काठमाडौं– प्राचीन ग्रीसका दार्शनिक प्लेटोले भनेका छन्- ‘राजनीति न्यायपूर्ण राज्य निर्माण गर्ने कला हो ।’ वास्तवमै राजनीति राज्यसत्तासँग सम्बन्धित विषय हो । त्यसकारण राजनीतिज्ञ कूटिल, अध्ययनशील र सु-संस्कृत हुनु आवश्यक छ । तर पछिल्लो समय नेपालमा राजनीतिलाई अतिसामान्य विषयका रूपमा लिनेहरूको भिड बाक्लो छ ।
सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालले समेत चर्चित पात्रहरूलाई बढी हौस्याइरहेको देख्न पाइन्छ । लोकतान्त्रिक व्यवस्थामा आफ्नो नेता आफैँ चुन्न पाइन्छ । तर नागरिकले अझै पनि आफ्नो चेतनाको उचित प्रयोग गरेको देखिँदैन । हिजोका चुनावमा पनि संसद्मा हुनैपर्ने नेताहरूले हारेका उदाहरण छन् ।
फागुन २१ गते हुन लागेको निर्वाचनमा पनि विज्ञ तथा कुशल व्यवस्थापकले उम्मेदवारी दिएका छन् । जो भोलिको संसद्को गरिमा राख्न काबिल छन् । राजनीतिक अनुभव नभए पनि उनीहरूले संसद्मा देखिँदा प्रभाव छाड्न सक्ने क्षमता राख्छन् ।
सम्भावना भएका उनीहरू सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्मको कभरेजमा छायामा छन् । पपुलिस्टहरूको पछि लागेका सञ्चारमाध्यम पनि विज्ञहरूलाई प्राथमिकता दिँदैनन् । सामाजिक सञ्जालमा चर्चा आर्जन गरेका उम्मेदवारलाई नै थप बल दिन सञ्चारमाध्यम लागेका छन् ।
ठूलो स्वरले कराउन सक्ने, गालीगलौज र असभ्य शैलीमा उत्रिनेहरूले अहिले ठाउँ पाइरहेका छन् । तर सञ्चारमाध्यम पनि पपुलिस्टको पछि लागेका छन्। हामीले चुनावी मैदानमा रहेर कम चर्चा पाएका विज्ञ र बौद्धिक उम्मेदवार तथा भाइरलहरूबारे चर्चा गरेका छौँ ।
चर्चाबाहिरका पात्रहरू
डा. हरि रोका
उनी अर्थ राजनीतिक विश्लेषक हुन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट खोटाङमा प्रतिनिधिसभा सदस्यमा उठेका उनी बौद्धिक व्यक्तित्वका रुपमा परिचित छन् । एमालेबाट विभाजन भएर बनेको मालेका उम्मेदवारको रूपमा २०५६ सालमा चुनाव लड्दा रोका तेस्रो भएका थिए । २६ वर्षपछि फेरि उनी चुनाव लड्दै छन् । विगत चार वर्षदेखि खोटाङको गाउँमै बसेर कृषि कर्ममा सक्रिय उनी संसद्मा देखिनुपर्नेमध्येका एक पात्र हुन् ।
डा. गोविन्दराज पोखरेल
नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका पोखरेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् । यसका साथै, राष्ट्रिय पुन:निर्माण प्राधिकरणको प्रमुख कार्यकारी भएर काम गरिसकेका छन् । २०७४ सालमा वाम गठबन्धनकी उम्मेदवार दुर्गा पौडेलसँग उनी भारी मतले पराजित भए । २०७९ मा उनी प्रतिस्पर्धामा देखिएनन् । तर २०७४ मा भूकम्पपछिको पुन:र्निमार्ण अलपत्र छोडेर चुनावमा उत्रिएको भन्दै उनको आलोचनासमेत भएको थियो ।

कुलमान घिसिङ
नेपाल विद्युत् प्राधिकरणको पूर्व कार्यकारी निर्देशक उनी अहिले काठमाडौं ३ बाट मैदानमा छन् । उज्यालो नेपाल पार्टीका अध्यक्ष उनले देशलाई लोडसेडिङमुक्त गराएर सबैको घरलाई झिलिमिली बनाए । नेपालको लगानीबाट विद्युत् परियोजना पनि सफल बनाए ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट ‘पावर सिस्टम इन्जिनियरिङ’ मा स्नातकोत्तर उनले सिनामंगलको एस इन्स्टिच्युटबाट व्यापार प्रशासनमा पनि स्नातकोत्तर गरेका छन् । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका ऊर्जासहित तीन मन्त्रालय करिब २ महिना सम्हालेर उनी अहिले काठमाडौं क्षेत्र नं. ३ को चुनावी मैदानमा छन् ।
डा. अर्जुनकुमार कार्की
उनी अमेरिकाका लागि पूर्वनेपाली राजदूत हुन् । विश्वका कम विकसित देशहरूको तर्फबाट अन्तर्राष्ट्रिय मञ्चहरूमा निरन्तर वकाल गर्दै आएका कार्की नेपालका अनुभवी नेता, कूटनीतिज्ञ, विकास चिन्तक तथा लोकतान्त्रिक अभियन्ताका रूपमा चिनिन्छन् ।
उनले नेकपा (एमाले) को तर्फबाट संखुवासभा उम्मेखवारी दिएका छन् । विकास, कूटनीति र अन्तर्राष्ट्रिय सहकार्यका क्षेत्रमा उनले लामो समयदेखि काम गरेका छन् ।
आरआरएन गैरसरकारी संस्थाका संस्थापक उनले यस पटक नयाँ दलको पनि चुनौती सामना गर्दैछन् । लामो समयदेखि ‘आरआरएन’ गैरसरकारी संस्था सञ्चालन गर्दै आएका उनी गरिबी निवारण, सामाजिक न्याय, लोकतन्त्र, मानव अधिकार र दिगो विकासका क्षेत्रमा उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा काम गरेका थोरै नेपालीमध्ये एक हुन् ।

सुहाङ नेम्बाङ
जेन–जी उमेर समूहका उनी शालीन स्वभावका कारण युवामाझ लोकप्रिय छन् । उनी उच्च शिक्षाका लागि अस्ट्रेलिया गएका थिए । तर नेपाल फर्किएर काठमाडौं स्कूल अफ ल मा (ब्याचलर अफ आट्र्स एण्ड ल) र एलएलएम (वाणिज्य कानुनमा विशेषज्ञता पूरा गरे । इलाम क्षेत्र नं. २ मा उम्मेदवारी दिएका सुहाङ २०८१ को वैशाख उपनिर्वाचनमा विजयी भएका थिए । उनी स्वर्गीय संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङका कान्छा छोरा हुन् ।
त्यसैगरी कञ्ञ्चनपुर –३ का एमाले उम्मेदवार डा. दीपकप्रकास भट्ट, काठमाडौं–४ का कांग्रेस उम्मेदवार सचिन तिमिल्सिना, इलाम क्षेत्र नम्बर–२ कांग्रेस उम्मेदवार निस्कल राई, महोत्तरी–१ का कांग्रेस उम्मेदवार मुकेश काफ्ले, तनहूँ– का रास्वपा उम्मेदवार डा. स्वर्णिम वाग्ले, कैलाली–१ का प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार अर्थविद् डा. जनकराज शाह र उक्त क्षेत्रकै उज्यालो नेपाल पार्टीबाट मञ्जिल राना पनि संसद्मा पुग्नुपर्ने पात्र हुन् । उनीहरू सक्षम र क्षमतावान् हुँदाहुँदै पनि चर्चामा आउन सकिरहेका छैनन् ।
सञ्जालका चर्चितहरू
आशिका तामाङ
आफैँले लगानी गरेको फिल्म फ्लप भएपछि उनी अभियन्ता बनिन् । पार्किङ शुल्कदेखि सरसफाइ अभियान र दीनदुःखीको सेवामा समर्पित उनी चर्चामा रहे पनि अन्टसन्ट अभिव्यक्तिले आलोचित बनिन् । जेन–जी आन्दोलनमा घाइते भएकाहरूलाई सहयोग गरिन् ।
उनलाई बालेन साहले समानुपातिकमा प्रस्ताव गरेका थिए । तर तामाङले रास्वपा धादिङ –१ बाट उम्मेदवारी दिएकी छन् । यो क्षेत्रमा विगत हेर्दा एमालेको पकड देखिन्छ । भोट माग्ने क्रममा उनले कुखुराको भाले र बाख्राको बच्चासँगसमेत भोट मागेको देखिन्छ ।
राजीव खत्री
रास्वपा प्रवेश गर्नुअगाडि उनी पत्रकारका रुपमा चर्चित थिए । दुई दशक पत्रकारितामा बिताएका उनी पछिल्लो समय पुराना दलहरूलाई गाली गरेरै उदाएका हुन् । नेपाली कांग्रेस र नेकपा एमालेसहितका पुराना दललाई उनी सामाजिक सञ्जालमा गाली गरेरै भाइरल भए । आफूभन्दा फरक विचारलाई देखिनसहने उनी अहिले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवार छन् । खत्री पहिलो पटक आमनिर्वाचनमा भिड्दैछन् ।
त्यही क्षेत्रमा एमालेबाट महेश बस्नेत र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले उम्मेदवारी दर्ता गराएका छन् । राजीवविरुद्ध नेपाल स्काउटमा हिनामिना गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको थियो । उजुरी परेसँगै उनले हिसाब बुझाएका थिए ।

सुदन गुरुङ
जेन–जी आन्दोलनमा पानी वितरण गर्दै गरेका गुरुङ तत्कालीन सरकार ढलेसँगै राष्ट्रिय राजनीतिमा एकाएक उदाएका पात्र हुन् । रास्वपाले उनलाई गोरखा–१ बाट टिकट दिएको छ । जेन–जी अभियानकर्मीको रुपमा सम्बोधन गर्दा उनले हाम्रो एजेन्डा के हुन् ? भनेर सोधेका थिए ।
उनले चुनावको प्रचारका क्रममा मुख्तियार भीमसेन थापालाई मतियार भनिदिए । सम्बन्धित विषयको ज्ञान अभावमा उनले दिएका अभिव्यक्ति विवादमा पर्ने गरेका छन् । उनको नागरिकताको विषय पनि विवादित छ । राजनीतिक सचेतनाका हिसाबले उनी शून्य बराबर छन् ।
निकोलस भुसाल
सामाजिक सञ्जालमा जथाभावी बोलेरै चर्चामा आएका निकोलस भुसाल । उनी अभियन्ता तथा चिकित्सकसमेत हुन् । नेपाल जनसेवा पार्टीका उम्मेदवार भुसाल रूपन्देही निर्वाचन क्षेत्र नम्बर– २ बाट मैदानमा छन् ।
उनको चुनावी घोषणापत्रमा अबको पाँच वर्षमा सबै नेपालीलाई करोडपति बनाउने र २०९० सम्ममा नेपाललाई स्वर्ग बनाउने उल्लेख गरेका छन् । २०७९ को चुनावमा उनको उम्मेदवारी खारेज भएको थियो । यस क्षेत्रमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको बलियो पकड भएको मानिन्छ ।

सागर ढकाल
उनी इन्जिनियर हुन् । विगतको निर्वाचनमा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेर चर्चामा आएका ढकाल यसपटक डडेल्धुरा छोडेर गुल्मी क्षेत्र नम्बर–१ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
अघिल्लोपटक स्वतन्त्र उम्मेदवारी दिएका ढकाल यसपटक रास्वपाबाट उठ्दैछन् । चुनावको समयमा मात्रै देशमा बस्ने उनी अरु समय युद्धले संकटग्रस्त देशहरूमा काम गरिरहेको भेटिन्छन् ।
अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन पनि सस्तो चर्चाको भोक भएका व्यक्ति हुन् । छोटो समयका लागि मन्त्री बनेका उनी मन्त्रालयमै सुत्ने र खाने गर्थे । भाइरल अभिव्यक्ति दिइरहने उनी सरकार छाडेर चुनाव लड्न म्याग्दी पुगेका छन् ।
एक शब्दमा उत्तर दिने उनको शैली हाँसो लाग्ने खालको छ । उनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । वैज्ञानिक भए पनि उनी पछिल्लो समय उडन्ते नेताका रुपमा उदाइरहेका छन् ।
त्यसैगरी नेपालका सबै शीर्ष नेता, पूर्वप्रधानमन्त्री, राष्ट्रपति र अन्य क्षेत्रका सेलिब्रेटीसँग फोटो खिचेर भाइरल भएका युवा हुन्–केपी खनाल ।
सरसफाइ अभियानसँग जोडिएका उनको परिचय अभियन्ता र व्यवसायी हो । जोकसैसँग हात मिलाएर आफ्नो काम गराउन सक्ने कला उनीसँग छ । यसपटक उनी रास्वपाबाट कैलाली–२ बाट उम्मेदवारी दिएका छन् ।













प्रतिक्रिया