काठमाडौँ – सशस्त्र प्रहरी बल, नेपालले पछिल्लो सात महिनामा सीमा क्षेत्रबाट १ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी मूल्यको अवैध सामग्री बरामद गरेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएयता २०८२ चैत १३ देखि २०८३ कात्तिक १२ गतेसम्म १ अर्ब ३३ करोड २६ लाख ९१ हजार ५९९ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सरकारको सीमा क्षेत्रमा निगरानी र सुरक्षा व्यवस्था कडा बनाउने नीतिअनुरूप अवैध सामानको ओसारपसार, लागूऔषध कारोबार, हातहतियार तस्करी तथा अन्य आपराधिक गतिविधिविरुद्ध कारबाही तीव्र पारिएको सशस्त्र प्रहरीको भनाइ छ ।
यस अवधिमा १७ नाल अवैध हातहतियार बरामद गरिएको छ भने आठ जना पक्राउ परेका छन् । त्यस्तै, लागूऔषध कारोबारमा संलग्न ४२१ जना पक्राउ परेका छन् । उनीहरूबाट गाँजा, चरेस, अफिम, खैरो हेरोइन, विभिन्न ट्याब्लेट तथा इन्जेक्सनलगायत लागूऔषध बरामद गरिएको छ ।
मानव बेचबिखन तथा ओसारपसारको जोखिममा परेका १६७ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ११८ जना बालबालिका रहेका छन् । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा ९१ जना पक्राउ परेका छन् ।
सीमा अतिक्रमण नियन्त्रणका क्रममा दशगजाका ३५ स्थानमा रहेका २३७ वटा संरचना हटाइएको छ । त्यसैगरी, १७ स्थानमा रहेको ७.४४८ बिघा जग्गाबाट खेतीपाती हटाइएको सशस्त्र प्रहरीले जनाएको छ । सीमा क्षेत्रका २०४ स्थानमा ९४.५८८ किलोमिटर क्षेत्रमा सरसफाइसमेत गरिएको छ ।
सीमावासीसँगको सम्बन्ध सुदृढ बनाउने र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त अवधिमा २ हजार ८०६ वटा कार्यक्रम सञ्चालन गरिएको छ । साथै, १४१ सहायता कक्षबाट ३ लाख ४९ हजार ९०८ जना र १३ पर्यटक सहायता कक्षबाट १० हजार ६५४ जना लाभान्वित भएका छन् ।














प्रतिक्रिया