काठमाडौं– डा. रुद्र पाण्डेविरुद्ध गाली बेइज्जेती मुद्दा लिएर गएका कलेजलाई अदालतले अन्तरकालीन आदेश दिन अस्वीकार गरेको छ । विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेज खारेज हुनुपर्ने भन्दै अभियान चलाइरहेका डा पाण्डेविरुद्धको रिटमा काठमाडौं जिल्ला अदालतले शुक्रबार सुनुवाई गर्दै अन्तरकालीन आदेश जारी गर्न नमिल्ने ठहर गरेको हो ।
जिल्ला न्यायाधीश टिकेन्द्र दाहालको इजलासले शुक्रबार उक्त आदेश जारी गरेको हो । यसअघि अदालतबाट गत वैशाख २३ गते जारी भएको अन्तरकालीन आदेश निरन्तर रहने वा नरहने विषयमा दुवै पक्षलाई राखी छलफल गर्न पेस भएको निवेदन तथा मिसिल संलग्न कागजातहरूको अध्ययन गरिएको थियो ।
शुक्रबार प्रेसिडेन्सियल ग्राजुएट स्कुल, मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी, टेक्सपायर कलेज र आईआईएमएसको तर्फबाट अधिवक्ताहरूले बहस गरेका थिए । त्यसैगरी डा पाण्डेका तर्फबाट अधिवक्ताहरूहरूले बहस गरेका थिए । दुवै पक्षका कानून व्यवसायीहरूको बहस सुनिसकेपछि अदालतले निवेदनमा उठाइएको विषयवस्तुका सम्बन्धमा पछि प्रमाणको मूल्याङ्कन गरी मुद्दाको अन्तिम फैसला हुँदाका बखत नै ठहरेबमोजिम हुने स्पष्ट पारेको छ ।
सोही आधारमा हाल निवेदनको मागबमोजिम अन्तरकालीन आदेश जारी गर्न नमिल्ने निर्णय गर्दै अदालतले कानून बमोजिम प्रक्रिया अघि बढाउन आदेश दिएको छ ।














प्रतिक्रिया