भद्रपुर– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन तथा सुकुमवासीलाई जग्गाधनी पुर्जा वितरणको काम तीव्र बनाउन निर्देशन दिएकी छन् ।
जिल्ला प्रशासन कार्यालय झापामा जिल्ला भूमि समस्या समाधान समितिका पदाधिकारी, जिल्लाका १५ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा भूमि शाखाका कर्मचारीसँगको अन्तरक्रियामा उनले हालसम्मको प्रगति सन्तोषजनक नरहेको बताइन्।
मन्त्री रावलले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई हजारौँको सङ्ख्यामा पुर्जा वितरण भइसक्नुपर्ने भए पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताइन्। सरकारले भूमिसम्बन्धी समस्या समाधानका लागि अध्यादेशमार्फत नीतिगत सुधार गरिसकेको उल्लेख गर्दै उनले कानुनी तथा नीतिगत व्यवस्थामा थप समस्या भए सरकारले सहजीकरण गर्ने प्रतिबद्धता जनाइन्।
प्रक्रियागत अल्झन देखाएर काममा ढिलाइ गर्न नहुनेमा जोड दिँदै उनले परिणाम देखिने गरी काम अघि बढाउन निर्देशन दिइन् । भूमिहीन तथा सुकुमवासीको समस्या समाधान सरकारको प्राथमिकतामा रहेको उनको भनाइ थियो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रकाश पाठक, शम्भु सुस्केरा ढकाल र रमेश प्रसाईंले भूमिहीनको समस्या स्थायी रूपमा समाधान गर्न पुर्जा वितरणको काम तीव्र बनाउन सुझाव दिइन् । जनताको गुम्दै गएको विश्वास फर्काउन राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र दुवैले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उनीहरूले बताइन्।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जिल्लामा हालसम्म भएका प्रगति र आगामी कार्ययोजनाबारे जानकारी गराउँदै पुर्जा वितरणको कामलाई तीव्रता दिने प्रतिबद्धता जनाए । थप जनशक्तिसहित टोली परिचालन भइसकेकाले आगामी दिनमा कामको परिणाम देखिने उनले बताए।
जिल्ला भूमि समस्या समाधान समितिका सदस्य सचिव एवं जिल्ला नापी कार्यालय झापाका प्रमुख शिवप्रसाद लम्सालका अनुसार जिल्लामा जग्गा प्राप्तिका लागि ६० हजार २०० भन्दा बढीले आवेदन दिएका छन् । नयाँ समिति गठन भएपछि हालसम्म ७४ जनालाई मात्र जग्गाधनी पुर्जा वितरण गरिएको उनले जानकारी दिए।














प्रतिक्रिया