थारु बस्तीमा माघी पर्वको तयारी सुरु « Khabarhub

थारु बस्तीमा माघी पर्वको तयारी सुरु


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

देउखुरी– माघी पर्व नजिकिएसँगै यहाँका थारु बस्तीमा तयारी सुरु भएको छ । थारु समुदायले नयाँ वर्षका रूपमा यो पर्व आउनुभन्दा एक महिनाअघिदेखि तयारी गर्ने चलनअनुसार आजभोलि थारु बस्तीका स्थानीयको व्यस्तता बढेको छ । 

यस पर्वमा थारु समुदायमा गाउँका महतवा (अगुवा) को घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा रहेको घोराही उपमहानगरपालिका–७ शुक्रबारका रमा चौधरीले बताइन् ।

उनले भनिन्, ‘माघीको तयारीका लागि वनबाट दाउरा, पात ल्याएका छौँ । पातको दुनाटपरी गास्ने काम गरिरहेका छौँ । ढिक्री, रोटी, जाँड पकाउन धान, चामल कुटाउने र पिसाउने काम पनि सुरु भएको छ ।’

खानाका परिकार बनाउनका लागि एक महिनाअघिदेखि तयारी गरेर माघेसङ्क्रान्तिका दिनदेखि चार–पाँच दिनसम्म माघ पर्व मनाउने प्रचलन रहेको छ ।

घोराही–२ का सुशील चौधरीले थारु समुदायले माघमा गाउँको मुखिया, घरमूली चुन्ने, चौकीदार, नयाँ नियम लागू गर्ने, संशोधन गर्ने भएकाले पनि यसलाई विशेष रूपमा लिने गरिएको बताए । वर्षभरि गरेका कामको समीक्षा र आगामी कार्ययोजना बनाउने पर्वका रूपमा पनि माघीलाई लिने गरिएको उनले सुनाए । 

थारु समुदायका पुरुषले माघीको अघिल्लो दिन आगोको धुनी बालेर ताप्ने गर्दछन् । गाउँभरिका मानिस एकैठाउँ जम्मा भएर आगो ताप्ने र भालेबासेसँगै नदी वा खोलामा नुहाउने प्रचलन छ । 

नुहाएर आएपछि आफूभन्दा ठूलालाई ढोगभेट गरी आशीर्वाद लिने र घरमा खिचडी दान गर्ने प्रचलन रहेको छ । खिचडीमा मासको दाल, चामल र नुन राखिएको हुन्छ ।

यो खिचडी पुर्खा, देवीदेवता र चेलीबेटीका लागि छुट्याउने गरिएको थारु कल्याणकारिणीसभा दाङका अध्यक्ष अशोक चौधरीले बताए । ‘छुट्याइएको खिचडी घरका सदस्यले खान मिल्दैन र पाहुर (कोसेली)का रूपमा चेलीबेटीका घरमा पुर्‍याउने प्रचलन छ’, उनले भने ।

माघीको अघिल्लो दिन बिहानै गाउँघरका मानिस जम्मा भई बङ्गुर, सुँगुर मारेर (थारु भाषामा जिता मार्ना) बराबरी बाँड्ने चलन छ । घोङ्गी, गँगटा र माछाको विशेष परिकार बनाएर खानुका साथै यस अवसरमा ‘मघौटा नाच’ नाच्ने गरिन्छ । 

घोराही– ६ का थारु अगुवा भीमबहादुर चौधरीका अनुसार थारु समुदायमा माघ महिनालाई नयाँ वर्षका रूपमा लिने गरिन्छ । पुस मसान्तमा आआफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघको १ गतेदेखि नयाँ हिसाबकिताब सुरु गर्ने चलन छ । माघीमा परिवारभित्र होस् या गाउँ समुदायमा आगामी वर्षका लागि खेतीपातीसहित अन्य व्यवहारको नवीकरण गरिने उनले उल्लेख गरे । 

माघी महोत्सवको तयारी

माघ नजिकिदै गएसँगै थारु समुदायसँग सम्बन्धित सङ्घसंस्थाले धमाधम सांस्कृतिक महोत्सव आयोजना गर्न थालेका छन् । थारु समुदायको सबैभन्दा ठूलो पर्व माघीका अवसरमा यही पुस १९ गते घोराही उपमहानगरपालिका– १५ सहिद पार्कमा माघ महोत्सव हुने भएको छ । 

थारु कल्याणकारिणीसभा दाङका अध्यक्ष चौधरीले भने, ‘थारु भाषा, साहित्य तथा लोक कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले माघी महोत्सवको आयोजना गरिएको हो ।’

यसै अवसरमा थारु सम्वत् २६४९ आयोजना गरिने भएको छ ।  थारू समुदायको मौलिक कला, संस्कृति, वेषभूषा तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष चौधरीले बताए । महोत्सवमा मघौटा नाचसहित थारू सांस्कृतिक नाचगान, झाँकी प्रदर्शन तथा विभिन्न सांस्कृतिक कार्यक्रम समेटिने आयोजकले जनाएको छ । 

यस्तै, महोत्सवमा थारु परिकारहरू घोंघी, माछा, गङ्गटा, ढिक्री, अनदीको रोटीलगायत परिकारको बिक्री तथा वितरण गरिनेछ । साथै, थारू भाषाका विभिन्न पुस्तक र हस्तकलाका सामग्री पनि प्रदर्शनी तथा बिक्रीका लागि राखिने अध्यक्ष चौधरीले जानकारी दिए । रासस
 

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  १ : ३५ बजे

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री