरिक मतभेद सतहमा आएको हो ।
युरोपेली संघ र चीनबीचको व्यापारिक तनावको मुख्य जड चिनियाँ विद्युतीय गाडीमा दिइने सरकारी अनुदान हो । अक्टोबर २०२३ मा युरोपेली आयोगले चिनियाँ ईभी र ब्याट्री उत्पादन श्रृंखलामा दिइएको अनुचित अनुदानबारे अनुसन्धान सुरु गरेको थियो । आयोगले चिनियाँ गाडीहरूले युरोपेली बजारमा अस्वस्थ प्रतिस्पर्धा सिर्जना गरेको निष्कर्ष निकाल्दै विभिन्न चिनियाँ कम्पनीहरूमाथि १७.४ प्रतिशतदेखि ३८.१ प्रतिशतसम्म अतिरिक्त भन्सार महसुल लगाउने प्रस्ताव गर्यो ।
यस कदममा फ्रान्स र जर्मनीजस्ता ईयूका ठूला अर्थतन्त्रहरूले अनुदानप्राप्त चिनियाँ उत्पादनहरूलाई नियन्त्रण गर्न र दैनिक १ अर्ब युरोसम्म पुगेको व्यापार घाटा कम गर्न कडा नीतिको वकालत गरेका थिए । तर, यसको प्रतिशोधमा चीनले पनि ईयूबाट आयात हुने सुँगुरको मासु, दुग्धजन्य पदार्थ र ब्रान्डीमाथि ‘एन्टि(डम्पिङ’ अनुसन्धान सुरु गर्यो ।
स्पेन ईयूबाट चीनमा सुँगुरको मासु निर्यात गर्ने सबैभन्दा ठूलो मुलुक हो, जसले वार्षिक ५ लाख ६० हजार टनभन्दा बढी ९१।२ अर्ब युरो बराबरको० मासु चीन पठाउँदै आएको छ । चीनको यो व्यापारिक रणनीतिले स्पेनको कृषि तथा पशुपालन क्षेत्रमा प्रत्यक्ष असर पार्ने जोखिम बढेपछि स्पेनले ईयूको कर नीतिको समर्थन छोडेर तटस्थ बस्ने निर्णय गर्यो ।
प्रधानमन्त्री पेड्रो सान्चेजले विगत चार वर्षमा चार पटक बेइजिङको भ्रमण गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरिसकेका छन् । यस कूटनीतिक सामीप्यताका कारण स्पेनमा चिनियाँ लगानी पछिल्लो एक वर्षमै दोब्बरले वृद्धि भएको छ ।
जर्मनीपछिको युरोपको दोस्रो ठूलो अटोमोबाइल उत्पादक राष्ट्र स्पेनमा ६ लाख मानिस यस क्षेत्रमा कार्यरत छन्। क्याटालोनिया, नाभारा र भ्यालेन्सियाजस्ता क्षेत्रीय सरकारहरूले आफूलाई चीनका लागि ‘युरोपको प्रवेशद्वार’ का रूपमा स्थापित गर्न प्रतिस्पर्धा गरिरहेका छन् ।
चिनियाँ अटोमोबाइल तथा ब्याट्री उत्पादक कम्पनीहरूले स्पेनमा ठूलो लगानी भित्र्याएका छन् । चेरीले बार्सिलोनामा आफ्नो पहिलो युरोपेली उत्पादन हब स्थापना गर्दै स्पेनको पुरानो ‘एब्रो’ ब्रान्डलाई पुनर्जिवित गरेको छ । त्यस्तै, क्याटलले जारागोजामा लिथियम ब्याट्री गिगाफ्याक्ट्री निर्माणमा सहकार्य गरिरहेको छ ।
एनभिजन र हिथियमले नाभारा र एक्सट्रेमादुरा क्षेत्रमा हरियो हाइड्रोजन र ब्याट्री उत्पादन प्लान्टहरू बनाइरहेका छन् । यसबाहेक १३ हजार किलोमिटर लामो यिवु९मड्रिड रेलमार्गले दुई देशबीच गाडीका पार्टपुर्जा र स्पेनिस उत्पादनहरूको ढुवानीलाई निरन्तरता दिइरहेको छ ।
युरोपेली साझेदारहरूको आक्रोश र सुरक्षा चिन्ता
स्पेनको यस कदमले ईयूका अन्य सदस्य राष्ट्रहरूमा गम्भीर असन्तोष जन्माएको छ । फ्रान्स र जर्मनीका आलोचकहरूले स्पेनले युरोपेली संघको साझा सुरक्षा र आर्थिक हितलाई बेवास्ता गर्दै आफ्नो अल्पकालीन राष्ट्रिय फाइदा मात्र हेरेको आरोप लगाएका छन् । आलोचकहरूले चिनियाँ गाडी निर्माताहरूले ईयूको आयात करबाट बच्नका लागि मात्र स्पेनमा उत्पादन प्लान्टहरू स्थापना गरिरहेको दाबी गरेका छन् ।
आर्थिक प्रतिस्पर्धाका अलावा सुरक्षा र गुप्तचर जोखिमका विषयमा पनि ईयूभित्र तीव्र चिन्ता व्यक्त गरिएको छ । स्पेनको आन्तरिक मन्त्रालयले अदालतको संवेदनशील टेलिफोन ट्यापिङ र न्यायिक डाटा व्यवस्थापनका लागि चिनियाँ प्रविधि कम्पनी हुवावेलाई १२।३ मिलियन युरोको ठेक्का दिएपछि यो आक्रोश झनै चर्किएको हो ।
युरोपेली संसदका सदस्यहरूले यस सम्झौताले सिङ्गो युरोपेली संघको गुप्तचर आदानप्रदान प्रणालीलाई जोखिममा पार्ने चेतावनी दिएका छन् । विश्लेषकहरू र आलोचकहरूका अनुसार यस्ता कदमहरूले गर्दा स्पेन ईयूभित्र चीनको ‘ट्रोजन हर्स’ बन्ने र युरोपेली संघको साझा विदेश तथा सुरक्षा नीतिमा स्थायी फुट आउने खतरा बढेको छ ।
(अन्तर्राष्ट्रिय मिडियाहरूको सहयोगमा)














प्रतिक्रिया